पहिलो घटना
पहिलो पटक मलाई महिलाहरु पनि यत्तिसम्म गर्छन् भन्ने कुरामा विश्वास हुन थाल्यो । लकडाउनकै बेला हो, मैले वकालति पेशालाई पूरा समय दिएर लागेको । फुटेको मोबाइल फोन हातमा । विदेशबाट पत्नीको नाममा पठाएको पैसाको भौचर । पत्नीले परपुरुषसँग रचेका रासलिला सहितका तस्बीर र उसलाई पठाएका शन्देसहरुसहित एक युवा पुरुष । सर्वोस्व लुटिए जसरी एक महिला वकिलसँग कुरा गर्न अप्ठ्यारो महसुस गर्दै गरेको अवस्था ।
‘मेडम म कसरी महिला यस्ता हुन्छन् भनेर भनौं ? हजुर पनि एक महिला हुनुहुन्छ ? म केहि भन्दिन मेडम हजुर आफै हेरिस्यो...’ कागजपत्र मेरो हातमा थमाउँदै उनले भने ।
ठिक छ तपाई बाहिर बस्नुस् म हेर्छु भनेर उनलाई बाहिर पठाएँ ।
ऊ फेरि भित्र आयो । मेडम म यहि बस्छु केहि सोध्न परे सजिलो होला । मलाई उसका पत्नीका सन्देश पढ्दा यति घृणा जागेर आयो कि कसैले आफ्नो दुश्मनलाई पनि त्यति तुक्ष शब्द प्रयोग गर्दैन् होला ।
‘तपाईको विवाह के मागी हो?’
‘होईन् मेडम प्रेम विवाह हो ।’
‘अनि प्रेम विवाहमा पनि यस्तो हुन्छ र ? ’
‘भयो मेडम...मैले आफ्नो बाबुआमा भनिन्, उसको लागि अरबको खाडीमा मेहनत मजुरी गरेँ तर, अहिले उसले मलाई नै घर न घाटको बनाई...’
महिला प्राय रोएको सबैले देख्छन् । तर, अक्सर पुरुष रोएको विरलै देख्न सकिन्थ्यो । ऊ यसरी रोएको थियो जति बेला मैले मेरो कान्छो दाई गुमाउँदा मेरो बुवा रुनु भएको थियो, मेरो ठूल्दाई रोएको थियो....
‘मेडम उसले मलाई मात्रै होईन्, म भन्दा अघि ३ जनासँग सम्बन्ध बिच्छेद गरी अंश लिएकी रहिछे भन्ने कुरा हिजो मात्रै थाहा पाए । विहे गरेको केहि महिनामै बाबुआमासँग अंश लिई छुट्टिन लगाएर मलाई विदेश पठाएर अहिले घर न घाटको बनाई...’
उनलाई सम्झाई बुझाई गरी आवश्यक कागजात लिई भोली आउन आग्रह गर्दै पठाएँ । बुझ्दै जाँदा उनको त पेशा नै यस्तो रहेछ । उनकी पत्नीको कर्तुत पढेपछि लाग्यो महिला– महिला भनेर नारा लगाउनुभन्दा अगाडी कस्तो महिला ? सहि कि गलत महिला ? भनेर एक पटक गहिरिएर हरेक व्यक्तिले सोच्नुपर्दोरहेछ ।
दोस्रो घटना
एकाविहानै मोबाइलमा फोनको घण्टी बज्यो ?
त्यहि फोनको घण्टीले ब्यूझिएँ पछि मलाई अबेरसम्म सुतेछु कि भन्ने लाग्यो तर, घडिमा ५ बजेर ६ मिनेट गएको रहेछ । ‘होस् उठाउँदिन भनेर फेरि सुते ।’ घण्टी लगातार बजे पछि उठाउन बाध्य भएँ ।
‘हेलो अमृता दिदि कन्ग्याचुलेसनस है । मैले बिहानै फोन गरेर तपाईलाई डिस्ट्रब गरे की ??’
