विचार

सिक्नका लागि संस्कार र उत्प्रेरणा


सिक्नका लागि संस्कार र उत्प्रेरणा

हाम्रो सामाजिक अभ्यास पनि कति बिचित्रको छ । समाजमा केही बुझेका र राम्रा भनिने, समाजमा केही नाम कमाएका वा प्रतिष्ठा कमाएका अभिभावकहरुले बच्चालाई ‘पढ्न जाऊ’, पढ, पढ मात्र भन्ने गरेको पाईन्छ । तर, यस अभ्यासले बच्चामा कस्तो असर पर्न सक्छ र बच्चामा सिक्ने र ब्यवहार परिवर्तन गर्ने कुरामा उल्लेख्य प्रभाव कस्तो पर्यो ? भन्ने कुराको ख्याल गरिदैन ।

यसले गर्दा बच्चामा पढेर सिक्ने भन्दा पनि पढ्ने वानीको विकास हुन सक्छ तर, सिक्ने र सिकेका कुरा बानीमा परिणत गर्न नसक्ने हुन्छ । जस्तो उसलाई पढ् पढ् मात्र भनिरहँदा उस्ले पनि ठिक ढंगले पढ्छ तर, सिकाई शून्य हुन सक्छ । किन भने कण्ठ गरेर उस्ले धेरैकुरा मष्तिकसमा त राख्ला तर, ति सबै कुरा सिकाइमा परिरणत हुन सकेका हुदैन । यसमा बच्चाको के दोष ! उस्लाई सिक्नका लागि उत्प्रेरणा त दिईराखिएको पनि छैन ।

सिक्नकोलागि उत्प्रेरणा दिन अभिभावक नै बढी जिम्मेवार हुन्छन् । मानौं बच्चा हुर्कदै गयो । उस्ले चोर्न सिक्यो । कहिलेकाहीं घरमा बच्चाले बाबुको खल्ती खलांस पारेको हामीले सुनेका छौं । देखेका छौं । दिईएको जिम्मेवारी पुरा नगरेको, बरालिएर हिँडेको, जिम्मेवारीलाई हल्कारुपमा लिएको पनि हामीले देखेका वा भोगेका छौं ।

दोस्रो विश्व युद्धको बेला ब्रिटेनका प्रधान मन्त्री रहेका सर विस्टन चर्चिल बिसौं सताब्दीका एक महानतम राजनेता मानिन्छन् । राजनीति बाहेक उनले साहित्यको क्षेत्रमा पनि उल्लेखनीय योगदान दिए । ईतिहास, राजनीति र शैन्य अभियानमा लेखेको उनको पुस्तकको कारणले उनले सन् १९५३ मा साहित्यमा नोवेल पुरस्कार पाए ।

Kanti Aarogya Hospital Nepalgunj

चर्चिल सन् १८७४ मा जन्मेका थिए । सानोमा उनी टेकी र हठी । बिद्यालयमा भर्ना हुने दिन हिँडे आमासित चौध जोर मोजा र एक जोर जुत्ता लिएर । बिद्यालयमा जहिले पनि उनको ठाकठुक पर्दथ्यो । हेडमास्टरको टोप उनी भकुण्डो खेल्थे । एउटी गुरुआमाले भनिन् ‘संसारमा यो भन्दा बदमाश केटो छैन’ । र, चर्चिलका बुवालाई लाग्यो उसलाई कुनै काम दिनु भनेको बर्बाद हुनु हो । बडो चिन्तित थिए बाबु छोराको चर्तिकला देखेर । एकदिन बाबुले उनलाई एक गुरुकोमा लिएर गए र गुनासो गरे यो बेकाम छ । यसले कुनै पनि काम ठिक ढंगले गर्ला जस्तो लाग्दैन ।

