तातो र चिसो हावा मर्ज हुदाँ भीषण हावाहुरीको कहर

नेपालमा छैन आँधी पूर्वानुमानको संयन्त्र, हालसम्म ३१ जनाको मृत्यु


तातो र चिसो हावा मर्ज हुदाँ भीषण हावाहुरीको कहर

नेपालगन्ज: आइतबार राती साढे आठ बजेतिर एक्कासी आएको हावाहुरीले अहिले सम्म बारा र पर्सामा ३१ जनाको ज्यान गएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन् । सो हावाहुरीबाट बाराको फ्रेटा, पर्सौनी, महागढीमाई र सुवर्ण गाउँपालिका र पर्साको वीरगञ्जमा ठूलो धनजन क्षति गरेको हो ।

नेपालमा चैत वैशाखमा साँझपख गड्याङगुडुङ हुनु र हावाहुरी चल्नु सामान्य नै हो । जमिनको सतह तातेर तातो हावा माथि जाने र त्यसमा माथिको चिसो हावा मिसिने हुँदा मनसुन सुरू हुनुअघि पहाडी र तराई क्षेत्रमा यस्तो हुन्छ । तर, बारा र पर्सामा आईतबार चलेको हावा हुरी असामान्य थियो । त्यो फरक थियो । यसको परिणाम असह्य रह्यो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दुई तिरबाट आएका चिसो र तातो हावाका प्रणाली बाराको आकाशमाथि भेट हुँदा भूमरी चलेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

‘एकातिर भू–मध्य सागरबाट आएको पश्चिमी वायुको प्रणाली पोखरा हुँदै दक्षिणपूर्व गइहरेको थियो अर्कोतिर बंगालको खाडी र अरेबियन सागरबाट आएको प्रणाली भारतबाट उत्तरपूर्व गइरहेको थियो, जब यी दुई प्रणाली बाराको आकाशमा एकअर्कामा मर्ज भए तब ठूलो भूमरी र हावाहुरी चल्यो ।’ मौसमविद् आर्यालले भने । यी दुई प्रणाली एकआपसमा मर्ज हुदाँ बनेको भुमरिका कारण बारा र पर्सामा घातक बने ।

पश्चिमी वायुको प्रणाली जमिनको सतहदेखि तीन किलोमिटर माथिबाट बहन्छ । यो प्रणाली निकै चिसो हुन्छ । बंगालको खाडी र अरेबियन सागरबाट आउने प्रणाली जमिनबाट १ देखि डेढ किलोमिटर माथिबाट जान्छ । पर्याप्त जलवाष्पसहित आउने यो प्रणाली पश्चिमी वायूभन्दा तातो हुन्छ ।

‘हिजो साँझ माथिबाट बेगमा गइरहेको चिसो हावा तलबाट त्यसरी नै आएको तातो हावासँग ठोक्किदा तल झ¥यो । चिसो हावा तल झरेपछि खाली भएको माथिल्लो भागमा तातो हावा गयो । त्यही भूमरी बन्यो,’ अर्यालले भने, ‘प्रि–मनसुनमा यस्तो अन्त पनि हुन्छ । तर, त्यहाँ दुइटा बलिया प्रणाली मिलेकाले हावाको गति निकै तीव्र भयो ।’

यस्तो हावाहुरीको पूर्वानुमान गर्न मिल्दैन ?

मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्न सक्छ । त्यसमा पनि पानी पर्ने र नपर्ने बादल लाग्ने र नलाग्ने कुरा मुख्य गरी समेटिन्छ । ‘अचानक आउने यस्तो हावा हुरीको पूर्वानुमान गर्न सक्ने प्रविधि अहिले हामीसँग छैन,’ अर्यालले भने ।

प्रधानमन्त्रीद्वारा हवाइ निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरी प्रभावित बाराको फेटा गाउँपालिकाको हवाइ निरीक्षण गरेका छन् । झापाबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटाको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।
आइतबार विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला मोरङ र झापा पुगेका प्रधानमन्त्री ओली तथा गृहमन्त्री रामबहादुर थापा बादल नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार बारामा ओर्लिएका हुन् ।

प्रधानमन्त्री चढेको हेलिकोप्टर हवाइ निरीक्षणपछि कलैयास्थित सेनाको क्याम्पमा अवतरण ग¥यो । त्यहाँ प्रधानमन्त्रीले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोलीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको अवस्थाबारे जानकारी गराएका छन् ।
यसैबीच, घटनाको ब्रिफिङ लिइसकेपछि प्रधानमन्त्री ओलीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि कलैया अस्पताल पुगेका थिए ।

नेकपा सांसदको एक दिनको तलब

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संघीय सांसदहरुले बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि एक दिनको तलब सहयोग गर्ने भएका छन् ।

