नेपालगन्ज १७ चैत : नेपालगन्ज नाका भएर नेपाल प्रवेश गरेका एक नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहँदा नेपाल आएका ती पुरुषको एन्टिजिन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै भातबाट नेपाल प्रवेश गर्ने तेस्रो व्यक्तिमा कोरोना पाइएकोछ ।
भारतको महाराष्ट्रको मुम्बईबाट आएका दैलेखको आठवीसकोट –८ का ३४ वर्षका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जमुनाहा नाकामा अहिलेसम्म करिव ३ सय जनामा कोरोना एन्टिजिन परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यसअघि कोरोना पुष्टि हुनेमा रोल्पा, बर्दिया र दैलेखका एक/एक जना रहेकाछन् । गत १३ चैत्रमा भारतको गुजरातबाट आएका रोल्पाका पुरुषलाई पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दोस्रो दिन चैत १४ गते महाराष्ट्रबाट आएका बर्दियाका ४१ वर्षका पुरुषलाई कोरोना भएको थियो ।
नेपालगन्ज नाकाबाट मङ्गलबार ९० जना पुरुष, ३१ जना महिला र ९ जना बालबालिका गरी जम्मा १ सय ३० जना नेपाल प्रवेश गरेकोमा ७ जना शंकास्पदको एन्टिजेन परीक्षण गरिएको ओलीले जानकारी दिए ।
यसैबीच भारतबाट नेपाल आउने ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भइरहँदा नेपालीमा त्रासको वातावरण देखिएकोछ । नयाँ भेरिएन्टको कोरोना भाइरस फैलिएको भारतबाट धमाधम नेपाली घर फर्किरहँदा शंकास्पद लागेका ब्यक्तिको स्वास्थ्य जाँच गरिएपनि कोरोना पोजेटिभ पाइएका ब्यक्तिमा नयाँ भेरिएन्टको कोरोना हो वा होइन त्यस सम्बन्धमा जाँच नगरिएको पाइएकोछ ।
भारतबाट नेपाल आउनेमा कोरोना संक्रमण पाइएपछि नेपालमा पनि नयाँ भेरिएन्टको कोरोना फैलिन सक्ने भन्दै सर्वसाधरण तथा सरकारले चासो र चिन्ता ब्यक्त गरिरहँदा सरकारले उनीहरुमा पाइएको कोरोना भाइरस नयाँ भेरिएन्टको हो वा होइन त्यो पत्ता नलगाई उनीहरुलाई सम्बन्धित पालिकासंग समन्वय गरेर आइसोलेसनमा राखिदै आएकोछ ।
यसरी कोरोना पोजेटिभ पाइएका ब्यक्तिमा भारतमा फैलिएको नयाँ भेरिएन्टको कोरोना हो वा होइन भन्ने निक्र्यौल गर्न स्थानीय स्तरमा सम्भव नभएकाले त्यसै भन्न नसकिने बाँकेका कोरोना फोकल पर्शन ओली बताउँछन् ।
‘भारतबाट आइरहेका ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भइरहँदा भारतमा फैलिएको नयाँ भेरिएन्टको कोरोना हो वा होइन त्यो भन्न मिल्दैन । किनभने एन्टिजेनले कोरोना पोजेटिभ छ छैन देखाउँछ । नयाँ भेरिएन्टको कोरोना पत्ता लगाउने जाँच गरिएको छैन ।’ बाँकेका कोरोना फोकल पर्शन ओलीले सेतोखरीलाई जानकारी दिए ।
भारतमा दोस्रो लहरको कोरोना तीब्र गतिमा फैलिएपछि कामको शिलशिलामा भारत पुगेका नेपालीहरु दिनहुँ सयौंको संख्यामा नेपाल फर्किरहेका छन् ।
जमुनाहा नाकामा चैत ११ गतेदेखि हेल्थ डेक्स स्थापना गरी कोरोनाको उच्च जोखिम रहेको भारतबाट आएका शंकास्पद व्यक्तिलाई एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण भइरहेको छ । भारतबाट आउनेहरुलाई नेपालगन्ज नाकामा जाँच गरेर मात्र भित्र्याउने गरिएको छ ।