मैले फोन उठाएर बोल्न नपाउँदै कुनै महिलाको आवाज आयो ।
‘थ्यांक्यू, छैन डिस्टब भएको बरु को बोल्नुभयो ? मैले अलि ठहर्याउन सकिन् ।’ मैले तपाईलाई राम्रोसँग चिन्छु, देख्यो भने सायद तपाईले पनि मलाई चिन्नुहुन्छ । तपाई वकिल भएको थाहा पाएपछि तपाईको नम्बर खोजेर पाएँ । हिजो फोन गर्ने भन्दाभन्दै राती भईसकेको थियो । म तपाईलाई भेट्न चाहन्छु ।’ उनको आशय बुझेपछि मैले बेलुकी ५ बजेपछि भेट्ने बाचा सहित फोन राखेँ ।
उनी मलाई भेट्न नेपालगन्ज आईन् । देखादेख भएपछि मैले चिनेको एक जना रेडियो कार्यक्रमकी नियमित स्रोता रहिछन् । म कोहलपुर एफएममा काम गर्दा हामीले चलाउने ‘काईलाकाईलीका कुरा ’ कार्यक्रमकी नियमित स्रोता ।
‘दिदि तपाई त कती मोटाउनुभएको चिन्नै गाह्रो’ मैले भने हो त नि बिहे पछि मोटाईयो । उनीले हाँस्दै भनिन्, ‘भिनाजुको माया बढि भयो क्या हो दिदीलाई...’
‘त्यस्तै भनौं । अनि तिमी त दुब्लाईछेउ नि । यो नानी कस्को हो ?’
‘मेरो छोरी हो ।’
‘कतिछिटो जन्माईछेउ त बच्चाबच्ची । ’
‘के गर्ने दिदी भागेर विवाह गरियो । उपलब्धी यहि छोरी हो ।’
‘ठिकै छ नि त एक पटक जन्माउनै पर्छ । अनि भन कति कामले भेटौं भन्यौं ? यति वर्षपछि तिमीले कसरी याद गर्यौ ?’ मेरो प्रश्न सकिनु र उसका आँखा रसाउनु सँगसँगै भयो । टाउको तलपारेर एकोहोरो छोरीको कपाल मर्सादै भन्न थालिन्, ‘दिदि मलाई न त मर्नु न त बाँच्नु भएको छ । यो छोरी नभएको भए राप्तीमा गएर ज्यान फाल्ने होला ? कि बिस ल्याई खाल्थे, कतै पासो लाएर मर्थे...’
सानै उमेरमा भागेर विवाह गर्दाको पश्चातप उनीमा थियो । त्यसमाथि अन्तर जातिय विवाह घरपरिवारबाट अपहेलना र माईती पक्षबाट अस्वीकार । सँगै जिउने सँगै मर्ने कसम खाएर जन्मदिने बाबुआमा, आफन्ती सबै परित्याग गरेर जोसँग ऊ आफ्नो बाँकी जिवन जिउन आएकी हुन्, उसैले घरबाट निष्केर जान दिनहुँ दिने शारीरिक र मानसिक यातनाबाट पीडित भएर जिन्दगीबाटै हरेस खानु स्वभाविक नै थियो उनका लागि । तर, उनले आफ्नो छोरीको भविष्यका लागि कानूनी लडाई लडेरै छोड्ने निधो गरेर मलाई भेट्न आएको बताईन् ।
‘मलाई साथ दिने कोहि छैन्, माईतीले आफूभन्दा सानो जातसँग बिहे गरी भनेर अहिलेसम्म स्वीकार गरेका छैनन् । घरपरिवारले ठूलो जातकी धनिकी छोरी भनेर दिनहुँ नानाथरी कुरा सुनाउँछन् । न बिहे दर्ता छ ? न छोरीको जन्मदर्ता छ ? श्रीमान अर्कैसँग लागेको छ । हेर्नै नसिकिने परस्त्रीसँग टाँस्सीएर खिचाईएका तस्बीर देखाउँदै पीडामाथि पीडा दिन्छ...’
म योसँग बस्न सक्दैन् दिदी । बरु अरुको जुठाभाँडा माझेर छोरीलाई पढाउँला लेखाउँला तर, मरीमरी बाँच्न सक्दैन्...