प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुको एक दिनको तलब राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिएका हुन् । यसअघि नेकपा सांसद योगेश भट्टराईले दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका थिए ।

काँग्रेस सांसदको दुई दिनको पारिश्रमिक
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरुको दुई दिनको पारिश्रमिक बराबरको रकम हावाहुरी प्रभावितलाई दिने भएको छ । काँग्रेस संसदीय दलको सोमबार बसेको बैठकले बारा र पर्साका हावाहुरी प्रभावितलाई राहत स्वरुप दुई दिनको पारिश्रमिक बराबरको रकम प्रदान गर्ने निर्णय गरेको हो ।

हेलिकोप्टरमा उडेरमात्र हुँदैन, पाल खसाइदिनोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले हवाइ निरीक्षण मात्र गरेपछि हावाहुरी प्रभावित फेटा गाउँपालिकाका स्थानीयबासीले असन्तुष्टि जनाएका छन् ।
आईतबार राती वर्षासँगै आएको हावाहुरीले बाराको फेटा गाउँपालिका नराम्ररी प्रभावित भएको छ ।
सबैभन्दा धेरै धनजनको क्षति भएको फेटामा प्रधानमन्त्री ओलीसहितको टोलीले प्रभावित क्षेत्रको हवाइ निरीक्षण गरेका छन् ।

यसप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनल लगायतका मन्त्रीहरु भने विहानैदेखि फेटामा छन् । मन्त्री सोनलले हेलिकोप्टर चढेर राहत नहुने भन्दै पाल, ब्लांकेटलगायत आवश्यक सामग्री पठाउन माग गरेका छन् । ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’ उनले भने, ‘यहाँ मान्छेलाई पाल छैन, स्रोत साधन छैन । पाल खसालिदिनु प¥यो नि मान्छेलाई ।’

उनले थपे, हामी यहाँ जिरो ग्राउण्डमा छौं । उहाँहरुलाई मैले देखेको पनि छैन । केन्द्रीय सरकारसँग आग्रह छ, प्रधानमन्त्रीजीसँग आग्रह छ, कृपया पाल पठाउनु पहिले । राती सुत्नलाई पाल छैन । कमसेकम ५ हजार परिवारलाई पाल चाहिन्छ ।’ हावाहुरी प्रभावितलाई खानेकुराको व्यवस्था स्थानीय सरकारसँग मिलेर प्रदेश सरकारले गर्ने भन्दै उनले राती सुत्नलाई पाल पठाउन केन्द्र सरकारलाई समेत आग्रह गरेका हुन् ।


क्षणभरमै उजाडियो बस्ती
दिनभर दुःखजिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुले एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोचेकै थिएनन् ।

चैतको मौसम भएपछि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर, फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा कल्पनाभन्दा बाहिरको थियो र आखिर त्यही भयो ।

खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवानको पुकार गर्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन खोज्दा खोज्दै मृत्यको मुखमा परे । पशु चौपाया थलोमै किचिएर मरेका छन् । क्षणभरमै बस्ती सखाप भयो । बस्तीमा न त घर रह्यो नत अन्न बाली नै । हावाहुरीसगै भएको वर्षाले अन्नबाली भिजेका कारण खाद्यान्न सामग्रीसमेत अभाव हुने स्थिति देखिएको छ ।

विद्युतका सबै पोल ढलेका छन् । जसका कारण बत्ती नआउँदा मोबाइल फोन चलाउनसमेत समस्या परेको छ । आईतबार साँझदेखि बारा र पर्साका ग्रामीण क्षेत्रका नागरिक भोकभोकै आकाश मुनी रात बिताउन बाध्य भए । बारा पर्साको सीमा क्षेत्रको फेटा, प्रसौनीलगायतका क्षेत्रमा सबैभन्दा बढी प्रभावित भएको छ ।

हालसम्म ३१ जनाको मृत्यु
यतिबेला ‘गोरखा भूकम्प’ को जस्तै प्राकृतिक विपत्तिमा परेका छन् बारा र पर्साका बासिन्दा । एकै क्षणमा बस्ती नै सखाप बनाउने गरी आएको हावाहुरीले घर उडायो, बस्ती उडायो, रुख बिरुवासमेत खण्डहर बनाएको छ । पछिल्लो विवरणअनुसार ३१ को मृत्यु भएको छ भने ६०० बढी विभिन्न अस्पतालमा उपचाररत छन् ।

एकाएक आइपरेको विपद्ले अस्पतालमा चिकित्सको अभाव देखिएको प्रदेश नम्बर–२, को सरकारले जनाएको छ । घाइतेको उपचारका लागि स्थान अभाव भएका छन् । रगतको समेत अभाव देखिएको छ । शक्तिशाली हावाहुरीले रोकि राखेको सवारी साधन पल्टाइ दिएको छ । सरकारले राहत र उद्धारलाई पहिलो प्राथमिकतामा राखेको छ ।

