खाना खाएनन्, जबरजस्ती खाली बील लगेः रेष्टुरेण्ट सञ्चालक

उपमहानगर र पत्रकार महासँघ रकम अनियमितता (भाग ८)


खाना खाएनन्, जबरजस्ती खाली बील लगेः रेष्टुरेण्ट सञ्चालक

नेपालगन्ज :नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर सहितको पत्रकार महासंघ बाँके शाखाले तयार पारेको बील भर्पाइहरु नक्कली (फर्जी) भएको पत्ता लागेको छ । सेतोखरीले खोजतलास गर्दा उपमेयर थापाले नेतृत्व गरेको एक कार्यक्रमको सम्पूर्ण बील भर्पाइहरु नक्कली रहेको पत्ता लागेको हो ।

उपमहानगरमा पत्रकार महासंघले पेश गरेका खर्चका थुप्रै बील, भर्पाइहरुले रकम हिनामिनामा पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारु र नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइसंगै उपमेयर थापा पनि संलग्न रहेको प्रष्ट देखिन्छ । उपमेयर थापा सहित ६ जनाले एकै दिन ५ पटकसम्म नेपालगन्जको जानकी रेष्टुरेण्टमा खाना र खाजा खाएको बील नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेको बारे समाचार सेतोखरीले मंगलबार प्रकाशन गरेको थियो ।

उपमेयर सहित पत्रकार महासंघको टोलीले जानकी रेष्टुरेण्टमा खाना नै नखाई जबरजस्ती सादा (खाली) बील लगेको खुलासा भएको छ । उक्त रेष्टुरेण्ट पत्रकार महासंघको भवनमा भाडामा रहेको छ । जानकी रेष्टुरेण्टका सञ्चालक सावित्री श्रेष्ठले आफनो रेष्टुरेण्टमा त्यसरी भात (खाना) खाने र खुवाउने व्यवस्था नरहेको सेतोखरीलाई बताईन् । ‘महासंघका भाईहरू आए हजुरको होटलको बील दिनुस् भने हामीले बील छैन भन्यौ तर, मानेनन् र जबरजस्ती ४/५ वटा बील लगेर गए श्रेष्ठले भनिन् ‘खाना भने उनीहरूले यहाँ खाएनन् ।’

बील कसले मागेर लगेको हो ? भन्ने प्रश्नमा श्रेष्ठले भनिन् ‘ठाकुर हो कि को नाम थाहा छैन् तर, महासंघकै हुन खाली बील लिएर गएका हुन् ।’ पटक-पटक थुप्रै खाली बील पत्रकार महासंघका भाइहरुले लिएर गएको रेष्टुरेण्ट सञ्चालक श्रेष्ठले बताइन् । हाम्रो त्यसरी खाना खुवाउने होटल नै होइन उनले सेतोखरीसँगको भलाकुसारीमा थपिन् ‘किन यसरी छापेका हो ! उनले भनिन् ‘खाना नै नखुवाउने होटलको जर्बरजस्ती बील लगेर तिनीहरूले यस्तो गर्न नहुने हो, ‘यसरी बीलको दुरूपयोग किन गरेका ? ’

Kanti Aarogya Hospital Nepalgunj

नेपाल पत्रकार महासंघ बाँकेको कार्यालय रहेको भवनमै होटल सञ्चालन गरेकी श्रेष्ठले सेतोखरीसँग दोहो¥याउँदै भनिन् ‘म फेरि पनि भन्दैछु हाम्रोमा खाना खाने व्यवस्था छैन् । र, एकै दिन ५ पटक खाना पनि कसैले खादैन्, हाम्रो होटलको नाममा यस्तो बील कसरी बन्यो ।’ उनले अगाडी भनिन् ‘काम छ भनेर मान्दै नमानी सादा बील लगेका हुन् । यसरी किर्ते गर्नलाई पो रै’छ । ’

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर र उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाइले गरेको रकम हिनामिनामा उपमेयर थापा पनि संलग्न भएको पाइएको देखिन्छ । उपमेयर थापाले नेतृत्व गरेको एक कार्यक्रमको सम्पूर्ण बील भर्पाइहरु हेर्दा यस रकम हिनामिनामा उपमेयर थापा संलग्न भएको पाइएको हो ।