अन्तरजातिय प्रेम विवाह गर्दाको परिणाम भनौं वा कलिलो उमेरमा गरेको जीवनसाथी छान्ने निर्णय । उनलाई विगतको यस निर्णयले अहिले आएर यातना भोग्नुपरेको छ ।
यस्तो समस्या उनलाई मात्रै होईन् । उनी जस्ता हजारौं महिलाहरुको छ ।
मैले उनलाई सान्त्वना दिदैं भने, ‘तिमी केहि चिन्ता नलेऊ । सब ठिक हुन्छ । नाता प्रमाणितका लागि हुन सक्ने प्रमाणहरु संकलनका लागि उनलाई सुझाउँदै उनका पति र माईतिपक्षको नाम र नम्बर मागेपछि उनलाई केहि आशाको त्यान्द्रो फाल्दै म छुट्टीएं ।’
तेस्रो घटना
शाह सरले भन्नुभएको वकिलसाप तपाई हो ?
हेर्दा फिल्ममा खेल्ने नायिकाभन्दा कम सुन्दर देखिदैन थिईन् । झण्डै ५, ६ वर्षको छोरी साथमा लिएर वकिल कार्यालयसम्म आएकी उनले मलाई सोधिन् ।
‘म नै हो’
‘शाह सरले हजुरलाई भेटेर कुरा गर्नुभन्नुभएको छ ।’
कुरा के रहेछ भने उनी आफ्ना पतिसँग अंश लिई सम्बन्धविच्छेद गर्न चाहेकी, छोरीलाई पतिकै जिम्मा लगाउने र आफू जति सक्यो शिघ्र परपुरुषसँग कागज बिहे गरेर विदेश जान खोजेकी रहिछन् ।
उनले यो छोरी बाबुकै जिम्मा लगाउन, उसको सम्पत्ति आधा पाउन र छिटो सम्बन्ध विच्छेद गर्न के गर्नुपर्छ ? कति पैसा लाग्छ ? भनेर कुरा गरिरहँदा उनकी छोरीले आँखा भरी आँसु टिलपिलाउँदै गरेको दृष्यले मलाई अत्यन्तै रोदन महसुस गरायो ।
‘तपाईले आफ्नो स्वार्थका लागि आफ्नो सन्तान त्याग्न कसरी सक्नुहुन्छ ? एक पटक यो नाबालक छोरीको भविष्य त हेर्नुस् । तपाई दुई जना छुट्टीदाँ यी नानीमा के बित्छ ? तपाईले अर्को पती पाउनुहोला तपाईको अहिलेको पतीले अर्को पत्नी पाउनुहोला तर, के यो नानीले आफ्नो बाबुआमा पाउँछे त ?’
सायद मेरो प्रश्न उनलाई जायज नलागेर हुनुपर्छ म शाह सरसँगै कुरा गर्छु भनेर उनी निष्किन् । अर्को पटक उनलाई मैले हाम्रो वकिल कार्यालयमा देखेकी छैन् ।
चौथो घटना
उहाँ अलि तनावमा हुनुहुन्छ जस्तो छ, उहाँको कुरा सबै सुनेर के गर्नुपर्ने हो गर्नुहोला है भनेर मेरा कानून व्यवसायका गुरु लोकबहादुर शाह अदालत बहसमा जानुभयो ।
भित्र आउनुस् न भनेर उनलाई भित्र बोलाएँ । आँखा सुन्नीएका थिएँ । मलिन अनुहार । मानसिक सन्तुलन केहि असन्तुलन भए जस्तो । विक्षिप्तता छाएको उनको अनुहार । अलिकति डराए जस्तो अलिअलि झस्कीएँ जस्तो ।
मैले म बस्ने कक्षको ढोका लगाएर भने, ‘हजुरलाई के समस्या पर्यो ? मलाई निर्धक्क भन्नुभए हुन्छ । हजुरले भनेको कुरा कसैले थाहा पाउँदैन । म कसैलाई पनि भन्दिन । गोपनियता कायम हुन्छ, अघि आउनुभएको वकिल सरलाई पनि भन्दिन् ।’
उनी मौन थिईन् ।
‘हजुरले भन्नुभएन भने मैले कसरी थाहा पाउन सक्छु र ? कसरी तपाईलाई अन्याय पर्यो तपाईले के उपचार पाउन खोज्नुभएको हो भनेर थाहा पाउने ? म तपाईकै दिदी बहिनी जस्तै हो भन्नु’ त्यसपछि उनी खुल्न सुरु भईन् ।
‘बिहे भएको ३ वर्ष भयो । मागी विवाह । विवाह पछिको प्रेम । पतिले पनि माया गर्नुहुन्छ । म पनि उहाँलाई तर...’
