दैलेख जनसंख्याको हिसावले कर्णाली प्रदेशको दोश्रो र एक पर्यटकीय आकर्षण भएको जिल्ला हो । भूगोलको हिसावले कर्णाली प्रदेशको सबै भन्दा सानो सल्यान र दोश्रो सानो दैलेख हो । पर्यटीय गन्तव्यको हिसावले यसलाई उपत्यका बाहिर पोखरा र लुम्विनीपछि तेस्रो पर्यटकीय क्षेत्रका रूपमा पनि हेरिन्छ । पूर्वमा जाजरकोट, पश्चिममा अछाम, उत्तरमा कालिकोट र दक्षिणमा सुर्खेतसँग जोडिएको यो जिल्ला भौगोलिक मात्र नभएर पर्यापर्यटन, साँस्कृतिक तथा जैविक विविधताले भरिपूर्णछ । सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६ सय ५०, कोहलपुरबाट एक सय ७१, कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ६५ किलोमिटर उत्तरमा अवस्थितछ ।
ऐतिहासिक धरोहरका रूपमा रहेको दैलेख सदरमुकामको उत्तर शीरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला, शीरस्थान, नाभिस्थान, पादुका, कोटिला, धुलेश्वर जस्ता पानीमाथि आगो ज्वाला बल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेका क्षेत्रहरू छन् । यीनै आकर्षणले दैलेखको पर्यटकीय विकासका सम्भावना उच्च छन् । त्यसैले यस क्षेत्रमा पछिल्लो समय देशी विदेशी पर्यटकहरुको लर्को लाग्नेगरेकोछ ।
प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण दैलेख धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि उत्तिकै धनी छ । मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता दैलेखका पर्यटकीय सम्भावनाका आधारहरू हुन् । स्तम्भ हुन् ।
दैलेखका शिरस्थान, नाभिस्थान क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ बलिरहेको छ । धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रका रुपमा परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उल्लेख्य उपस्थिति हुँदै आएको छ । पर्यटन विकास र यसका सम्भावनासँगै दैलेखको सञ्चार विकासले पनि उतिकै फड्को मार्दै अघि बढिरहेको ।
एक जमाना सञ्चारको अभावमा एकाध बाहेक अन्धकारमा रूमलिएको दैलेख अहिले सञ्चारको दुनियाँमा पनि सल्बलाएको छ । धेरै अघिको कहानी र अवस्था त बुभ्mन सकेको छैन् । तर, देखे सुनेको अवस्थालाई यहाँ उतार्ने जमर्को गरेको छु । सुनेको थिए २०५५ अघि दैलेखको सञ्चार केही सिमित व्यक्ति र संस्थामा निहीत थियो । त्यसताका दैलेखमा टेलिफोन पहुँच धेरै नागरिकमा थिएन् । सिमित सरकारी कार्यालय र केही प्रतिष्ठित घरानामा थियो । सञ्चारको काम गर्ने पत्रकारहरूको अभाव थियो । प्रजातन्त्र अघिको पञ्चायत ताका पुण्य रेग्मीले राष्ट्रिय समाचार समिति (रासस) मा दैलेख प्रतिनिधी भएर काम गरेको भेटिन्छ । तर, को पुण्य रेग्मीको अझै खुलस्त पहिचान हुन सकेको छैन् ।
