पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिदैँ : बाँके एसपी राना
सांकेतिक तस्विर
नेपालगन्ज ४ फागुन : गत माघ १६ गते विद्यालयबाट घर फर्किदै गरेकी १५ वर्षिय किशोरीलाई बलात्कार र हत्या गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, घोसीटोल निवासी २४ वर्षिय जुनियाद अन्सारीलाई प्रहरीले २ महिनापछि पक्राउ गर्न सफल भएकोछ ।
जुनियादलाई नेपाल प्रहरी इन्टरपोलका डिएसपी निशान्त श्रीवास्तव र जिल्ला प्रहरी कार्यालय बाँकेका सई मणि लामिछाने नेतृत्वको टोलीले नेपाल–भारत सीमाबाट हिजो (मङ्गलबार) पक्राउ गरेको प्रहरीको उच्च स्रोतले सेतोखरीलाई जानकारी दिएको हो । घटनापछि उनी नेपाल–भारत सीमानामा लुकेर बसेका थिए ।
नेपालगन्जस्थि एक सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्ने १५ वर्षिय ती छात्रा घर फर्किने बेला जुनियादले बाटो छेकेर जबरजस्ती बसपार्क स्थित एक होटलमा लगेर बलात्कार प्रयास गरेका थिए ।
बलात्कार प्रयास असफल भएपछि जुनियादले ती किशोरीलाई हत्या प्रयास गर्दै मरणासन्न हुनेगरि कुटपिट गरेका थिए । जुनियादको कुटपिटपछि ती बालिका रगताम्मे हुनुका साथै अचेत भएपछि जुनियाद ती बालिका मर्यो ठानेर भागेका थिए ।
जुनियादको आक्रमणबाट गम्भीर घाइते भएकी ती किशोरीलाई नेपालगन्ज स्थित एक बालबालिका सम्बन्धि काम गर्ने संस्थाको सेल्टरमा राखेर उपचार गरिएको थियो ।
लामो समयसम्मको उपचारपछि केही दिनअघि मात्र ती बालिका घर फर्केकी छिन् । बालिकालाई बलात्कार–हत्या प्रयास गरेपछि जुनियाद फरार थिए ।
किशोरीमाथि भएको बलात्कार–हत्या प्रयासका दोषीलाई पक्राउ गरि कडा कानूनी कारबाही गर्नुपर्ने भन्दै नेपालगन्जका नागरिकसमाज, अधिकारकर्मी, विभिन्न संसस्थाले आवाज उठाउँदै आएका थिए ।
घटनापछि किशोरीको परिवारले जिल्ला प्रहरी कार्यालय बाँकेमा बलात्कार र हत्या प्रयास गरेको जाहेरी दिइसकेकाछन् ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले १५ वर्षिय किशोरी बलात्कार–हत्या प्रयास गर्ने जुनियाद पक्राउका विषयमा आधिकारिक जानकारी दिन आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको बताएकाछन् ।
सेतोखरीसंग कुरा गर्दै एसपी रानाले भने–‘म बाहिर छु । सो विषय जानकारी दिन ३ बजे पत्रकार सम्मेलन गरिदैँछ ।’