‘तर, हामी अब अलग–अलग हुने भनेर म यहाँसम्म आएकी...’ रुन थालिन् ।
रातो पच्छेउरीले आँखामा टिलपिलाएका आँसु पुछिन् । हामी छुट्टीएर बस्दा उसका आमा बुवा दिदीबहिनी खुसी हुन्छन् भने छुट्टीएकै राम्रो आफै–आफै बरबराउँदै थिईन् ।
कुरा के रहेछ भने उनीहरुको बिहे भएको केहि महिनापछि नै सासु र नन्दअमाजुले उनलाई मानसिक तनाब दिनथाले, घरको सबै काम गर्न लगाउने, नगरेको नभनेको कुरा भनी भनेर उनका पतिलाई कुरा लगाउने र पतिले पनि झुठा कुरा सुनेर कुटपिट गर्ने जस्ता कार्य गर्दै आईरहेका रहेछन् ।
पछि वास्तविकता बुझेर पतीले पत्नीलाई अलग कोठा गरी कोहलपुरमा ल्याईराखेछन् । अलग बस्दा पनि निजका आमा दिदीबहिनीले पटक–पटक आफ्ना पतिलाई र उनलाई मानसिक यातना दिने । उनलाई छोड्न दबाब दिने जस्ता कार्य गर्दै आएपछि उनीहरु दुबैले एकअर्कासँग छुट्टीने निर्णय गरेर उनी आएकी रहिछन् ।
‘छिटो सम्बन्ध विच्छेद गर्न के गर्नुपर्छ ? मलाई मेरो पतीको सम्पत्ति पनि केहि चाहिदैन बस ऊ दिदीबहिनी र आमाबुवाको मानसिक तनाबबाट मुक्त होस् । ऊ खुसी होस् म त्यहि चाहन्छु ।’ उनको कुरा सुनेपछि छिटो सम्बन्ध विच्छेद गर्न भोली तपाईको पतिलाई पनि सँगै ल्याउनुहोला भनेर उनलाई घर पठाईदिएँ ।
मनमा अनेक कुरा खेलिरहेका थिएँ । कस्ता कस्ता घरपरिवारका सदस्यहरु हुन्छन् । कस्ता आफ्ना हुन्छन् अनि कस्ता दिदीबहिनी हुन्छन् जसले भाउजुबुहारीबाट दाजुभाई छुटाउन खोज्छन् । त्यसैले त भन्छन् होला पुरुषहरुले महिलाको दुष्मन महिला नै बढि हुन्छन् भनेर...
बेलुकी घर फर्कदा ममा निरासा छाईरहेको थियो । मलाई कस्तो असहजता, मनमा भारीपन र थकान महसुस भईरहेको थियो ।
मेरो मलिनतालाई व्यंग गर्दै मेरा पतीले मलाई भन्नुभयो, ‘के भयो ? फेरी तिमीले बहस गरेको तिम्रो पक्षलाई न्यायाधिशले थुनामा पठाउनुभयो कि क्या हो...’ भनेर फिस्स दाँत देखाउनुभयो । मैले कुनै प्रतिक्रिया दिईन् ।
मनमनै सोँचे हाम्रो माया र सम्बन्धमा पनि त कोहि जल्दोहोला...
पाँचौं घटना
श्रीमान परस्त्रीसँगको प्रेममा डुबेपछि आफ्नी जीवनसंगीनीसँग कति सम्मको निराधार आरोप लगाउन सक्छन् भन्ने एउटा उदाहरण ।
श्रीमानले श्रीमतीलाई सम्बन्ध विच्छेदको फिराद दिएको थियो, आरोप थियो परपुरुषहरुसँग शारीरिक सम्बन्ध राखेको भन्ने...