प्रजातन्त्रको बहालीपछि २०४८ सालमा भेषराज थापाले राससको जिल्ला समाचारदाता बनेका थिए । त्यसताका उनी मात्रै एक्ला पत्रकार थिए, दैलेखमा । समाचार काठमाडौ पठाउने कठिन थियो । यसैबीचमा २०५० ताका टीकाराम शर्माले पनि राससमा काम गरेका देखिन्छ । त्यतिबेला चोटिलो र दरिलो समाचार र सूचनाका संवाहका रूपमा चिनिने टीकारामकै राससमा प्रकाशन भएका समाचारले मिडियाका डेक्समा दैलेखको पहिचान थपिएको थियो ।
शिक्षण पेशा अनि वकालत समेत गर्दै आएका सुरेन्द्र अधिकारीले जनआस्था र दृष्टि पत्रिकामा मानवअभिरुचीका चाख लाग्दा खबरहरु छपाउने गरेका थिए । साप्ताहिक पत्रिकाले पारिश्रमिक नदिने, यता वकालत व्यवसायलाई बढी समय दिनु परेको कारण उनले पत्रकारितालाई बिस्तारै छाडे जस्तो भयो ।
२०५१ को मध्यावधि चुनावपछि तत्कालिन नेकपा एमालेको सरकार बनेपछि राससमा अमर सुनार र रेडियो नेपालमा स्वर्गीय डेकन्द्र थापालाई रिर्पोटरका लागि बनाएको थियो । पार्टीले जिल्लाबाट सिफारिस गरेपछि निर्णय भइआउञ्जेल २०५२ वैशाखमा मात्र उनीहरुले औपचारिक नियुक्ति पाएका थिए ।
उनीहरुको नियुक्तिपछि डेकेन्द्र थापाको आकर्षक रेडियोशैली र अमर सुनारको खोजपूर्ण चोटिलो लेखनशैलीले जिल्लाका समाचार गतिविधिहरुले राम्रो स्थान पाएका थिए । राससको जिम्मेवारीबाट बाहिरिएपछि टीकाराम शर्मा पत्रकारिता छाडेर एनजीओ सञ्चालनमा सक्रिय भए । गैसस महासंघको पहिलो अध्यक्ष, रेयूकाई लगायतका सामाजिक काममा बढी समय दिनुपरेको कारण टिकाराम शर्मा पत्रकारितामा छोडेको जस्तो देखिए पनि उनी आफूले पत्रकारिता गर्दाको बेला ठूल्ठूला बिवाद र सामाजिक अन्याय बिरुद्ध समाचार लेखेर ख्याती कमाएको देखिन्छ, एक घटनामा जनप्रतिनिधिको नाम मुछिएको भन्ने विषयमा दैलेख जिल्ला अदालतमा मानहानी मुद्दा समेत उनले खेपेका थिए ।
पत्रकारिताको अजानीदो रहरसँगै तत्कालिन जिल्ला विकास समितिका उपसभापति खड्गबहादुर सिजापतिका हिमालय टाईम्समा बाईलाईनमा समाचार छापिएका थिए । उपसभापति भएकै कारण पत्रिकाले उनलाई काम गर्नबाट बञ्चित बनायो । जब उनले उपसभापतिको कार्यकाल सके अनि फेरि हिमालय टाइम्समै ४ वर्ष जति कलम चलाए, यसलाई उनी आफूलाई व्यस्त राख्ने उपायको रुपमा लिएको बताउँछन् ।
