नेपालगन्ज २९ वैशाख : नेपालगन्जको सडकमै रेमडिसिभरको अवैध कारोबार भइरहेकोछ । सडकमा रेमिडसरभरको अवैध कारोबार गर्दागर्दै प्रहरीले दुईजनालाई रगेँहात पक्राउ गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का २३ वर्षिय मोहम्मद जावेद अन्सारी र नेपालगन्ज– ११ विपी चोकका २५ वर्षिय हारुन अंशु नामक दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज वडा नम्बर– ११ सृष्टि हल नजिक सडकमै अवैधरुपमा रेमडिसिभरको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।
कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभरको ती दुई युवाले प्रति रेमडिसिभर २५ हजारका दरले दुई थानको ५० हजार रुपैयाँमा विक्री गर्दैगर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले सेतोखरीलाई जानकारी दिएको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा गएको प्रहरीले नेपालगन्जको सृष्टि हल नजिकबाट बुधबार दिउँसो उनीहरुलाई रङ्गे हात पक्राउ गरेको थियो ।
पक्राउ परेका ती दुई युवालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेका ब्यक्तिले उक्त रेमडिसिभर कहाँबाट कसरी ल्याएका हुन् । हालसम्म कति बेचे ? लगायतको पाटोमा अनुसन्धान अघि बढाएको छ ।