पत्रकारीतासँगै वकालती पेशालाई अगाडी बढाउँदै गर्दा उक्त मुद्दाको प्रतिउत्तर लेख्नेका लागि फिरादी (जसले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दिन्छन् उनलाई कानूनी भाषामा फिरादी भनिन्छ ।) की प्रतिवादी र मेरो पक्षसँग कुराकानी गरेर मैले प्रतिउत्तर तयार गरेको थिएँ ।
सुरुमा त उनले मसँग आफ्नो पति र आफू बिचका केहि कुरा खोल्न मानिनन् तर, जब मैले उनलाई तपाई चुप लाग्नु भनेको तपाईको पतिले तपाईलाई परपुरुषहरुसँग सम्बन्ध छ भनेर लगाएको आरोप मौन रुपमा स्वीकार्नु हो भनेपछि उनी भक्कानीन थालिन्, उनी चाहन्थिन् श्रीमान सुध्रियोस् आफ्नो छोराछोरीको भविष्य प्रति चिन्तित होस् र सहिबाटोमा लागोस् ...
उनको आँखाको आँसु झरिरहँदा मेरा आँखा पनि उनीसँगै रसाउन पुगेँ अहिले पनि उनको त्यो कारुणीक घरायसी जिन्दगीको बारेमा सोच्दा मन भारी हुन्छ । बिहे भएको झण्डै ८ वर्ष निरन्तर २ ओटा बच्चा पेटमै गुमाईसकेपछि भएको तेस्रो तर, पहिलो जीवीत सन्तान थियो उनको छोरा ।
बच्चा पेटमै मृत भएपछि घरपरिवारले दिने मानसिक यातना र आफ्नो पतीले दिने शारीरिक यातनाको भारी बिसाउने बाटो जिवीत एक सन्तान त्यहि छोरा थियो । पतीको परस्त्रीसँगको खुलेआमको सम्बन्ध, घरपरिवारले उनैलाई लगाउने आरोप र अदालतबाट आएको सम्बन्ध विच्छेद मुद्दामा प्रतिउत्तर पेश गर्न तोकिएको म्याद...
माईतीको गरीबी अवस्था, आफू बेरोजगार, छोरा नाबालक । म छु भन्ने अघिपछि कोहि नहुँदा उनलाई विवाह निल्नु न ओकल्नुभयो । एक पटक भक्कानिदै भन्छिन् म पनि बस्दीन योसँग...
फेरि के–के सोच्छिन् मलाई थाहा छैन । र, भनिन् म पीडा सहेरै भए पनि उसकै घरमा गएर बस्छु...
ऊसँग बस्न पनि सक्दिनन्, उसलाई छोड्न पनि...