उनी कानून अध्ययनमा लागे र कानून व्यवसायी भए । त्यो बेला भेषराज थापा र टीकाराम शर्मा नाम र पहिचान मात्रका पत्रकार बनिसकेका थिए । पहिले आवा(आकाश वाणी)बाट समाचार पठाउने गरेका अमर र डकेन्द्रकै कार्यकालमा टेलिफोन सेवा सुरु भयो, टेलिफोन सेवा सुरु भएसगैं फ्याक्सबाट समाचार पठाउन थालेपछि यसले उनीहरुलाई व्यवसायिकतामा ल्याउन ठूलो मद्दत ग¥यो । २०५५ मा एमाले विभाजन भई माले भएपछि मालेको उपसचिव पदमा गएका कारण पत्रकारितामा डेकेन्द्र ओझेलमा परे । तर, अमर सुनार राजनीतिक जिम्मेवारीमा नबसेको कारण पत्रकारितालाई निरन्तरता दिइरहेको अवस्थामा २०५५ सालमा नेत्र केसी रेडियो नेपालको जिल्ला सम्वाददाता भई झण्डै एक वर्षसम्म काम गरे । त्यतिबेलाको समाचार, कभरेज र रेडियोशैलीले उनी अहिले बीबीसी नेपाली सेवासंग जोडिएका छन् । नेत्र केसी रेडियो नेपालले समाचार संख्याको आधारमा दिने पारिश्रमिककै भरमा खर्च धान्न धौधौ परेपछि नेपालगन्ज पलायन भए, उतैबाटपछि ४–५ वर्षपछि बीबीसी जोडिएका हुन् ।
दैलेख जिल्लामा टेलिफोन र फ्याक्स सेवा सुरु भएपछि सक्रिय पत्रकारिता चल्दैगर्दा पत्रकारिताप्रतिको मोह बढिरहेको थियो । त्यसैबेला जानी नजानी बुझी, नबुझी दैलेखको पत्रकारितालाई थप उचाईमा लैजाने हेतुका साथ अमर सुनार र डेकेन्द्र थापाकै प्रेरणा तथा सहयोगले मैले (कमल न्यौपाने) २०५७ कात्तिक सात गतेदेखि काठमाण्डौंबाट छापिने दृष्टिपत्रिकासंग जोडिएर पत्रकारिता शुरू गर्ने सुनौलो मौका पाएँ ।
शिक्षण पेशामा संलग्न गणेश रेग्मी पनि छलफल साप्ताहिकका लागि जिल्ला सम्वाददाता थिए । नेपालगन्जमा पढ्न बसेको बेलाको सम्पर्कले दैलेखका रिपोटिङ्ग गर्ने माधव अधिकारी, सुर्खेतको काँक्रेबिहारका लागि काम गर्ने डम्वर थापा, त्यसपछि धर्म बिष्ट, राजधानी दैनिकका जिल्ला सम्वाददाता चित्रसिंह गाउँले, समाचारपत्रका लागि काम गर्न आएका प्रकाश पन्त जोडिएपछि जिल्लामा संस्थागत विकास पनि गर्नुपर्छ भनेर प्रयत्न ग¥यौं ।
२०५८ साल माघ २८ गते पहिलोपटक दैलेखमा नेपाल पत्रकार महासंघको शाखा गठन गर्ने जमर्को ग¥यौं । अहिलेको जस्तो परिस्थिती सहज थिए । देश सशस्त्र द्वन्द्वको चपेटामा थियो । कहिकतै पत्रकार लक्षित गर्दै घटनाहरु पनि भइरहेका थिए । द्वन्द्वका बीच जसोतसो हामीले प्रक्रिया अघि बढ्यौं । तर, त्यो बेला महासंघको नियमअनुसार जिल्लामा शाखा लैजान सातजना पत्रकार अनिवार्य हुनुपर्ने व्यवस्था थियो । जेनतेन संख्या पुगेकै थियो, त्यही अनुसार तदर्थ समिति बनायौं । सभापति अमर सुनार, सचिव कमल न्यौपाने (म), सहसचिव कर्ण शाही, कोषाध्यक्ष चित्रसिंह गाउँले, सदस्यहरु प्रकाश पन्त, डेकेन्द्र थापा र गणेश रेग्मी सदस्यको समेतको जिम्मेवारी तोकेर पत्रकारिताको संस्थागत विकासको सुरुवात गरियो । २०५८ फागुनमा कान्तिपुर दैनिकका लागि जिल्ला सम्वाददाता भई आएका हरिहरसिंह राठौरलाई समेत उपसभापति जिम्मेवारी दिइयो ।
