बर्दिया २८ वैशाख : बर्दियाका एक कोरोना संक्रमितको डिस्चार्ज भएकै दिन मृत्यु भएकोछ ।
कोरोना संक्रमित भइ भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दिया राजापुर नगरपालिका–४ का ५५ वर्षिय पुरुषको डिस्चार्ज भएकै दिन मृत्यु भएको हो ।
बर्दियाको राजापुर नगरपालिका– ४ का ती ५५ वर्षिय पुरुष भेरी अस्पतालबाट २७ गते होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज भएका थिए । सोहि दिन राती ती पुरुषको मृत्यु भएको हो ।
आफ्नै घरमा होम आइसोलेसनमा रहेकै बेला एक्कासी बेहोस हुँदा उपचारको लागी लैजाँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा ती पुरुषको रिर्पोट पोजेटिभ पाइएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपालगन्ज भेरी अस्पतालमा वैशाख २१ गते भर्ना गरिएको थियो ।
कोरोना भाइरस संक्रमणका कारण यतिबेला रेड जोनमा परेको बर्दियामा २ हजार ४२ जना कोभिड संक्रमित मध्ये ६ सय १७ जना निको भएका छन् । जसमध्ये ३६ जनाको मृत्यु भएको छ ।
एक हजार २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् । भने एक हजार ३ सय ८९ जना सक्रिय विरामी रहेका छन् । यस्तै बर्दियाका विभिन्न अस्पतालमा एक सय ९ जना संक्रमितको उपचार भैरहेको छ ।