पीडीतलाई तत्काल तीन लाख राहत

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपद् व्यवस्थापनको लागि तत्काल औषधि, खाद्यान्न, त्रिपाललगायतका राहत सामग्री तथा तत्काल उपचार उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई क्रियाशिल गराई परिचालन गरेकाछन् ।
विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले मुख्यमन्त्री राहत कोषको खातासमेत खोलेको छ । प्रदेश सरकारले पीडितका लागि तत्काल रु तीन लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालमा छैन आँधी पूर्वानुमानको संयन्त्र

चैतदेखि जेठसम्मको समय प्रि–मनसुनको हो । पानी पर्नु र हावाहुरी चल्नु सामान्य भए पनि आँधीकै शैलीमा नै हावा चल्नु भने अस्वाभाविक रहेको देखिएको छ । जल तथा मौसम विज्ञान विभागले पानी पर्ने, हावाहुरी चल्ने र हिमपात हुने जस्ता विषयमा पूर्वअनुमान गर्दै आएको छ । तर आईतबार साँझ बारा, पर्सामा प्रकृतिले देखाएको ताण्डवका बारेमा किन पूर्वअनुमान गर्न सकेन भन्ने जिज्ञासासमेत आम रुपमा उठेको छ ।

विभागका महानिर्देशक सर्जुकुमार वैद्यले भने, ‘प्रि– मनसुनका क्रममा दिउँसो तातो हुने र साँझ चिसो बढ्दै जाँदा स्थानीय वायु प्रणाली सक्रिय भइरहेको तथा विगत केही दिनदेखि पश्चिमी न्यून चापिय प्रणालीको असर देखिएकाले आकस्मिक रुपमा आँधी उत्पन्न हुन गयो ।’

वायुमण्डलको माथिल्लो भाग अस्थिर बन्न जाँदा सीमित स्थानमा छोटो समयमा नै आँधीको विकास भयो र बारा, पर्साका विभिन्न क्षेत्रमा आँधी उत्पन्न भएको महानिर्देशक वैद्यको भनाइ छ ।
विभागका अनुसार यस्तो मौसमी पूर्वानुमान गर्न गाह्रो हुने भन्दै विकसित मुलुकले समेत पत्ता लगाउन सकेको छैन । महानिर्देशक वैद्यले मौसमी पूर्वानुमान प्रणालीको अनुसन्धानमा नयाँ प्रविधिको खोज गर्नुपर्ने बताए ।

विभागले हाल गर्ने गरेको अनुमान तत्कालका लागि मात्रै हुने भएकाले भविस्यको पूर्वानुमान गर्न सकेको छैन । विभागले हाल सुर्खेतमा मौसमी राडार जडान गरेको भए पनि जनशक्तिको अभावमा सञ्चालनमा ल्याउन सकेको छैन । जलवायु परिवर्तनले समेत केही असर पारेका कारण यस्ता पूर्वानुमान गर्न समस्या पर्ने विभागको भनाइ छ ।

विभागका पूर्वमहानिर्देशक ऋषीराम शर्माले बारा र पर्साको आँधी प्रतिघण्ठा ८० किलोमिटर बराबरको रहेको र ठूलो आँधीका रुपमा लिनुपर्ने बताए । मौसमका विषयमा विशेष जानकारी राखेर अध्ययन गर्ने प्रणाली र जनशक्ति नै नेपालमा छैन । हाल ७२ घण्टाको अनुमान हुने भएको छ । छिमेकी देश भारतमा १५ दिनदेखि एक महिनासम्मको अनुमान गर्ने गरिएको छ । आकस्मिक रुपमा हुने यस्ता विपद्को भने अनुमान गर्न गाह्रो हुने शर्माको भनाइ छ । 


पोखराको प्रभाव बारामा

मौसमविद् सुजन सुवेदीले भने आकस्मिक रुपमा देखा परेको आँधीको छुट्टै अनुसन्धान गर्नुपर्ने बताए । उनले भने,‘प्रि–मनसुनका कारण वायु मण्डलमा न्यून चापिय क्षेत्रको स्थापना भएर पोखराको आकाशमा थप नयाँ बादल विकास भयो र त्यो बादल दक्षिण पूर्वतर्फ बहँदा बारा र पर्सालाई मुख्य प्रभावमा पार्यो र ठूलो मात्रामा क्षति पुर्यायो ।’

नेपालमा हावाहुरीका बारेमा खासै पूर्वानुमान नहुने भन्दै उनले वर्षा, हिमपात, मेघ गर्जन, बादल, तापक्रमको मात्रै पूर्वानुमान हुने गरेको बताए ।
हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ ।