सामाजिक सञ्जाल र मानव तस्करी


सामाजिक सञ्जाल र मानव तस्करी

सुमन शर्मा


भारत लगायतका खाडी मुलुकमा मानव तस्करी बढ्दै गएको छ । सरकारले यसको रोकथामका लागि सीमा नाकामा विभिन्न खालका कार्यक्रम गर्दै आएपनि ती कार्यक्रमको प्रभावकारीता खासै देखिदैन् । पछिल्लो समय सामाजिक सञ्जाल इमोलाई मानव तस्करहरुले सजिलो माध्यम बनाउँदै आएको एक अध्ययनले देखाएको छ ।
मानव तस्करीमा सामाजिक सञ्जालको प्रयोग भईरहेको छ । माईती नेपालले मात्रै एक वर्षको अवधीमा श्रम तथा यौन शोषणमा परेका ८२ जना महिलाको उद्धार गरेको छ । तीमध्ये ४० जनाभन्दा बढी इमोको माध्यमबाट दलालको जालमा फसेका छन् । सीमाबाट उद्धार गरिएका ९ सय १८ जनामध्ये अधिकांश इमोको सम्पर्कमा आएका छन् । भारतीय बाटो हुँदै खाडी देश रोजगारीका लागि लगिदिने भन्दै इमोको सम्पर्कमा महिलाहरु पुग्ने गरेका छन् । हराउनेमा बालक भन्दा १८ बर्ष मुनीका बालिका धेरै रहेका छन् । माइती नेपालमा १८ वर्ष मुनिका बालिका हराएको भन्दै खोजतलासका लागि तीन सय ३२ वटा निवेदन दर्ता भएको छ ।

त्यस्तै बालक हराएको एक सय २८ र १८ बर्ष माथिका हराएको चार सय १५ वटा निवेदन परेको थियो । सन २००२ देखि २०१८ सम्म पाँच हजार १ सय ९३ जना हराएको भन्दै खोजतलासको निवेदन परेकोमा ७ सय ५९जना फेला परेका छन् । यस अवधिमा श्रम तथा यौन शोषणमा परेका ३ सय २५ जनाको उद्धार गरिएको छ । जोखिमपूर्ण यात्रामा रहेका ६ हजार ४ सय ४२ जनालाई सीमाबाट उद्धार गरिएको छ । तीन हजार ५१३ जनालाई परामर्श दिई सीमाबाट घर फिर्ता पठाइएको छ । जोखिमपूर्ण यात्रा गर्नेमा सबैभन्दा बढी २ सय १० जना बाँकेका, सुर्खेतका १ सय १०, दाङका १ सय १९ र बर्दियाका ९७ जना रहेका छन् ।

त्यस्तै प्रदेश नम्बर पाँच, कर्णाली र सुदुरपश्चिम क्षेत्रका अन्य जिल्लाका महिला, युवती र बालिका रहेका छन् । मानव बेचविखन र सुरक्षित बसाईसराईबारे जानकारी दिई पारिवारिक मिलन गराइएको संख्या ९ सय १८ रहेको तथ्यांक छ । तथ्याकं हेर्दा मानव तस्करीको अवस्था भयावह छ । यसैले यसको न्यूनिकरण र रोकथाममा सबै एकजुट हुन आबश्यक देखिन्छ । मनोरञ्जन उद्योग अर्थात डान्स बार, मसाज पार्लर, क्याबिन रेष्टुरामा काम लगाइदिने बाहनामा बेचबिखन र ओसारपसार भएको छ । काठमाडौं, पोखरा, नेपालगन्ज लगायतमा रहेका मनोरञ्जन उद्योगहरुमा उल्लेख्य संख्यामा श्रमिक महिलाहरु कार्यरत रहेको र उनीहरु आर्थिक रुपले ठगिएका र बेचबिखन तथा ओसारपसारको जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगले उल्लेख गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj


‘उनीहरु आर्थिक रुपले ठगिएका, यौन दुव्र्यबहार, शोषण र बेचविखन तथा ओसारपसारको जोखिममा रहेको पाइएको छ’ आयोगले भनेको छ ‘यो क्षेत्र ग्रामीण महिलाहरुको गन्तब्यको रुपमा र अन्तरदेशीय बेचविखनको बिशेष गरी खाडी मुलुकमा हुने बेचबिखनको स्रोतको रुपमा देखिएको छ ।’ दक्षिण कोरिया र चीनमा विवाहको बाहनामा पनि धेरै नेपाली महिलाहरु बेचबिखनमा पर्ने गरेका छन् । दक्षिण कोरियाका नागरिकसँग बिवाह
गरेमा त्यहाँ आकर्षक आम्दानी हुने जागिर पाइने प्रलोभन देखाइ यस्तो धन्दा बढेको छ । आयोगले यस्तो प्रवृत्ति सन् २००५ यता निकै बढेको जनाएको छ ।