पत्रकारको संख्या बढ्दै थियो । दैलेखको संस्थागत पत्रकारिता र महासंघको ईतिहास हेर्दा यो नै पहिलो र संस्थापक समिति हो भन्दा बेठिक नहोला । त्यसपछि महासंघको ब्यानरमा हामीले धेरै काम गर्न त सकेनौं । दैलेखमा पत्रकारिता बिस्तारै बामे सर्दै थियो । नेपाल पत्रकार महासंघ दैलेख शाखा आयोजक भएर एनपीआई नेपालगन्जसँगको समन्वयमा दैलेखमा २०६० मंसिरमा आधारभूत पत्रकारिता तालिम सञ्चालन ग¥यौं । उक्त तालिममा अहिले दैलेखबाट राष्ट्रिय सञ्चार माध्यममा काम गरिरहेका धेरै साथीहरू प्रशिक्षार्थीको रूपमा सहभागी थिए । चिरञ्जिवी अर्याल र सोमनाथ लामिछाने प्रशिक्षक रहेको उक्त सात दिने आधारभूत तालिमबाट उत्पादन भएको जनशक्तिमध्ये केही जनशक्तिले केही समय पत्रकारिता गरे पनि त्यो बेलाको उत्पादनशक्ति अहिले कमै देखिन्छ । उक्त तालिमबाट यज्ञराज थापा, भुपेन्द्र शाही, महेन्द्र खड्का, जनक न्यौपाने, सिताराम शर्मा लगायत (धेरैको नाम विर्से) केही समय पत्रकारितामा रमाएपनि अहिले यज्ञराज थापा, भुपेन्द्र शाही मात्र निरन्तर र सक्रियरुपमा पत्रकारिता क्षेत्रमै छन् ।
दैलेखमा पत्रकारिता फष्टाउँदै र मौलाउँदै थियो । देशमा संकटकाल घोषणा भयो । पत्रकारिता संख्या बढाउने अभियान चलिरहेको थियो । संकटकालकै बेला भएकोले असुरक्षाको महशुस गर्दै प्रकाश पन्त र चित्रसिंह गाउँले सुर्खेत झरिसकेका थिए । प्रकाश पन्त सुर्खेत झेरपछि खाली रहेको नेपाल समाचारपत्रमा मंैले काम गर्ने मौका पाएँ । करिब १० वर्ष त्यही पत्रिकामा मैंले काम गरे । सरकारी मिडियामा पहुँच थिएन् । तर त्यसबेला सरकारी मिडियाकै बोलवाल थियो । हरिहरसिंह राठौरको आफ्नै चाम थियो ।
राठौरकै सल्लाह र सहयोगमा सरकारी सञ्चार माध्यम गोरखापत्रमा भुपेन्द्र शाहीलाई काम गर्ने वातावरण सृजना भयो । काठमाडौबाट भर्खर फर्केका निडर र लेखनशैली अच्छा भएका भुपेन्द्र गोरखापत्रको सम्वाददाता भए । हामी अझै संख्यात्मक रूपमा कसिलो हुँदै गयौं । गोरखापत्रमा भुपेन्द्र शाहीका र नेपाल समाचार पत्रमा मेरा एकैदिन ६ वटा समाचार छापिएको र ५ वटामा वाईलाईन आएको देख्न हामी आफै चकित परेको मानसपटलमा अझै ताजा छ । समाचार कति लेखियो, के लेखियो, कस्ता मुद्दा र सवाल उठान गरियो आदीइत्यादी सवै बताउन साध्यै भएन् । तर, दुर्गम जिल्लाको पत्रकारिता भनेको बेला बत्ति नहुने, जताततै फ्याक्सको सुधिवा नहुने, समाचार लेख्यो फ्याक्स गर्दा सरकारी कार्यालयका हाकिमको चाकडी गर्नुपर्ने । यो अवस्थाले बिशेष गरी भुपेन्द्र शाही र मलाई साह्रै तनाव भयो । यस्ता तनावले हामीलाई वेलावेला चुनौती पनि दिदै गयो ।
