अनुगमनमा पानी पनि खाएको छैन, पत्रकार महासंघले मेरो हस्ताक्षर किर्ते गर्याेः सदस्य खान

उपमहानगर र पत्रकार महासँघ रकम अनियमितता (भाग–९)


अनुगमनमा पानी पनि खाएको छैन, पत्रकार महासंघले मेरो हस्ताक्षर किर्ते गर्याेः सदस्य खान

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य आलम खानले पत्रकार महासंघका पदाधिकारीले आफ्नो नाममा फर्जी बील बनाएको बताएका छन् । खानले मिडिया अनुगमनका क्रममा आफूले पानी समेत नखाएको समेत दाबी गरे ।

नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा गरिएको बाँकेका मिडिया अनुगमनमा टोलीसँग गएपनि आफू खाना, नास्ता त परै जाओस् एक बोतल पानी पनि नखाएको सदस्य खानले बताए । उनका अनुसार उपमहानगरपालिकाका उपमेयर उमा थापामगरको संयोजकत्वमा मिडिया अनुगमन टोली बनेको र उक्त टोलीले एक-दुई वटा मिडियामा अनुगमन गरेपनि सञ्चार माध्यमा आए जस्तै एक जनाले पाँच पटक खान र नास्ता पनि नखाएको टोलीका सदस्य खानले बताए ।

उनले सेतोखरीमा फोन गरेर भने ‘मैले त एक बोतल पानी पनि खाएको छैन् । पत्रकार महासंघका साथीहरूले मेरो नाममा किर्ते हस्ताक्षर गरेर खाना र नास्ताको बीलमा पनि मेरो नाम जोडेछन् ।’ उनले थपे ‘यो गलत हो, अहिले महासंघले जे गरेको छ, एकदम गलत गरेको छ, मलाई कत्ति चित्त बुझेको छैन ।’

नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर सहितको पत्रकार महासंघ बाँके शाखाले तयार पारेको नक्कली (फर्जी) बील भर्पाइहरुमा सदस्य खानले अनुगमन भत्ता बापत रकम बुझेको हस्ताक्षर गरिएको छ । तर, उक्त हस्ताक्षर उनले आफूले नगरेको बताएका छन् । ‘मिडियामा नाम आएर मलाई एकदम गाह्रो भयो दाई, म अरु ठाउँमा पनि संलग्न छु, के गरेको यस्तो भन्छन् । दाई मेरो संलग्नता छैन । पत्रकार महासंघका साथीहरुले मेरो फर्जी हस्ताक्षर गरेका रहेछन् । मलाई नै थाहा भएन’ खानले सेतोखरीसंग भने ।

Kanti Aarogya Hospital Nepalgunj

उपमहानगरमा पत्रकार महासंघले पेश गरेका खर्चका थुप्रै बील, भर्पाइहरुले रकम हिनामिनामा पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारु र नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइसंगै उपमेयर थापा पनि संलग्न रहेको प्रष्ट देखिन्छ । उपमेयर थापा सहित ६ जनाले एकै दिन ५ पटकसम्म नेपालगन्जको जानकी रेष्टुरेण्टमा खाना र खाजा खाएको बील नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेको बारे समाचार सेतोखरीले मंगलबार प्रकाशन गरेको थियो ।

उक्त बीलको हिसाब फरफारक गर्नका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले महासंघकै लेटरप्याडमा छाप लगाएर २०७५ असार २४ गते नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमको लागि विनियोजन गरेको ९ लाख ३४ हजार मध्यको रकमबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर हिनामिना गरेका छन् ।

नक्कली हस्ताक्षर र नक्कली बील बनाएर चौलागाइ र थारुले रकम हिनामिना गरेका हुन् । पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले तयार पारेर उपमहानगरपालिकामा बुझाएको हरहिसाबको प्रतिवेदनमा सहजकर्ताको रुपमा महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र बाहालवाला केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल सहित २ दर्जन भन्दा बढी पत्रकारको नक्कली हस्ताक्षर गरी रकम हिनामिना गरेको प्रष्ट रुपमा देखिएको छ ।
त्यति मात्र नभइ कार्यक्रममै उपस्थित नभएका झा र पोखरेलको नाममा नक्कली हवाई टिकट, सहजकर्ताको भत्ता, २ दिनसम्म बास बसाएको नक्कली बील अध्यक्ष थारु र चौलागाईले उपमहानगरपालिकामा पेश गरेकाछन् ।

प्रत्येक प्रतिवेदन र बीलमा पत्रकार महासंघ बाँकेको छाप, हस्ताक्षर र प्रेस सल्लाहकार चौलागाइको हस्ताक्षर रहेको छ । यसको नेपालगन्ज उपमहानगरपालिकाले समिति गठन गरेर छानबिन गरिरहेको छ । उपमेयर सहित पत्रकार महासंघको टोलीले जानकी रेष्टुरेण्टमा खाना नै नखाई जबरजस्ती सादा (खाली) बील लगेको खुलासा भएको छ । उक्त रेष्टुरेण्ट पत्रकार महासंघको भवनमा भाडामा रहेको छ ।