केहि तारेख पछि अन्तत् उनको मिलापत्र मार्फत सम्बन्ध विच्छेद भयो । त्यो रातभरी म राम्ररी निदाउन सकिन । हाम्री आमाले भन्नुहुन्छ, पति र पत्नीको सम्बन्ध माथिबाटै बनेर आएको हुन्छ । हामीले त्यसलाई निभाउनुपर्छ तर, कुनै एक पक्षले मात्रै सम्बन्ध निभाएर नहुँदो रहेछ जस्तो महसुस यस घटनाले बनायो ।
छैठौं घटना
प्रेमको परिभाषा गर्नेहरुले सायदै प्रेममा मान्छे अन्धो मात्रै होईन् पागल नै हुन्छन् भनेर परिभाषा गर्ने गरेका छन् । ति व्यक्ति जसको अन्धो प्रेमले उनको, उनको छोराको र उनको घरपरिवारकै भविष्यलाई अन्धकार तर्फ डोर्याउँदै थियो । अन्तरजातिय प्रेम विवाह गरेको दोस्रो वर्षमै एक छोराको जायजन्म भएपछि वैदेशीक रोजगारमा गएका उनी । वैदेशीक रोजगारमा जाने सबैको काम दर्दनाक हुन्छ, कमाई राम्रै हुँदैन भन्ने पनि नहुँदो रहेछ । कमाई र काम प्रतिको लगनशिलताले उनले राम्रो र कमाई पनि राम्रो गर्न थालेका रहेछन् ।
यता पत्नी पती वैदेशीक रोजगारमा गएको दुई महिनामै माईती घर गई बस्न थालेकी रहेछिन् । उनले निरन्तर पत्नीका नाममा कमाएको रकम पठाउने गरे, घरजग्गा र सवारी साधन समेत किनिसकेकी थिईन् ।
उनी बिच–बिचमा आउने जाने पनि गर्दारहेछन् । छोराको उमेर क्रमश ठूलो हुँदै जान थालेपछि सहि गलत थाहा पाउनु स्वभाविक नै थियो । दैनिक रुपमा नचिनेका पुरुषहरुको आउजाउले स्कूलमा साथीभाईले समेत उनका छोरालाई जिस्काउने गर्दा रहेछन् । जुन कुरा उनको छोरालाई मन पर्दैन्थ्यो । उनले यो कुरा पटक–पटक आफ्ना वैदेशिक रोजगारमा गएका बाबुसँग भन्ने गरेपनि उनले कहिल्यै आफ्नो पत्नी प्रति शंका गरेनन् ।
उनी यसपटक भने आफ्नो पत्नीलाई नभनेरै नेपाल आएका थिए । पत्नीलाई सरप्राईज दिन आएका उनी आफै सरप्राईज भए...
आफ्नै घरमा नचिनेका पुरुषहरु आफ्नै पत्नी र पत्नीका साथीसँगको रंगलिला...
छोराको कुरामा विश्वास नगरेका उनले आफ्नी पत्नीलाई एक पटकलाई माफि दिने तर, यस्तो गलत क्रियाकलाप छोड्नका लागि आफ्ना ससुरालीसँग आग्रह गरे । सायदै कोहि पुरुष होलान् हाम्रो नेपाली समाजमा आफ्नै आँखाले यस्तो गतिविधि देख्दा पनि पत्नीप्रति मायामोहले सँगै राख्न मन्जुर हुने...
दिदी उसले गलत गरी तर, म उसलाई माया गर्छु कुरा अगाडी नबढाईदिनुस् है ।
म पनि बाध्य छु सम्पत्ति सबै उसको नाममा छ म के गरुँ ?
विवाहलाई कुनै एउटाको गल्तीका कारण अन्तिम अवस्था दिन तयार हुनुहुँदैन भन्ने उनको मान्यता थियो सायद । दुवै परिवारको सहमतिमा उनले पत्नीलाई घरमै राख्ने र विगतका सबै कुरा बिर्सने सम्झौतामा अगाडी बढ्ने निधो गरे । सुरुवात देखि अहिलेसम्मका सबै घटनाक्रमका बारेमा म विज्ञ थिएँ । आवश्यक मात्रामा कानूनी सल्लाह दिन्थे । उनीहरु मिलेर बसुन् भन्ने ईच्छा मेरो पनि थियो ।
उसले मलाई मिलेर बस्छौं भनेको २ घण्टा नबित्दै उसको फोन आयो । म बहसमा व्यस्त थिएँ । बेलुकी घर फर्केर फोन गरेँ । उसले लामो सास फेर्दै भन्यो दिदी म आज ठूलो भाग्यले बाँचे । एकछिन बजार जान्छु भनेर हिँडेकी पत्नीले पूनः मलाई परपुरुषसँगका अस्लिल तस्बीरहरु पठाएर जे गर्छस् गर भनी तर, म तँसँग बस्दैन भनी...
‘अहिले तीनै पत्नी र अन्यलाई प्रहरीले प्रक्राउ गरेको छ । मेरो मेहनतको कमाई फिर्ता हुने गरी उसँगको सम्बन्ध बिच्छेद कसरी हुन्छ दिद...?
‘मेरो मायालाई यसले कुल्ची, छोराले मलाई पहिलेबाटै भन्थ्यो तर, मैले कहिले शंका गरिन्...’