त्यसपछी गुरुले चर्चिललाई आफ्नो साथीकोमा पुर्याउनु पर्ने अति महत्वपूर्ण शिलबन्धी एउटा पत्र दिंदै भने ‘यो पत्र अति जरुरी हो । यो समयमा पुगेन भने मेरो सारा काम बर्बाद हुन्छ । के तिमी यो काम गरिदिन्छौ ?’ उनले हुन्छ भनेर जवाफ दिए र तोकिएको समय भन्दा नै पहिला पत्र पुर्याए । यसरी केही काम नगर्ने बदमास भनिएको ब्यक्तिले यसरी महत्वपूर्ण काम गम्भीरताका साथ समयमा गरेको देखेर चर्चिलका बाबुले गुरुलाई यसको रहस्य सोधे । गुरुले यसको रहस्य खोल्दै भने ‘जिम्मेवारी’ यसरी चर्चिलले पनि आफ्नो जीवनमा कुरा बुझे । ‘मान्छेलाई जिम्मेवारी देऊ ।’

हामीले पनि घरको कुनै काम बच्चालाई जिम्मेवारी दिन सके उसको मनोबिज्ञान पनि थाहा हुन्छ । अलि दुर्गमतिर गाउँमा आमा बुवा खेतको काममा वा मेलापात जाँदा अलि ठुला बालबालिकालाई घरमा खाना पकाउने, भाइ–बहिनी हेर्ने र खाजा खुवाउने जिम्मेवारी दिएर गएका हुन्छन् । यसले गर्दा बालबालिकाहरुमा जिम्मेवारी बहन गर्ने बानीको विकास पनि धेरथोर भईनै रहेको हुन्छ । तर, यो जिम्मेवारी रहरले नभई बाध्यताले गर्दा दिईएको हुन्छ । तर, यस प्रकारको ब्यवहारले उनीहरुलाई जिम्मेवार अवश्य बनाउँछ ।

सिकाईको परिभाषा : सिकाई एक स्थायी प्रकारको ब्यवहार परिवर्तन हो । यो शिक्षा, ज्ञान ग्रहण र तालिमबाट प्राप्त हुन्छ । त्यस्तै स्टेफेन रोबिन्सनले भनेका छन्ः सिकाई एउटा सम्भवतः स्थायीरुपमा ब्यवहारमा हुने परिवर्तन हो जुन अनुभवबाट प्राप्त हुन्छ ।

सिकाईका प्रबृत्तीहरुः

 सिकाईले राम्रो वा नराम्रो दुबै परिवर्तन ल्याउन सक्छ ।
 सिकाई जहिलेपनि स्थायी प्रकृतिको हुन्छ ।
 यो अनुभवबाट प्राप्त हुन्छ ।
 सिकाईका लागि अनुभव आवश्यक पर्दछ ।
 सिकाई जीवन पर्यन्त हुन्छ ।
 सिकाई जहिलेपनि ब्यवहार परिवर्तनसंग सम्बन्धित हुन्छ ।

हाम्रो समाजमा कस्तो–कसतो ब्यवहार हुने गर्दछन् :

सिनारियो १ः

अभिभावक मध्ये मानौं बुवा अन्य दिनमा काममा जानुहुन्छ तर, शनिवार र सार्वजनिक बिदाका दिन गाउँको चिया पसलमा दिनभरि तास खेल्नुहुन्छ । खाली समयको सदुपयोग गर्नुहुन्न । जस्तो बिदाको समयमा घरको थप के काम गर्ने ?, खुल्ला दिमागले नयाँकुरा सोँच्ने हुनसक्छ वा आफन्तलाई कुनै काममा सहयोग गर्ने हुनसक्छ वा छिमेकीलाई सहयोग गर्ने हुनसक्छ । यो पनि नगर्ने । आमाले पनि कुनै रचनात्मक काम नगरी वरिपरीका दिदी बहिनीहरुसंग बसेर अनावश्यक गफ वा कुरा गर्ने ।