अमर सुनार र हरिहरसिंहको डेरामै निजी फ्याक्स थियो । तर, हामीलाई भने गणेशचोकमा पीसीओ राखेका बिष्णु शर्माको टेलिफोन बुथ थियो । पछिल्ला समय हामी प्राय त्यहिबाट फोनमा समाचार टिपाउने पनि गथ्र्यौं र फ्याक्स पठाउथ्यौं ।
उनी कहाँबाट फ्याक्स पठाउदै गर्दा बिष्णु शर्माले आफूलाई पनि पत्रकारिता गर्न मन भएको कुरो दर्शाए । भुपेन्द्र शाहीले नि हौसाए, त्यही बेला मैंले नेपालगन्जका पत्रकार मेघराज ओलीलाई फोन गरें । बिष्णु शर्मालाई नेपालगन्जबाट प्रकाशित हुने मध्यपश्चिम दैनिकमा रिर्पोटर बनाएको थिएँ । अहिले बिष्णु शर्मा दैलेखका साधानश्रोत सम्पन्न र सक्रिय पत्रकार छन् । उनको आफ्नै पहिचान बनेको छ अहिले ।
२०५८ सालमा तदर्थ समिति गठन गर्दाका सभापति अमर सुनार, २०६१ मा आन्तरिक विवादमा अमर सुनार र हरिहरले समिति छोडेपछि भूपेन्द्र शाही सभापति बनेका थिए तर पछि राजावादीहरुले गठन गरेको राष्ट्रिय पत्रकार संघको भेरी अञ्चल प्रमुख बनेपछि उनी हटाएइका थिए । भूपेन्द्र हटेपछि २०६२ मा हरिहरसिंह राठौर सभापति बने र उनकै पालामा शाखा स्वीकृति पाएको थियो ।
महासंघको शाखा स्वीकृतपछि सदस्यता बृद्धिलाई बढावा दिइयो, यस क्रममा महिलाहरुको पनि उल्लेख्य सहभागिता बढेको छ । पत्रकारितामा देखिएसँगै रश्मी सिंह, विन्दकला शाही, मीरा स्वार्णाकार, आशा काफ्ले, मीना थापा, गायत्री पोखरेल महासंघका सदस्य हुन् । विस्तारै दैलेखमा रेडियोहरुको स्थापनापछि महिला पत्रकारहरुको उत्साहपूर्ण सहभागिता बढेको छ ।
२०६४ को पहिलो अधिवेशनबाट बिष्णु शर्मा, २०६७ पुस्कर थापा, २०७० मा नमन शाहीको नेतृत्वमा नेपाल पत्रकार महासंघको संस्थागत प्रतिनिधित्व गरे । २०७३ मा भएको पछिल्लो अधिवेशनबाट हालसम्म चक्र केसी अध्यक्ष छन् । तदर्थ समितिहरुको प्रयास, औपचारिक स्वीकृति पाएको र पछिल्ला समिति केही तात्विक अन्तर होला तर, स्थापनाको प्रयास ओझेलमा राखिनुहुदैन । त्यो न्यायोचित हुदैन ।
नेपाल पत्रकार महासंघको साधारण सदस्यहरु १ सय २ जना पुगे पनि व्यवसायिक पत्रकारितामा चाहिं ३०–३५ जनाकै हालीमुहाली छ । क्रियाशिल पत्रकारहरुले सदस्यता पाउन सकेका छैनन्, पत्रकारिताबाट पलायन भएकाहरुको सदस्यता खारेज गर्ने र क्रियाशिललाई नयाँ सदस्यता दिइनुपर्दछ । साथै संख्यात्मक भन्दा पनि गुणात्मक पत्रकार र खोजमुलक पत्रकारिताको जरूरी हुन्छ । यसो हुन सके भोलीको पत्रकारिताले व्यवसायीक मर्म र हाम्रो कर्मलाई ईतिहास बनाउने छ । सवैको जय होस् । (लेखकः सेतोखरीका कार्यकारी सम्पादक हुन् ।)