रोदन भरिएको उसको स्वरलाई सान्त्वना दिदैं भने विवाह भनेको सर्मपण मात्रै होईन आवश्यकता अनुसार त्याग गर्न पनि सक्नुपर्छ । मायालाई सम्मान नगर्नेलाई माया गरिहनुपनि अपराध नै हो ।
माथिका यि घटना उदाहरण मात्रै हुन् । यस्तो घटना अदालतमा दैनिक रुपमा दिनहुँजसो दर्ता भईरहन्छन् । कुनै मेलमिलाप मार्फत सम्बन्ध विच्छेद हुन्छन्, त कुनै मेलमिलाप मार्फत सम्बन्धलाई निरन्तरता प्रदान हुन्छन् । केहि मेलमिलाप हुन नसकि फैसला हुने गर्दछन् ।
यस्ता मुद्दामा पति पत्नीको सम्बन्ध जोडिने भन्दा विच्छेद हुने संख्या बढि छन् ।
विवाह के हो ?
नेपाली समाजमा बिहेलाई महिला र पुरुषबिच हुने पवित्र बन्धनका रुपमा लिईन्छ । युगौंदेखि समाजलाई अगाडी बढाउन र यौन सम्बन्धलाई स्वीकृति प्रदान गर्ने माध्यम नै विवाह हो ।
आफ्नो जात, धर्म, संस्कार र भौगोलिकताका आधारमा पारिवारीक, सामाजिक र परम्परागत स्वीकृतीमा हुँदै आईरहेका विवाह पछिल्लो समय अन्तरजातिय, अन्तरधार्मिक, अन्तरभौगोलिकबिच पारिवारीक, धार्मिक, सामाजिक स्वीकृतीबिना नै भागी विवाह र मागी विवाह र अदालती विवाह गर्दै आईरहेका छन् ।
१२५ जाती १२३ भाषा रहेको नेपालमा १० भन्दा बढि धर्मावलम्बीहरु बिच विवाह आ–आफ्नै प्रथा परम्परा अनुसार गरिने गरिएको छ ।
कानूनमा विवाह ?
२०७५ भदौ १ गते देखि लागू भएको ‘मुलुकी देवानी संहिता’को भाग ३ को परिच्छेद १ मा विवाह सम्बन्धी व्यवस्था गरेको छ ।
दफा ६७ विवाह भएको मानिने : कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ ।
कानूनले विवाहलाई अनतिक्रम्य सामाजिक बन्धन हुने भनेर समेत परिभाषित गरेको छ ।
दफा ६८ विवाह अनतिक्रम्य सामाजिक बन्धन हुने भनेर विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हुनेछ । भनेर उल्लेख गरेको छ ।
हामीले पस्केका उदाहरणमा विवाहलाई व्यापारका रुपमा पनि प्रयोग गरिएको छ भने सम्झौताका रुपमा पनि अपनाईएको छ ।
देशका जिल्ला अदालतहरुमा बढि मात्रामा आउने देवानी मुद्दाहरु अहिले सम्बन्ध विच्छेदहरुकै बढि हुने गरेको विभिन्न समयमा सार्वजनिक गरिने तथ्यांकहरुले देखाउने गरेको छ ।
किन बढ्दैछन् सम्बन्ध विच्छेदका घटनाहरु
महिला अधिकारकर्मीहरु भन्छन्, ‘महिलाले हिंसा सहन छोड्ने हो भने अधिकाशं घरपरिवारका सम्बन्धहरु बिग्रन्छन् । सम्बन्ध विच्छेदका घटनामा बृद्धि हुन्छन् ।’ तर, के साँच्चीकै हिसां सहन नसकेरै सम्बन्ध विच्छेदका घटना बढेका हुन् त ?