सिनारियो २ः

अर्को प्रकारको अभिभावक साँझमा रक्सी पिउने र घरमा अनावश्यक झगडा गर्ने, घरको काम नगर्ने, समाजको बिषेश जिम्मेवारीहरु पालना नगर्ने, घरको आर्थिक अवस्थाकाबारेमा नसोँच्ने वा चिन्तन नगर्ने, लापरवाही गर्ने, आफ्ना बालबच्चाको पढाइलेखाइ र प्रगतिकाबारेमा चासो र चिन्तन नभएको ।

सिनारियो ३ः

बाबु–आमाले कसाईको काम गर्नुहुन्छ । हरेक दिन घरमा खसी काट्ने, कुखुरा काट्ने, राँगा, बङ्गुर काट्ने आदि काम गर्नुहुन्छ । मासु बेच्नुहुन्छ । पैसा पनि कमाउनु हुन्छ । तर, घरको ब्यवस्थापन अस्तब्यस्त छ । छोरा–छोरीको पढाई–लेखाइको अवस्था के छ ?, बिद्यालय जान्छन् कि जाँदैनन् ? गृहकार्य गर्छन् कि गर्दैनन् ? यो बिषयमा चासो नराख्ने । आफ्ना बालबालिकाको अवस्था के छ ? भनेर कहिलेकाँही बिद्यालय नजाने ।

सिनारियो ४ः

बाबु कपडा ब्यापारी हुन् । साहू वा उद्योगबाट होलसेल मूल्यमा कपडा ल्याउँछन् र त्यसमा नियमअनुसारको थप प्रतिशत रकम जोडेर बिक्री मूल्य तोकेर बिक्रि गर्दछन् । संगसंगै पसलमा बसिरहने छोरा–छोरीले त्यसकार्य नियालिरहेका हुन्छन् । कतिरुपैयाँमा खरिद गरेर कति प्रतिशत रकम जोडेर कतिमा बेच्दा आफूलाई कति फाईदा हुन्छ ? भनेर उनीहरुले त्यसलाई नियाल्दछन् ।

सिनारियो ५ः

हामी सर्प देखे डराउँछौं । तर, तराईमा बसोबास गर्ने र सर्प पाल्ने, सर्पको नाच र खेल देखाएर केही पैसा, अन्न ल्याएर जीवीको पार्जन गर्ने सपेरा जातिका बालबालिका आफ्ना बाबुले, आमाले सर्प स्याहार गरेको, ढकियामा राखेको, उसलाई खाना खान दिएको, ठाउँ–ठाउँमा बोकेर लगेको, बीन बाजा बजाएर सर्प नचाएको देखेका वा अवलोकन गरेका हुन्छन् ।

सिनारियो ६ :

पहाडमा जन्मेका र हुर्किएका बाल बालिकाले आफ्ना बाबुआमा रुख चढेर घाँस काटेको, भीरमा गएर खर काटेको, टाढाबाट भारी बोकेर ल्याएको, पहाड चढेको, चिन्नो कम्मरमा बाँधेर नदी तरेको, तुईन तरेको, खेत बारीमा कृर्षि कार्य गरेको, ओखलमा धान कुटेको, देखेका हुन्छन् । हिमाल नजिक गाउँका मानिसहरु चिसोमा कसरी बस्ने, हिमाल कसरी चढ्ने कुरा आफ्ना अग्रजहरुले गरेको देखेका हुन्छन् । शहरी क्षेत्रमा जन्मिएका हुर्किएका बालबालिकाले यो सब देखेका हुँदैनन् । तर, उनीहरुले साईकल चलाएको, ब्यस्त बाटोमा जेब्रा क्रसीङ प्रयोग गरेर बाटो काटेको, आकाशे पुल प्रयोग गरेर बाटो काटेको, गाडी चढ्न झर्न, हवाई जहाज उडेको, बसेको देखेका हुन्छन् ।

