नेपालगन्ज: भन्सार कार्यालय नेपालगन्जका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भन्सारका कर्मचारीले कमिशन वापतको रकम लिने नगरेको दाबी गरेका छन् । उनले भने, ‘प्रहरीले पठाएको नामका आधारमा भन्सारले कमिशन दिने हो प्रहरीबाट कसरी सुराकीको नाम आउँछ थाहा छैन भन्सारबाट त्यस्तो हुँदैन ।’
भन्सारको फैसला चित्त नबुझेर अहिले दुईवटा मुद्दा अदालतमा समेत पुगेको उनले जानकारी दिए । उनकाअनुसार पक्राउ गर्न खटी जाने कर्मचारीको पनि भूमिका हुने भएकाले पुरस्कारमा प्रहरी स्थानीय सुराकी जो सूचीकृत छन् र खटिएर जाने कर्मचारी मात्र कमिशनमा सहभागी हुन पाउने प्रावधान रहेको निरौलाले जानकारी दिए । उनका अनुसार साउनयता नेपालगन्ज भन्सारबाट तीन लाख ४१ हजार ५९६ सुराकीवापत पुरस्कार र कमिशन बाँडिएको छ । उक्त रकम पाउनेमा स्थानीय, सूचिकृत सुराकी, प्रहरी रहेका छन् । भन्सार प्रमुख निरौलाका अनुसार अझै साढे तीन लाखजति यस्तो रकम बाँड्न बाँकी रहेको छ । ‘उक्त रकम पनि वास्तविक सुराकी जो सूचीकृत छन् र सुराक गरेका छन् उनलाई मात्रै दिन्छौं,’ उनले भने ।
भन्सार प्रमुख निरौलाका अनुसार प्रहरीको हकमा पनि त्यहाँबाट सूचीकृत भएर पठाइएका र भन्सारमा सूचीकृत भएका सुराकीका नामका आधारमा नै दिने हो । उनले थपे, ‘त्यहाँबाट नातागोता, आफन्त वा खास सुराकी कसको नाम आउँछ हामीलाई थाहा हुँदैन ।’ प्रहरीबाट आउने नाम नै भन्सारले आधिकारीक सुराकी मान्दै आएको छ । चोरी निकासी र पैठारीको
सुराकी दिनेलाई १० प्रतिशत, त्यस्तो मालवस्तु मानिससहित पक्राउ गरी पेश गरेकोमा २० प्रतिशत, मालवस्तु मात्र पक्राउ गरी पेश गरेकोमा १० प्रतिशत, र मालवस्तु सुन, चाँदी वा बहुमुल्य गहना पक्राउ गरी पेश गर्ने व्यक्तिलाई १० प्रतिशत वा पाँच लाख रुपैयाँ मध्ये जुन घटी हुन्छ सो रकम दिइने कानूनी प्रावधान रहेको छ ।
भन्सार ऐनअनुसार सुराकी दिने ब्यक्तिले आफ्नो वास्तबिक नाम नदिई कुनै काल्पनिक नामबाट सुराकी दिनसक्ने ब्यवस्था गरेको छ । रकम प्राप्त गर्नका लागि सुराकीको पहिचान खुल्ने कागजपत्र भन्सार प्रमुखलाई उपलब्ध गराउनुपर्ने ब्यवस्था गरिएको छ । ससंदले २०७० मा पारित गरेको संगठित अपराध ऐनले पनि सुराकीको नाम गोप्य राख्नुपर्ने उल्लेख गरेको छ ।
सुराकीको परिचय सार्वजानिक गर्नेलाई ५ बर्ष कैद र पाँच लाख रुपैंयासम्म जरिवाना हुने ब्यवस्था छ । तर, नेपालगन्जमा सुराकीका नाममा प्रहरी र भन्सारका कर्मचारीको हालिमुहाली बढ्दै गएको खुल्न आएको छ । प्रहरीले कर्मचारीको मिलेमतोमा सुराकीको रकम खाने गरेको खुलेको छ । शान्ति सुरक्षा बहाली गर्न सुराकीले खेलेको भूमिकाको कदर गर्दै प्रदान गर्ने कमिशन वास्तविक सुराकीको हातसम्म नपुगी प्रहरी उच्च अधिकारी र भन्सारका कर्मचारीले नक्कलीसुराकी खडा गरी कमिशन लिने गरेको आरोप लागेको छ ।