नेपालगन्ज: नेपालगन्जलाई केन्द्र बनाएर आयोजना हुने ‘घरेलु खेलकुदको महाकुम्भ’ नजिकिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महाकुम्भले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनाएको छ । ‘घरेलु खेलकुदको महाकुम्भ’ले खेलप्रेमी, खेलाडीलाई मात्र नभई देशव्यापीरूपमा खेलकुदमय वातावरण बनाइदिएको छ ।
भव्यता र व्यापकताका हिसाबले मुलुकभित्र हुने खेलकुदको महाकुम्भलाई चलायमान गराउने र नयाँ गति दिने सबैभन्दा महत्वपूर्ण माध्यमका रुपमा आठौंलाई हेरिएको छ । राष्ट्रले प्रतिभावान खेलाडी उत्पादन गर्न नियमितरूपमा गरिने राष्ट्रिय खेलकुद प्रतियोगिताले तल्लो तहबाटै छनोट प्रतियोगिताहरु आयोजना गरि खेलाडी छनौट गरिन्छ । यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरमा चर्चित खेलाडीहरूसँंग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन् ।
नेपालमा भने राष्ट्रिय खेलकुद सुरु भएको ३८ बर्ष पूरा भइसकेको भए पनि पनि हालसम्म सातवटा संस्करण मात्र आयोजना हुन सकेका छन् । प्रत्येक दुई, दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन । अहिले आठौं खेलकूद हुँदैछ । यहाँ बढेको गर्मीसँगै आठौंको सरगर्मी नेपालगन्जलाई छपक्कै छोपेको छ । प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजकलाई भ्याईनभ्याई छ । प्रतियोगितामा २ हजार ८२५ पुरुष र २ हजार ३८६ महिला गरी ५ हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । ६४० प्रशिक्षक र ४६१ टिम ब्यबस्थापकलाई भ्याइनभ्याई भएको छ ।
९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनौट भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिस्पर्धा गर्ने छन् । व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामुहिकतर्फको विजेताले ७ हजार पाउने छन् भने राष्ट्रिय कीर्तिमान भंग गर्नेले २५ हजार पाउने छन् । प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिस्पर्धा गर्ने राखेपका सदस्य सचिव केशवकुमार बिष्टले जानकारी दिए। बैशाख ५ देखि ११ गतेसम्म चल्ने प्रतियोगिताको नेपालगन्ज रंगशालामा उद्घाटन र समापन हुनेछ ।
प्रतियोगिता अन्तरगत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । त्यस्तै दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ भने बर्दियामा कबड्ी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।
प्रदेश नम्बर ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो । आठौँ खेलकुदको मिति नजिकिएपछि खुशी व्यक्त गर्दै सातौँ खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण पदक विजेता एम साजन सुनारले भने, ‘राष्ट्रिय प्रतियोगितामा प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सवैभन्दा खुसीको कुरा हो, घाम, पानी, चिसोले खेलमा कुनै अर्थ राख्दैन ।’ उनले प्रतियोगितामा सहभागी हुने अवसरले गर्मीलाई गौण बनाई दिएको बताए ।
बाँकेका अभिभामान चौधरी पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाउँदै छन् । भारोत्तोलन खेलाडी चौधरीले गर्मीले प्रतियोगितालाई कुनै असर नगर्ने बताए । उनले गर्मीभन्दा प्रतियोगितामा आफ्नो प्रतिभा देखाउने अवसर नजिकिएकोमा खुशी व्यक्त गरेका छन् । ‘प्रतियोगितामा सहभागी हुन पाउनु नै गर्वको कुरा हो, गर्मी त आउँछ जान्छ, प्रतियोगितामा भाग लिने अवसर सधैँ आउने कुरा हुँदैन,’ उनले भने ।
एथलेटिक्सकी खेलाडी विश्वरुपा बुढाले सातौँ राष्टिूय प्रतियोगितामा बाँकेबाट प्रतिष्पर्धा गर्दै एथलेटिक्समा स्वर्ण पदक जितिन् । ‘प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सवैभन्दा ठूलो अवसर हो,’ उनले भनिन, ‘आठौँमा पनि प्रतिभा देखाउन पाइने भयो, साह्रै खुसी लागेको छ ।’ उनले नेपालगन्जमा गर्मी बढिरहे पनि यसले खेल खेल्न कुनै असर नगर्ने बताए ।
‘खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि हामी खेल्न सक्छौँ,’ उनले भने । आठौँको मिति तय भएपछि खेलाडी उत्साहित भएको एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए । उनले खेलाडीहरु स्वस्फुर्त रुपमा अभ्यास गरिरहेको बताए । ‘प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्छ, प्रतियोगिता भएन भने खेलाडीको प्रतिभा मरेर जान्छ,’ उनले भने ।
तोडिँदै इतिहास
