संयमित भएर काम गरौं, अरुलाई पनि काम गर्न दिऔं : मेयर राणा


संयमित भएर काम गरौं, अरुलाई पनि काम गर्न दिऔं : मेयर राणा

नेपालगन्ज २ जेठ : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले नगरबासीलाई संयमित भइदिन आग्रह गरेकाछन् ।

कोभिड–१९ रोकथाम र नियन्त्रणमा नेपालगन्जले गरेका मुख्य प्रयासहरुका बारेमा जानकारी दिन आईतबार नेपालगन्जमा गरिएको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा संक्रमितको उपचारमा अहोरात्र खटिरहेका मेयर राणाले कोरोना संक्रमण र उपचारका विषयमा अतिरञ्जित पार्ने सूचनाहरु बाहिरीएको भन्दै त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले ग्रसित नेपालगन्जमा यतिबेला संक्रमण न्यूनिकरण र संक्रमितको उपचारका विषयमा नानाथरिका अतिरञ्जित सूचनाहरु फैलिएको भन्दै यसतर्फ उनले चासो र चिन्ता ब्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

‘म नगरबासी सबैमा अनुरोध गर्न चाहान्छु । यो बेला सबैजना संयमित भएर काम गरौं, अरुलाई पनि काम गर्ने वातावरण बनाऔं’ मेयर राणाले भने –हामी कोरोना महामारीको युद्ध भूमिमा छौं । पछि लेखाजोखा गरौं, आलोचना गरौं ।’

नेपालगन्ज उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्यप्रति चिन्ता ब्यक्त गर्दै चालिएको कदमले उपलब्धि हाँसिल भइरहेको भन्दै मेयर राणाले भने–‘विकसित मुलुक अमेरिका र ईटली जस्तो देशमा सडकमै संक्रमित मरे, त्यहाँको स्वास्थ्य प्रणालीले समेत प्रभावकारी काम गर्न नसकिरहेको अवस्थामा अल्पविकसित देशको नेपालगन्जमा सडकमै संक्रमित मर्ने अवस्था आउन दिएका छैनौं ।’

पछिल्ला केही दिनमा उपमहानगरपालिकासंगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, जिल्ला प्रशासन कार्याल, सुरक्षा निकाय, स्वास्थ्यकर्मी लगायत सबैको अथक प्रयासबाट कोरोना संक्रमणको अवस्थामा केही सुधार हुँदै आएकोछ । यद्यपी यतिले मात्र नपुग्ने भन्दै कोरोनाको चेन तोड्न सबैको एक्यबद्धता र साथ अपिहार्य रहेको मेयर रानाले बताए ।

यसैबीच, नेपालगन्ज उप–महानगरपालिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको जनाएको छ ।

पत्रकार भेटघाटमा नगर प्रमुख डाक्टर राणाले नयसपटक नगरबासीको स्वास्थ्य उपचार र सेवामा बढि ध्यान दिइएको भन्दै उपमहानगरपालिका नगरबासीको स्वास्थ्यप्रति कटिबद्ध रहेको बताए ।

उनले जिल्लाभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजिकरण गरिरहेको जानकारी दिदैं आगामी दिनमा पनि कोभिड–१९ नियन्त्रण र रोकथामका लागि प्रभावकारी कार्यक्रम ल्याएर अघि बढ्ने योजना बनाएको जानकारी दिए ।

उनले भने –‘कोभिड विरुद्ध लड्न सबै पक्षबीच सहकार्य हुन जरुरी छ । नगरभित्र सञ्चालित आईसोलेसनले अस्पताललाई सहयोग पु¥याएकोछ ।’

उप–प्रमुख उमा थापा मगरले कोभिड–१९ रोकथाम नियन्त्रणका लागि नेपालगन्जले सक्दो प्रयास जारी राखेको भन्दै नेपालगन्जले गरिरहेका कार्यक्रमबारे जानकारी गराइन् ।

उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले नेपालगन्ज उपमहानगरपालिकासँगै वडास्तरबाट पनि प्रभावकारी कार्यक्रम भइरहेको भन्दै नगरबासीले जनप्रतिनिधीसंग सहकार्य गर्न आग्रह गरे ।

पत्रकार भेटघाटमा वडा नम्बर –२ का वडाध्यक्ष सुनील सिंह हमाल, वडा नम्बर– १८ का वडाध्यक्ष दीपक वर्मा, नगर स्वास्थ्य प्रमुख रामबहादुर चन्द लगाएको सहभागिता रहेको थियो ।