सन् २००५ देखि २०१३ सम्म एक हजार जना विवाह गरेर कोरिया पुगेको आयोगले उल्लेख गरेको छ । जसमध्ये ३०० जनामात्र खुशी रहेको र बाँकीले दासतापूर्वक बस्नुपरेको उल्लेख गरिएको छ । पछिल्ला केही वर्षदेखि भने चीनका युवकहरुसँग नेपाली युवती विहे गराउने क्रम पनि बढेको छ । नेपालमा विवाह गराइदिने एजेन्सी ८३ वटा रहेका छन् । आयोगले धर्मपुत्र र पुत्री बनाएर पनि नेपालबाट मानव ओसारपसार भएको देखिएको बताएको छ । सामन्यतया धर्मपुत्र वा पुत्रीको सम्बन्ध कायम गर्नुलाई ओसापसारसँग जोडिँदैन । तर आयोगले धर्मपुत्र पुत्री ग्रहण र बेचबखिनबीच सम्बन्ध देखिएको उल्लेख गरेको छ । अघिल्ला वर्षहरुमा यो संख्या करिब ५० को हाराहारीमा रहेपनि अहिले सरकारले कडा शर्त ल्याएका कारण केही कम भएको आयोगले उल्लेख गरेको छ ।


त्यस्तै सेरोगेसी मदर अर्थात आमाको कोख भाडामा लिने प्रचलन नेपालमै देखिएका कारण धर्मपुत्र र पुत्री ग्रहणको क्रम घटेको हुनसक्ने आयोगले उल्लेख गरेको छ । २०७२ बैशाख १२ को भूकम्पपछि धेरै नेपालीहरु घरबारबिहीन भए । धेरैको आम्दानीको श्रोत टुट्यो भने पहिलेकै जीवनस्तरमा फर्किन अतिरिक्त आम्दानी गर्नुपर्ने अवस्था सिर्जना भयो। यो अवस्थालाई गिरोहहरुले मानव बेचबिखनको मौकाको रुपमा लिएका छन् । भूकम्पको तीन महिनाको अवधीमा १२३३ जना महिला र बालबालिकाहरु हराएका प्रहरीको अभिलेखमा उल्लेख छ । उनीहरु बेचबिखनमा परेको हुनसक्ने आयोगको अनुमान छ । आयोगका अनुसार भूकम्पपछि बेचविखन तथा ओसारपसारको क्रम १५ देखि २० प्रतिशतले बढेको छ । भूकम्पपछि गरिबी बढेको, शैक्षिक संस्थाहरु भत्किएको फाइदा बेचबिखनमा संलग्न गिरोहहरुले उठाइरहेका छन् । बढ्दो गरिबी र रोजगारीको वातावरण सिर्जना नहुनु र बालबालिकाको स्कुल जाने संख्या कमी भएका कारण बेचबिखनको जोखिम बढेको आयोगले उल्लेख गरेको छ । हराइरहेको बालबालिकालाई बेचबिखनसँग जोडिँदैन तर, बालबालिका हराउनु र बेचबिखचको सम्बन्ध देखिएको आयोगले उल्लेख गरेको छ । आर्थिक वर्ष २०७०÷२०७१ मा ८ सय ३७ र २०७१÷२०७२ मा ७ सय ८६ जना बालबालिका हराएका बालबालिका खोजतलास केन्द्रमा अभिलेख छ । जसको ५६ प्रतिशत बालिका र ३१ प्रतिशत बालकहरु अझै फेला पर्न सकेका छैनन् ।


महिला तथा बालबालिका सेवा निर्देशनालयमा २०७०÷२०७१ मा ५ हजार एक सय ६८ जना मानिस हराएको अभिलेख छ । जसमध्ये ७५ प्रतिशत महिला र ४० प्रतिशत बालिकाहरु रहेका छन् । आयोगले हराएका बालबालिका र महिलाहरु नभेटिनुलाई बेचबिखन भएको हुनसक्ने आँकलन गरेको छ । बैदेशिक रोजगारीका नाममा मानव बेचविखन हुने आधार र प्रमाणहरु भेटिएकाले बाँकेमा पनि माईती नेपालले यसमा निगरानी र अनुगमन प्रभावकारी बनाउँन जरूरी छ । वैदेशिक रोजगारीका नाममा बेचबिखनमा परेकाहरुको उद्दार, स्वदेश फिर्ति जस्ता कार्यहरु पनि प्रभावकारी हुन सकेका छैनन् । सामाजिक सञ्जालको दुरूपयोग पनि बढेको देखिन्छ । यसैका कारण पनि थुप्रै महिलाहरू प्रलोभनमा परी बेचविखनमा पर्ने गरेका छन् । यसतर्फ गैरसरकारी भन्दा पनि सरकारी निकायबाट बढी निगरानी हुन आबश्यक रहेको छ । सामाजिक सञ्जालको मात्रै उचित र सहि सदुपयोग गर्न सके मानव तस्करी कम हुनेछ । यसका लागि आमनागरिकमा सामाजिक सञ्जाल प्रयोग र त्यसबाट पर्ने असर तथा फाईदा बेफाईदाका बारे सम्बन्धीत निकायले सचेतना जगाउनै पर्छ ।