बाँकेमा १७ खेल हुदै
नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कतिपय खेलको बुधबारदेखि प्रतिस्पर्धा शुरू भएको छ । बैशाख पाँचदेखि औपचारिक खेलको उद्घाटन हुने भएपनि केही खेलको बुधबारदेखि अनौपचारिक शुरूवात भएको आयोजकले बताएका छन् ।
प्रतियोगिताका लागि दशेका विभिन्न जिल्लाबाट खेलाडीहरू नेपालगन्ज आइरहेका छन् । यसले यहाँका होटल भरिभराउ छन् । खेलकुदकै कारण यहाँको होटलमा खेलाडीको भीडभाड बढेको छ । भिआइपी प्याराफिट निर्माणसँगै रंगशाला व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश पाँचका संयोजक भीम ओलीले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ५ बैशाखमा उद्घाटन गर्ने प्रतियोगिताको समापन ११ बैशाखमा प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको ओलीले बताए । यसैबीच प्याराग्लाइडिङतर्फ कुल ५५ जना खेलाडीको सहभागिता रहने भएको छ । आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख ६ गते बाट शुरु हुने संयोजक ओलीले बताए ।
आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह बैशाख ५ गते हुने भएपनि चैत्र २७ देखि नेपालको राष्ट्रिय खेलकुदको इतिहासमानै पहिलो पटक प्याराग्लाइडिङ खेल हुने भएको उनी बताउँछन् । कुल ६ वटा स्वर्ण पदकका लागि विभागिय टोली नेपाली सेना र प्रदेशका तर्फ बाट ४६ पुरुष र ९ महिला खेलाडी भिड्ने छन् । प्याराग्लाइडिङतर्फ दुई वटा विधा क्रश कन्ट्री र एक्यूरेसी गरि प्रतियोगिता संचालन हुनेछ । जसमा पुरुष खेलाडी तर्फको एक्यूरेसीमा टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसी र क्रश कन्ट्री तर्फ टिम क्रश कन्ट्रि र इन्डिभिजुअल क्रश कन्ट्री संचालन हुने छ । यता महिलातर्फ भने इन्डिभिजुअल क्रश कन्ट्री र ईन्डिभिजुअल एक्यूरेसीमा खेलाडी भिड्ने छन् ।
प्याराग्लाइडिङमा प्रदेश नं १ बाट ९ जना, प्रदेश ३ बाट ११ जना, गण्डकी प्रदेश बाट १३ जना, प्रदेश ६ बाट ४ जना र प्रदेश ७ बाट ४ जना रहेका छन । विभागिय टोली नेपाल आर्मी बाट १४ जना रहेका छन् । प्रदेश २ र ५ बाट प्याराग्लाइडिङमा कुनै पनि खेलाडी मैदानमा छैनन् ।
यस पटक प्याराग्लाइडिङ प्रतिष्पर्धामा विभागिय टोली आर्मीले पुरुष तर्फ १० र महिला ४ गरि १४ जनाको टिम तयार गरेको छ । आर्मीबाट प्रतिष्पर्धामा रहेका पुरुष २ जना खेलाडी भने १८ औं एशियाडमा रजत पदक विजेता खेलाडी रहेका छन् । एशियाड रजत पदक विजेता विशाल थापा र विजय गौतम भने आर्मीबाट प्रतिष्पर्धामा उत्रने भएका हुन ।
बाँकेमा १७ खेल हुदै
प्रतियोगिता अन्र्तगत बाँकेमा विभिन्न १७ वटा प्रतियोगिता हुने भएको छ । बाँकेको नेपालगन्ज, कोहलपुर खजुरा गाँउपालिका लगायतका क्षेत्रमा उक्त प्रतियोगिता हुनेछ ।
प्रतियोगिता अन्तरगत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । त्यस्तै दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ भने बर्दियामा कबड्ी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुने प्रदेश अध्यक्ष ओलीले बताए ।