‘लकडाउन गरिएन भने अवस्था नियन्त्रणबाहिर जान्छ’
नेपालगन्ज ४ वैशाख : बाँकेमा तीव्ररुपमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई लिएर भेरी अस्पतालले आफ्नो अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने तयारीमा रहेको छ ।
भेरी अस्पतालले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फिवर क्लिनिक सञ्चालन गर्ने, रुटिन अप्रेशन बन्द गर्ने, अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नेबारे सोँच बनाईसकेको तर, निर्णय हुन बाँकी रहेको बताइएको छ ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डण्ट(मेसु) डाक्टर प्रकाश थापाका अनुसार कोरोना संक्रमणको संख्या बढेसँगै यतिबेला संक्रमितले भेरी अस्पतालका बेड भरिभराउ छ । भने भेरी अस्पतालमा पीसिआर परीक्षणको कार्यभार बढेकोछ ।
बाँकेमा शुक्रबार मात्रै एकैदिन २०० जनामा कोरोना पुष्टि भएको थियो । विगत एक वर्षमा यो संख्या हालसम्मकै उच्च हो । यस्तै पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याबमा १९० जनाको पीसिआर परीक्षण गर्दा १०६ जनामा कोरोना पुष्टि भएकोछ । यसले पनि बाँकेमा कोरोना संक्रमणको अवस्था झन भयावह बन्दै गएको पुष्टि गरेकोछ । भने शनिबार राती १ः२७ बजे दाङ की ३७ वर्षिय महिलाको कोरोना संक्रमणबाटै मृत्यु भइसकेकोछ ।
भेरी अस्पतालमा ननकोभिड सेवा बन्द गर्दा थप समस्या हुने भएकाले समस्या पर्ने अस्पतालको भनाई छ । पछिल्लो पटक कोभिड युनिट बन्द गरेको कोहलपुर मेडिकल कलेजले पनि पुनः कोभिड उचार सेवा शुरु गरेकोछ ।
अस्पतालले तत्कालका लागि पीसिआर किट, व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध भएपनि संक्रमण बढ्दै जाँदा अभाव हुने भन्दै व्यवस्थापन गर्न शुरु गरेको छ ।
उपचार निःशुल्क दिनसक्दैनौं
कोडिभका विरामी खचाखच भरिएपछि भेरीलाई आर्थिक भार समेत थपिएको अस्पताल प्रशासनले जनाएकोछ ।
कोरोना संक्रमित विरामीको उपचारका लागि संघीय सरकारले प्रति व्यक्ति (विरामीको अवस्था हेरेर) रकम दिने गरेको भएपनि सो रकम अपुग हुने मेसु डाक्टर थापा बताँउछन् ।
संघीय सरकारले पठाउने रकमले नपुग्ने गरेको मेसु थापाले बताए । सरकारले भेन्टिलेटरमा राखेको विरामीका लागि १५ हजार रुपैयाँ पठाउने गरेको छ । तर, प्रतिब्यक्ति कम्तिमा २५–३० हजार खर्च हुन्छ । बाँकी खर्च अस्पतालले व्यहोर्नु पर्ने अवस्था छ । यस्तो अवस्थामा अस्पतालले निःशुुल्क उपचार गर्न सक्दैन । केही सेवाबाहेक सबैमा विरामी स्वयमले शुल्क तिर्नुपर्ने हुन्छ ।
मेसु डाक्टर थापाका अनुसार विरामीको औषधि उपचार, अक्सिजनलगायतमा ठूलो रकम खर्च भइरहेको छ । अक्सिजनको लागिमात्र दैनिक २ लाख खर्च हुने गरेको छ ।
यसअघि कोभिडका विरामीलाई खाना समेत अस्पतालले व्यहोर्ने गरेको भएपनि अहिले भने विरामी आफैले त्यसको व्यवस्थापन गर्नु परेको छ ।
उनका अनुसार तीव्ररुपमा फैलिरहेको कोरोना संक्रमणको यही दर केहीदिनसम्म कायम भइरह्यो भने स्वास्थ्य सामाग्री र औषधी समेत अभाव हुनेछ । यसले पनि संक्रमित सबै विरामीले प्रभावकारी उपचार नपाउने हुन्छ भने उनीहरुको उपचार महंगो हुनेछ ।
लकडाउन गरिएन भने अवस्था नियन्त्रणबाहिर जान्छ
बाँकेमा संक्रमण समुदायमै फैलिएको भन्दै तत्काल लकडाउनमा जानुपर्ने अवस्था आइसकेको मेसु थापा बताउँछन् ।
उनले अघिल्लो वर्ष समयमा लकडाउन भएकाले संक्रमण नियन्त्रण गर्न सहज भएको भन्दै यसपटक पनि ढिला गर्न नहुने बताए । लकडाउन गर्न ढिला भए संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
उनले भने,‘कुनै पनि बेला लकडाउनमा जानुको विकल्प छैन । जुन खालको भारतमा संक्रमणको तथ्यांक देखिएको छ, त्यसको आधारमा हामीकहाँ सक्दो चाँडो लकडाउन गर्नुपर्ने देखिएको छ ।’
अघिल्लो पटकको लकडाउन प्रभावकारी भएको भन्दै अहिले मानिस कोरोनाको डर नभएको तर, संक्रमण तीव्र फैलिएको थापाको अनुभव छ ।