सिनारियो ७ : मानौ आफ्ना आमा–बाबु राजनैतीक उच्च पदमा हुनुहुन्छ । सकृय राजनीतिमा हुनुहुन्छ । नीति निमार्णको तहमा हुनुहुन्छ । त्यस्ता अभिभावकको बालबालिकाहरुले पनि आफ्ना बाबु आमाको दैनिकी हेरिरहेका हुन्छन् । उक्त घरमा आईरहने पाहुना कस्ता स्तरका हुन्छन् । कस्तो बोल्नुपर्छ वा अनावश्यक बोल्नु हुन्छकी हुदैन ?, घरको अनुसाशनमा रहने, मर्यादामा रहने कुरा अवलोकन र ब्यवहार पनि अपनाईरहेका हुन्छन् ।

यसरी नियाल्दा–नियाल्दा उनीहरु आफ्ना बाबु–आमा भन्दा चलाख भैसकेका हुन्छन् । पछी उनीहरुले मात्र कामको जिम्मेवारी लिंदा बाबु–आमालाई ब्यवहारमा चिन्ता हुदैन । बाबु–आमाले रुखमा चढेर घाँस काटेको देखेर बालबालिकाले पनि रुख चढ्ने र घाँस काट्न सकेको हामीले माथि नै हेरिसक्यौं । बाबुले मेशनको काम गर्दछन् भने छोराले पनि ईट्टा मिलाउन जानेको हुन्छ । गृहणी आमाको काम हेरेर छोरीले रोटी हाल्न, तरकारी केलाउन, भाडा सजायर राखेको हेरेका वा अवलोकन गरिरहेका हुन्छन् ।

ईन्डोनेसियाको प्रथम राष्ट्रपतिकी छोरी मेघावती सुकार्नो पुत्री पनि पछी सन् २००० देखि २००४ सम्म ईण्डोनेसियाको पाँचौ राष्ट्रपति बनिन् । भारतका लागि बर्मा (हाल म्यानमार) का राजदूत की छोरी आङ साङ सूकी अहिले म्यानमारको र विश्वको राजनीतिमा चर्चामा छिन । त्यस्तै भारतका गान्धी परिवारका राजीव गान्धी, सोनिया गान्धी, पाकिस्तानको भुट्टो परिवार र नेपालमा राजा (शाह) खानदान, राणा खानदान, पछिल्लो समयमा कोईराला खानदान, भण्डारी खानदान, अधिकारी खानदान, राजनीतिमा अग्र स्थानमा देखिन्छन् । यो पुर्खाको वा अग्रजको ब्यवहार उनीहरुमा पनि आएको हो ।

अमेरिकन मनोबैज्ञानिक ब्लूमले आफ्नो टेक्सोनोमीमा भनेका छन् : ‘बालबालिकाले हेरेर, अनुभव गरेर र मनन् गरेर बस्तुको ब्यवस्थापन गर्दछन् र सिक्दै गईरहेका हुन्छन् ।’ त्यस्तै मनोविज्ञ अल्वर्ट बान्डुराले आफ्नो सामाजिक सिकाई सिद्धान्त (Social learning Theory) मा भनेका छन् ‘तपाईंले जे गर्नुहुन्छ बच्चाले पनि त्यही गर्दछ ।’

यसरी हेर्दा आमा–बाबु वा अग्रजको ब्यवहार सम्भवतः छोरा–छोरीमा सर्दोरहेछ । हुन त हरेक मानव ठूलो ओहदाको ब्यक्ति हुन चाहन्छ । तर, चाहेर मात्र पुग्दैन । उसको ब्यवहार(सिकाई)ले उस्लाई लिड गर्नु पर्दछ । उसको ब्यवहार (सिकाई) उसको ज्ञानमा भर पर्दछ । ज्ञान शिक्षाले दिन्छ । केही कुरा आफ्नो पूर्खाको ब्यवहारले सिकाउँछ । पारिवारिक ब्यवहार बच्चाको प्रगतिकालागि यति महत्वपूर्ण हुन्छ की ऊ भोली के बन्ने हो ? त्यस कुराले निर्धारण गर्दछ ।

