पत्रकार महासंघले नियुक्त गर्यो स्वास्थ्य परामर्शदाता, संक्रमित पत्रकारकै घरमा उपचार

बाँकेका पत्रकारका लागि अक्सिजन तयारी अवस्थामा राखिएकोछ : अध्यक्ष भण्डारी


पत्रकार महासंघले नियुक्त गर्यो स्वास्थ्य परामर्शदाता, संक्रमित पत्रकारकै घरमा उपचार

नेपालगन्ज २७ वैशाख : नेपाल पत्रकार महासंघ बाँकेले पत्रकारहरूलाई स्वास्थ्य सहजीकरणका लागि एकजना चिकित्सकलाई परामर्शदातका रुपमा नियुक्त गरेको छ ।

नेपालगन्जमा २ हजारभन्दा बढी कोरोना संक्रमितको उपचार गरिसकेका फिजिसियन तथा फोक्सो रोग विशेषज्ञ डाक्टर सुभाष योगीलाई परामर्शदाताका रुपमा नियुक्त्त गरिएको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताए ।

उनका अनुसार डाक्टर योगीले संक्रमित भएका पत्रकारहरूलाई घरमै पुगेर स्वास्थ्य परामर्श तथा उपचार सेवा पनि दिनेछन् । करार अवधिभरि निःशुल्क सेवा दिनेछन् ।
सोमबार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र डाक्टर योगीबीच उक्त विषयमा सम्झौता भएको हो ।

सम्झौता अनुसार डाक्टर योगीले पत्रकारहरुलाई निःशुल्क परामर्श दिनेछन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहरले चारैतिर आक्रान्त पारेको छ । कोरोनाबाट नेपालमै बाँके जिल्ला बढी प्रभावित बनिरहेको छ । यसै परिप्रेक्षलाई मध्यनजर गर्दै आफ्ना पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्नु पत्रकार महासंघ बाँकेले आफ्नो जिम्मेवारी र कर्तव्य ठानेकोे अध्यक्ष भण्डारीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सोही जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकार महासंघ बाँकेले नेपालगन्ज मेडिकल कलेजका फिजिसियन÷फोक्सो रोग बिशेषज्ञ डाक्टर योगीलाई कोरोना अवधिभर निःशुल्क परामर्शदाता नियुक्त गरेको हो । कोही पत्रकार कोरोना लागेर बिरामी भएमा महासंघद्वारा डाक्टर योगीलाई साथमा लिएर घरमै गइ स्वास्थ्य चेकजाँच गराइने छ ।

२ हजार भन्दा बढी कोरोनाका बिरामीको उपचार गरिसकेका डाक्टर योगीले औषधी उपचार तथा विभिन्न जाँचहरु गराउनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिए अस्पताल भर्नाको लागि रिफर गर्नेछन् । महासंघ बाँकेले उक्त कार्यका लागि डाक्टर योगीलाई धन्यवाद व्यक्त समेत गरेको छ ।

कोरोना संक्रमण कसैलाई नहोस् भन्ने कामना गर्दै महासंघले यदि संक्रमण भएमा अस्पतालमा उपचार गराउन महासंघ लागि पर्ने सबैलाई विश्वस्त हुन अनुरोध गरेको छ । कोरोना बिरामीलाई अक्सिजन अत्यावश्यक पर्ने भएकोले महासंघ बाँके शाखाले जिल्लाका पत्रकारको लागि अक्सिजन तयारी अवस्थामा राखेको जनाएको छ ।

तसर्थ उपचारमा सहयोग पु¥याउन महासंघले कुनै कसर बाँकी नराख्ने महासंघको भनाई छ । महासंघले महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपील गरेको छ ।

आइसोलेसन स्थापना गर्ने बारे महासंघले पहिलेनै योजना बनाएको भएपनि भेरी अस्पतालका चिकित्सक, जिल्ला प्रशासन कार्यालय सबैसँग सल्लाह र सुझाव लिँदा अक्सिजन सहितको आइसोलेसनमा चिकित्सकको निगरानी हुनु पर्ने नत्र संभव नहुने भएकाले प्राविधिक कारणले महासंघले आइसोलेसन नबनाएको स्पष्ट पारेको छ ।

साथै, महासंघ कोरोना सक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पीसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाका व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ ।