नेपालगन्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । नेपालगन्जमा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगन्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ ।
उद्घाटन समारोहलाई भब्य र सभ्य बनाउन प्रदेशपिच्छेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ । यस्तै प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । नेपालगन्ज रङ्गशालामा वैशाख ११ गते साँझ समापन कार्यक्रमको आयोजना गरिनेछ ।
यसअघि पूर्वाञ्चलमा आयोजना गरिएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । सोही समापन समारोहमा नवौँ राष्ट्रिय खेलकुदको मिति र स्थानसमेत घोषणा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
प्रतियोगिताका खेल भने औपचारिक उद्घाटन अगावै यही चैत २७ गतेदेखि शुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।
थप समाचार
आठौं राष्ट्रिय खेलकूद चैतमैः सदस्य सचिव विष्ट
आठौं खेलकूदको ग्राण्ड ओपनिङ्ग गरिने