राम्रो पढाई वा सिकाईको लागि उत्प्रेणा, तत्परता र योजना अवश्य आवश्यक पर्दछ ।

उत्प्रेरणा (Motivation) :

कुनै घटना घट्दछ । उक्त घटनाले बच्चाको मनमा उत्प्रेरणा जन्माउँछ । उत्प्रेणाले सिक्नकालागि अग्रसर गराउँछ । बच्चाले अग्रसरता लिनु भनेको वास्तविक ब्यवहार परिवर्तन हो । ब्यवहारमा सकारात्मक परिवर्तन आउनु भनेको सिक्नु हो । शिक्षा हाँसिल गर्नु हो । यसले उस्मा पूर्णता ल्याउँदै जान्छ । पहिले थोमस अल्वा अडिशनले बिजुलीको बल्ब बनाउने कामको उत्प्रेरणा पाए । पारिवारिकरुपमा राजनैतिक उचाईमा पुगेका ब्यक्तिहरुले परिवारबाट उत्प्रेरणा पाएका हुन्छन् । मेरो घर परिवारको खनादान यो हय ।

तत्परता (Readiness) : उत्प्रेरणले उसमा तत्परता जगाउँछ । तत्परताले सिक्नका लागि प्रयोगात्मक कृयाकलापहरु गर्न प्रेरित गर्दछ । थोमस अल्वा अडिशनले बिजुलीको बल्ब बनाउने परिकलपना त गरे तर, उनी हजारौं पटक फेल पनि त भए । अन्तः बल्बको आविष्कार गरेरै छाडे । यो उत्पादनले विश्व बिख्यात ख्याति पनि पायो र पाईरहेको छ ।

योजना (Planning) : योजना नभएको यात्रु कहाँ पुग्छ ? कसैलाई थाहा हुँदैन । त्यसैले सिक्नकालागि बिद्यार्थीले योजना बनाएर आफ्नो शिक्षा शुरु गर्नु पर्दछ । यसकालागि अभिभावक, शिक्षक र अग्रजहरले राम्रो बनाउन योजनाका लागि सहयोग गर्नु पर्दछ ।

जति राम्रो पारिवारिक उत्तप्रेरणा हुन्छ त्यति नै राम्रो तरिकाले बच्चाले सिक्न सक्छ । उक्त राम्रो उत्प्रेरणाका लागि पारिवारिक योगदान, मेहेनत, परीश्रम, बिचार आवश्यक पर्दछ । हुन त थोमस अल्वा अडिसनको पारिवारिक आर्थिक अवस्था शुरुमा राम्रो थिएन त्यसैले उनले शुरुमा रेलमा पत्रिका बेच्ने काम पनि गरे तर, उनको परिवार अलि संस्कारी र सभ्य थियो ।

बच्चाले राम्रो गर्न सकेन भने हामीले बच्चालाई दोष दिन्छौं तर, साथी–संगत, घरपरिवारको संस्कार, बिद्यालयको संस्कार कस्तो छ ? यी सबैकुरा हामीले हेरेका हुदैनौं । बच्चाले राम्रो गर्न नसके गाली मात्र गरिरहन्छौं । वास्तवमा बिद्यालयको संस्कार अति उच्च खालको र वैज्ञानिक हुनु पर्दछ । बिद्यालयले बिद्यार्थीमा उत्तप्रेरणा थप्ने काम गरेको छ कि छैन ? किन भने बालबालिकाको लागि पहिलो घर परिवार हो भने दोश्रो घर बिद्यालय हो । घर र बिद्यालयको पारस्पारिक सम्बन्ध हुन्छ । त्यसैले घरमा सुसंकृत वातावरणको विकास गर्नुपर्दछ भने बिद्यालयमा पनि राम्रो वातावरण बनाउन अभिभावकले उत्तिकै चासो राख्नु आवश्यक हुन्छ ।