नाम उल्लेख नगर्ने शर्तमा नेपालगन्जका एक कानून व्यवसायी भन्छन् ,‘महिलाहरुलाई कानूनले बढि अधिकार दियो जसको गलत प्रयोग गरिरहेकाछन् । अंश लियो । पहिलो पतीलाई छोड्यो फेरी अर्को विवाह गर्यो, ऊसँग पनि केहि समयपछि अंश लियो, फेरी सम्बन्ध विच्छेद गर्यो ।’
यस्ता केहि मुद्दाहरु म आफैले हेरिरहेको छु । यसले गर्दा विवाह जस्तो पवित्र सम्बन्धको दुरुपयोग एकातर्फ भएको छ भने अर्कोतर्फ वास्तविक पीडित महिलाहरुले कानूनको अनविज्ञतामा दैनिक हिंसा सहेर आफ्नो कर्मलाई दोष दिएर बसीरहेका छन् । खुल्न सकेकीरहेका छैनन् ।
तर्क र वितर्क गर्नेहरुको विचारहरुसँगै म स्वयम्लाई के लाग्छ भने विगतमा जस्तो छोरालाई मात्रै उच्च शिक्षा दिने कार्य ग्रामीण भेगमा यथावत रहे पनि शहरी क्षेत्रहरुमा भने निकै कम भईसकेको छ । महिलाहरु चुलोचौकोमा मात्रै सिमित रहनुपर्छ भन्ने मान्यता हराउँदै आत्मसक्षम र आत्मनिर्भर हुँदै गईरहेका छन् ।
विवाहित जागीरे महिलालाई पारिवारीक जिम्मेवारी बोध, जागिरको जिम्मेवारी, बालबच्चाको जिम्मेवारी र पारिवारीक सहयोग नहुने केवल दोषारोपण र अपजस दिने परम्परागत सोचले थिच्ने गर्दछ ।
आफैले कमाएको रकमको पनि आफैले प्रयोग गर्न नपाउनु, बुहारी भनेको आधिकारीक घरको कामदार हो भन्ने मानसिकता रहनु, पुरुषले बाहिर जति जनासँग शारीरिक सम्बन्ध बढाए पनि पत्नीमाथि शारीरिक, मानसिक, आर्थिक र मनोवैज्ञानीक हिंसा गरेपनि सहनुपर्छ भन्ने सोँच रहनु र स्वतन्त्रतापूर्वक बाँच्न नपाउनु, चाहे अनुसारको काम गर्न नपाउने लगायतका यावत कारणले सम्बन्ध जोडिरहनुभन्दा तोड्नु नै श्रेय मान्ने गरेका छन् ।
तथापी केहि महिलाहरुले कानूनको गलत प्रयोग गर्ने र स्वतन्त्रताका नाममा स्वछन्दता अवलम्बन नगरेका भने होईनन् । जसका कारण सन्तानहरुको भविष्य अन्धकारमा पर्ने, जन्मदिने बाबुआमालाई नै सन्तान जन्माएकै कारण पश्चताप हुने र अत्यन्तै सुमधुर सम्बन्ध कायम भएका पती पत्नीको घरबार समेत बिग्रने गरेका छन् ।
बढ्दो शहरीकरण, विश्वव्यापीकरण, सूचना प्रविधिको विकास, देखासिकि, छिटो धनी बन्ने सपना, वैदेशिक रोजगारी लगायतको गलत प्रयोग र उपयोगका कारण सम्बन्ध बिच्छेदका घटनाहरु बढेको देखिन्छ ।
निष्कर्ष
विवाह एक अनिवार्य आवश्यकता हो । सामाजिक परम्परा हो । सृष्टीको रचना नै विवाह भएकाले यसमा पतीपत्नी बिचको आपसी माया प्रेम, विश्वास, एकअर्का प्रतिको सम्मान, समझदारी, सहकार्य, दुःख सुख बाँड्ने असल साथी र पिडा बिर्साउने चौतारी हुन अति आवश्यक छ ।
यसलाई कुनै एक पक्ष महिला मात्रै वा पुरुष मात्रैले अटुट बनाएर हुँदैन । दुवै पक्षको आपसी माया ममता, सम्मान, समझदारी, सहकार्य र सहयात्राले नै विवाह सम्झौता वा व्यापार मात्रै नभएर विवाह अनतिक्रम्य कानूनी र सामाजिक बन्धन हो ।
लेखक : अधिवक्ता हुन् ।