जानकी रेष्टुरेण्टका सञ्चालक सावित्री श्रेष्ठले आफनो रेष्टुरेण्टमा त्यसरी भात (खाना) खाने र खुवाउने व्यवस्था नरहेको सेतोखरीलाई बताईन् । ‘महासंघका भाईहरू आए हजुरको होटलको बील दिनुस् भने हामीले बील छैन भन्यौ तर, मानेनन् र जबरजस्ती ४–५ वटा बील लगेर गए श्रेष्ठले भनिन् ‘खाना भने उनीहरूले यहाँ खाएनन् ।’

बील कसले मागेर लगेको हो ? भन्ने प्रश्नमा श्रेष्ठले भनिन् ‘ठाकुर हो कि को नाम थाहा छैन् तर, महासंघकै हुन खाली बील लिएर गएका हुन् ।’ पटक–पटक थुप्रै खाली बील पत्रकार महासंघका भाइहरुले लिएर गएको रेष्टुरेण्ट सञ्चालक श्रेष्ठले बताइन् । हाम्रो त्यसरी खाना खुवाउने होटल नै होइन उनले सेतोखरीसँगको भलाकुसारीमा थपिन् ‘किन यसरी छापेका हो ! उनले भनिन् ‘खाना नै नखुवाउने होटलको जर्बरजस्ती बील लगेर तिनीहरूले यस्तो गर्न नहुने हो, ‘यसरी बीलको दुरूपयोग किन गरेका ? ’

नेपाल पत्रकार महासंघ बाँकेको कार्यालय रहेको भवनमै होटल सञ्चालन गरेकी श्रेष्ठले सेतोखरीसँग दोहो¥याउँदै भनिन् ‘म फेरि पनि भन्दैछु हाम्रोमा खाना खाने व्यवस्था छैन् । र, एकै दिन ५ पटक खाना पनि कसैले खादैन्, हाम्रो होटलको नाममा यस्तो बील कसरी बन्यो ।’ उनले अगाडी भनिन् ‘काम छ भनेर मान्दै नमानी सादा बील लगेका हुन् । यसरी किर्ते गर्नलाई पो रै’छ । ’

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर र उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाइले गरेको रकम हिनामिनामा उपमेयर थापा पनि संलग्न भएको पाइएको देखिन्छ । उपमेयर थापाले नेतृत्व गरेको एक कार्यक्रमको सम्पूर्ण बील भर्पाइहरु हेर्दा यस रकम हिनामिनामा उपमेयर थापा संलग्न भएको पाइएको हो ।

कर्मचारीले नराम्रो कार्य गरे खबरदारी गर्नुपर्ने जनप्रतिनीधि उपमेयर थापानै रकम अनियमितामा संलग्न रहन पुगेकीछिन् । उपमेयर थापाले एकै दिन ५ पटकसम्म खाना र खाजा खाएको बील उपमहानगरपालिकामा पेश भएको छ । थापा नेपाली काँग्रेसबाट चुनाव जितेर उपमेयर बनेकी हुन् ।

काँग्रेसका विभिन्न नेताले फोन गरेर उपमेयर थापाले काँग्रेसको बेइजत गरेको बताए । उनीहरुले यस विषयलाई काँग्रेसले गम्भीर रुपमा लिने प्रतिक्रिया दिए । जानकी रेष्टुरेण्टको बील अनुसार, उपमेयर थापासंगै प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइ, पत्रकार महासंघका उपाध्यक्ष प्रदीप वाग्ले, पत्रकार आलम खान, उपमहानगरकै कर्मचारी कृष्णप्रसाद जोशी, पत्रकार रुपा गहतराजले एकै दिन ५ पटकसम्म खाना खाएको उपमहानगरपालिकामा पेश गरेको बीलमा उल्लेख छ ।

उपमेयर थापा सहित ६ जनाको टोलीले मिति २०७५ असार १८ गते एकै दिन ५ पटक खाना र ५ पटक खाजा खाएका छन् । सो को बील एक जनाको ५ सयका दरले १२ हजार ५ सयको खाना र खाजा खाएको उपमहानगरपालिकामा पेश गरेका छन् । पेश गरेको बील जानकी
रेष्टुरेण्ट नेपालगन्ज भनेर रहेको छ । एकै दिन एक जनाले ५ पटक खाना र ५ खाजा खाएको लेखिएको उक्त बील जानकी रेष्टुरेण्टले नेपाल पत्रकार महासंघको नाममा काटेको छ ।

उपमहानगरपालिकामा पेश गरेको जानकी रेष्टुरेण्टको बील अनुसार, मिति २०७५ असार १८ गते बील न. ८९९४ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९५ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९६ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९७ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय र मिति २०७५ असार १८ गते बील न. ८९९८ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय गरी १२ हजार ५ सयको बील रहेको छ ।

थप समाचार

उपमहानगरपालिका र पत्रकार महासंघबिरुद्ध अख्तियारमा उजुरी

अध्यक्ष ठाकुर र प्रेस सल्लाहकार चौलागाईले तयार पारे नक्कली हस्ताक्षर र बील

पत्रकार महासँघ बाँकेका अध्यक्ष ठाकुरले रक्सीको नशामा लठ्ठीएर के–के बोले ?

अध्यक्ष ठाकुर, प्रेस सल्लाहकार चौलागाइ र कोषाध्यक्ष केशवसँग बयान

रकम हिनामिनामा उपमेयर उमा पनि संलग्न

खाना खाएनन्, जबरजस्ती खाली बील लगेः रेष्टुरेण्ट सञ्चालक