१० दिनमै ‘अक्सिजन बैंक’मा जम्मा भयो १५ लाख


१० दिनमै ‘अक्सिजन बैंक’मा जम्मा भयो १५ लाख

बर्दिया(गुलरिया) ४ जेठ : बर्दियामा स्थापना गरिएको अक्सिजन बैंकका लागी आर्थिक सहयोग जुट्न शुरु भएको छ । अक्सिजन संकलनका लागि स्थापना गरिएको अक्सिजन बैंकका लागि स्थापना भएको १० दिनमै १५ लाख रकम जम्मा भइसकेको छ ।

उद्योगी, समाजसेवी, संघसंस्था लगायत सरोकारवाला निकायको समन्वनयमा स्थापना गरिएको अक्सिजन बैकमा देश तथा विदेशबाट सहयोग आउन शुरु भएको हो ।
बर्दियामा स्थापना गरिएको अक्सिजन बैंकका लागी विभिन्न व्यक्ति तथा निकायबाट आर्थिक सहयोग जुट्न थालेको छ ।

स्वदेश तथा विदेशमा रहेका बर्दियाका नागरिकहरु जिल्लामा देखिएको अक्सिजन अभावबाट मृत्युवरण गर्न नपरोस भनि आर्थिक सहयोग पठाउन थालेका हुन् ।

१४ वटा खाली अक्सिजन सिलिन्डरहरु जम्मा गरि सुरुवात गरिएको कार्यमा हाल सम्म करिब ७० वटा सिलिन्डर अक्सिजन विभिन्न स्थानीय निकायको सिफारिस र जिल्लो विपद् व्यवस्थापन समितिको समन्वयमा कोरोना अस्पतालमा पु¥याइएको अक्सिजन बैंक समन्वय समिती बर्दियाका संयोजक भेषराज पौडेलले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला विपद् व्यवस्थापन समिती बर्दियाको समन्वयमा सञ्चालित अक्सिजन बैंकले बर्दिया जिल्लाका कुनै पनि कोरोना अस्पताल र बर्दिया जिल्ला अस्पतालमा अक्सिजन कमी हुन नदिन यो समितिको उद्देश्य रहेको समेत पौडेलले बताए ।

यस समितिमा रहेको खाली अक्सिजन सिलिन्डरमा बाँके जिल्लामा अक्सिजन भरेर ल्याउने क्रम जारी राखिएको छ भने जिल्लाका कोरोना अस्पतालको सिफारिस अक्सिजन सिलिन्डर पुर्याउने गरिएको छ ।

यो समिति सञ्चालन आएदेखि हाल अक्सिजनको अभावले कुनैपनि विरामी बर्दियामा मृत्युवरण गर्न नपरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।

बर्दियाका उद्योगी, व्यवसायिले गरेको यो कार्यलाई नागरिकले समेत सरहना समेत गरेका छन् । सरकारले गर्नु पर्ने काम यो समितिले गरेको काम एक दमै उदाहरणीय रहेको र अब अक्सिजनको अभावलाई दीर्घकालिन समाधान गर्नुपर्ने अक्सिजन बैंकलाई सहयोग गर्ने मध्यका एक सुभाष पोखरेलले बताउँछन् । यस्तो सामाजिक गर्ने सम्पुर्ण समितिलाई बर्दियाका जनताले आत्मिय रुपमा सम्मान गरिरहेको पोखरेलले भने ।

बर्दिया अक्सिजन बैंकले जिल्लामा अपुग अक्सिजन प्रदान गरेर एकदमै उदाहरणीय काम गरेकोले सम्पूर्ण समिति सम्मानको लायक रहेको बर्दिया जिल्ला अस्पतालका बरिष्ठ मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सुभाष पाण्डे बताउँछन् । बर्दियामा अक्सिजन कमि हुन नदिन गरिएको यो सामाजिक कार्यलाई सबैले मिलेर सहयोग गर्नु पर्ने समेत पाण्डेको भनाईछ ।

पाण्डेले बर्दिया जिल्लामा कोभिड–१९ विरामीका लागी कम्तिमा दैनिक २५ वटा सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन प्लान्ट जडान गर्न सके अक्सिजनको अभाव निर्मुल हुने बताए ।

पछिल्लो समय बर्दिया जिल्लामा कोरोनाका संक्रमितहरु बढ्दै गएपछि समुदाय स्तरमा व्यापक जाँच गरिनुपर्ने आवाज उठिरहेकोछ । बर्दियामा चैत्र अन्तिम सातादेखि आज(मङ्गलबार) सम्म निको हुन बाँकी १५ सय २० रहेका छन् भने आज सम्म मृत्यु भएकाको संख्या ६३ पुगेको छ ।