कर्मचारीले नराम्रो कार्य गरे खबरदारी गर्नुपर्ने जनप्रतिनीधि उपमेयर थापानै रकम अनियमितामा संलग्न रहन पुगेकीछिन् । उपमेयर थापाले एकै दिन ५ पटकसम्म खाना र खाजा खाएको बील उपमहानगरपालिकामा पेश भएको छ । थापा नेपाली काँग्रेसबाट चुनाव जितेर उपमेयर बनेकी हुन् । काँग्रेसका विभिन्न नेताले फोन गरेर उपमेयर थापाले काँग्रेसको बेइजत गरेको बताए । उनीहरुले यस विषयलाई काँग्रेसले गम्भीर रुपमा लिने प्रतिक्रिया दिए ।

जानकी रेष्टुरेण्टको बील अनुसार, उपमेयर थापासंगै प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइ, पत्रकार महासंघका उपाध्यक्ष प्रदीप वाग्ले, पत्रकार आलम खान, उपमहानगरकै कर्मचारी कृष्णप्रसाद जोशी, पत्रकार रुपा गहतराजले एकै दिन ५ पटकसम्म खाना खाएको उपमहानगरपालिकामा पेश गरेको बीलमा उल्लेख छ ।

उपमेयर थापा सहित ६ जनाको टोलीले मिति २०७५ असार १८ गते एकै दिन ५ पटक खाना र ५ पटक खाजा खाएका छन् । सो को बील एक जनाको ५ सयका दरले १२ हजार ५ सयको खाना र खाजा खाएको उपमहानगरपालिकामा पेश गरेका छन् । पेश गरेको बील जानकी
रेष्टुरेण्ट नेपालगन्ज भनेर रहेको छ । एकै दिन एक जनाले ५ पटक खाना र ५ खाजा खाएको लेखिएको उक्त बील जानकी रेष्टुरेण्टले नेपाल पत्रकार महासंघको नाममा काटेको छ ।

उपमहानगरपालिकामा पेश गरेको जानकी रेष्टुरेण्टको बील अनुसार, मिति २०७५ असार १८ गते बील न. ८९९४ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९५ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९६ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९७ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय र मिति २०७५ असार १८ गते बील न. ८९९८ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय गरी १२ हजार ५ सयको बील रहेको छ ।

उक्त बीलको हिसाब फरफारक गर्नका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले महासंघकै लेटरप्याडमा छाप लगाएर २०७५ असार २४ गते नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमको लागि विनियोजन गरेको ९ लाख ३४ हजार मध्यको रकमबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर हिनामिना गरेका छन् ।

नक्कली हस्ताक्षर र नक्कली बील बनाएर चौलागाइ र थारुले रकम हिनामिना गरेका हुन् । पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले तयार पारेर उपमहानगरपालिकामा बुझाएको हरहिसाबको प्रतिवेदनमा सहजकर्ताको रुपमा महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र वाहालवाला केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल सहित २ दर्जन भन्दा बढी पत्रकारको नक्कली हस्ताक्षर गरी रकम हिनामिना गरेको प्रष्ट रुपमा देखिएको छ ।
त्यति मात्र नभइ कार्यक्रममै उपस्थित नभएका झा र पोखरेलको नाममा नक्कली हवाई टिकट, सहजकर्ताको भत्ता, २ दिनसम्म बास बसाएको नक्कली बील अध्यक्ष थारु र चौलागाईले उपमहानगरपालिकामा पेश गरेकाछन् ।

प्रत्येक प्रतिवेदन र बीलमा पत्रकार महासंघ बाँकेको छाप, हस्ताक्षर र प्रेस सल्लाहकार चौलागाइको हस्ताक्षर रहेको छ । यसको नेपालगन्ज उपमहानगरपालिकाले समिति गठन गरेर छानबिन गरिरहेको छ ।

थपा समाचार

उपमहानगरपालिका र पत्रकार महासंघबिरुद्ध अख्तियारमा उजुरी

अध्यक्ष ठाकुर र प्रेस सल्लाहकार चौलागाईले तयार पारे नक्कली हस्ताक्षर र बील

पत्रकार महासँघ बाँकेका अध्यक्ष ठाकुरले रक्सीको नशामा लठ्ठीएर के–के बोले ?

अध्यक्ष ठाकुर, प्रेस सल्लाहकार चौलागाइ र कोषाध्यक्ष केशवसँग बयान

रकम हिनामिनामा उपमेयर उमा पनि संलग्न