विगत ३३ वर्षयता राष्ट्रिय खेलकुदको कुनै पनि संस्करण नियमित समयमा आयोजना हुन सकेको छैन । २०७५ सालसम्म आइपुग्दा १८ वटा संस्करण आयोजना भइसक्नुपर्ने भए पनि यस अवधिमा सातवटा संस्करण मात्र सम्भव भएका छन् ।
सातौं संस्करण आयोजना भएको दुई बर्षमै नेपालगन्जमा हुने आठौँ संस्करणले ३३ वर्ष लामो इतिहास तोड्दैछ । २०४२ सालमा सम्पन्न तेस्रो संस्करणपछि हालसम्म राष्ट्रिय खेलकुद नियमित समयमा आयोजना हुन सकेको छैन ।
यसले सरकार र सम्बद्ध खेल अधिकारीका लागि पनि खेलकुद क्षेत्रप्रतिको आफ्नो प्रतिबद्धता दर्साउने गतिलो अवसर दिएको
छ । सरकार तथा आयोजक कुनै पनि हालतमा निर्धारित समयमै आठौँ राष्ट्रिय खेलकुद आयोजना गर्न प्रतिबद्ध देखिनुले लामो समयदेखि अनियमित बनेको राष्ट्रिय खेलकुदको क्यालेन्डरलाई सुधार्ने यो सबैभन्दा उपयुक्त अवसर रहेको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले बताए ।
नेपालगन्जलाई चुनौती
२०७३ सालमा पूर्वाञ्चलमा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा आठौँ संस्करण नेपालगन्जमा आयोजना गर्ने भनेर घोषणा गर्न ठूलै कसरत गर्नुपरेको थियो । प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले भने, ‘तथ्य कसैसँग लुकेको छैन । हामीले पोखरामा हुनुपर्ने आठौंलाई नेपालगन्ज ल्याएका हौं ।
जसका कारण पनि हामीलाई निर्धारित समयमा प्रतियोगिता सक्नुपर्ने ठूलो दवाव थियो । त्यो चुनौती पुरा हुँदैछ ।’ उनका अनुसार धरानमा सातौँको समापन समारोह सुरु भइसक्दासम्म पनि आठौँ आयोजनाको विषयलाई लिएर सम्बद्ध खेल अधिकारीबीच विवाद जारी थियो । अन्तिम समयमा आएर मात्र नेपालगन्जले आठौँ आयोजनाको अधिकार पाएको थियो । त्यसो त तत्कालिन समयमा राष्ट्रिय खेलकुद पालैपालो पाँचवटै विकास क्षेत्रमा आयोजना गर्ने परम्परा थियो । सो अनुरूप २०४० सालमा दोस्रो पोखरामा र २०५५ सालमा चौथो नेपालगन्जमा आयोजना भएको थियो ।
‘आठौं सञ्चालन गर्ने पालो त पोखराको थियो । यस आधारमा आठौँ संस्करण आयोजनाको अधिकार नेपालगन्जले भन्दा पहिले पोखराले पाउनुपर्ने थियो,’ अध्यक्ष वलीलले भने, ‘सातौँ संस्करण सुरु हुनुअघि नै पोखरा आठौँ संस्करण आयोजनाको अधिकार पाउनेमा ढुक्क थियो । हामीले पोखरालाई कन्भिन्स गर्न सक्यौ र प्रतियोगितालाई नेपालगन्जमा ल्याउन सक्यौं ।’
विवाद बढ्दै गएपछि खेल अधिकारीहरू समेत विभाजित बनेको स्मरण गर्दै वलीले भने, ‘आठौँ खेलकूद आयोजनाको अधिकार पोखराबाट नेपालगन्ज आएपछि निर्धारित समयमै आठौँ संस्करण सफलतापूर्वक सम्पन्न गरेर देखाउनु पनि ठूलै चुनौती थियो हामीले त्यो पार गरेका छौं ।’ उनले अबको चुनौती खेल सञ्चालन र खेलाडीको व्यवस्थापन मात्रै हो त्यसमा पनि हामी सफल हुने दावी गरे ।
प्रदेश संरचनामा पहिलो
राष्ट्रिय खेलकुदको सुरुवात अञ्चलगत संरचनाका आधारमा सुरु भएको थियो । सो समयमा १४ वटा अञ्चलका टोलीले प्रतियोगितामा भाग लिन्थे । अञ्चलबीच प्रतिश्पर्धा गराइन्थ्यो । विस्तारै पाँच विकास क्षेत्रका आधारमा प्रतिश्पर्धा गराउन थालियो । यो अवधारणमा पाँचवटा विकास क्षेत्रका टोलीले प्रतियोगितामा भाग लिन्थे । त्यसपछि आएर पाँचवटा विकास क्षेत्रसँंगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पनि राष्ट्रिय खेलकुदमा प्रवेश दिइएको थियो ।
यतिबेला मुलुक सघीयतामा गइसकेको छ । आठौँ राष्ट्रिय खेलकुद नेपालगन्जमा आयोजना गर्ने घोषणा हुँदा विकास क्षेत्रकै आधारमा निर्णय गरिएको थियो । तर त्यसपछि विकसित नयाँ राजनीतिक घटनाक्रम र पछिल्लो संविधानका आधारमा आठौँ राष्ट्रिय खेलकुदले पनि नजानिँदो किसिमले नयाँ स्वरूप ग्रहण गरिसकेको छ । यस आधारमा अब आठौँ संस्करण प्रदेशगत ढाँचामा आयोजना हुने पहिलो राष्ट्रिय खेलकुद बन्दैछ ।
नेपालगन्ज–साग संयोग
२०५५ सालमा नेपालगन्जमा चौथो राष्ट्रिय खेलकुद आयोजना हुँदा नेपालमै आयोजना हुने आठौँ दक्षिण एसियाली खेलकुद (साग) को तयारी चलिरहेको थियो । चौथो राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नै थप प्रशिक्षण दिएर आठौँ सागमा सहभागी गराइएको थियो । त्यतिबेला सागमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आफूलाई पदक तालिकाको दोस्रो स्थानमा उभ्याएको थियो ।
अहिले पुनः यस्तै संयोग जुरेको छ । राष्ट्रिय खेलकुदको आठौँ संस्करण नेपालगन्जमा अबको केहीदिनमै सुरु हुँदैछ भने देश १३ औँ साग आयोजान गर्ने तयारीमा छ । नेपालगन्जसँग जोडिएको नेपाली खेलकुदको यो अत्यन्तै गर्विलो संयोग भएको बताउँछन, प्रदेश ५ का अध्यक्ष ओली ।