नेपालगन्ज ५ जेठ : पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ ।
गोली लागेर गम्भीर घाइते भएका प्रतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ वर्षीय अविनाश राजभरको उपचारका लागि बुटवल लैजादै गर्दा उनको मृत्यु भएको हो ।
सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा लागेको थियो ।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (बनकट्टी) मा आएको भीड नियन्त्रण गर्न गोली चलाइएको प्रहरीको दावी छ । गोलीबाट घाइते भएपछि ती युवालाई स्थानीय सहिद स्मृति अस्पताल चौपातामा भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल स्थित लुम्बिनी सिटि हस्पिटल पठाइएको थियो ।
शुरूमा ५/७ जनाको समूहमा आएकालाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले अरु साथी ल्याएका थिए । स्थानीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ ।
ठूलो समूहमा आएका गाउँलेले प्रहरीमाथि ढुंगामुढा गरको र भीड नियन्त्रण गर्न गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर–२६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताएकाछन् ।
भीडलाई नियन्त्रण गर्न अश्रु ग्याँस प्रहार गरिए पनि नियनत्रणमा लिन नसकेपछि बाध्य भएर एक राउण्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको दावी छ ।
स्थानीयको आक्रमणबाट नाकाको सुरक्षार्थ खटिएका सशस्त्र नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तो थियो घटना
आज विहान साढे ९ बजेको समयमा प्रतापपुर गाउँपापालिका वडा– ६ कठहवाँका २ जना युवाहरु भारत जान खोज्दा सीमामा खटिएको शसस्त्र प्रहरीले रोकेको थियो । भारत जान नपाएपछि ती दुईजना युवाहरु भनाभन गर्दै फर्कि गाउँबाट ५०/६० जनालाई जुटाई शसस्त्र प्रहरी र अस्थायी पोष्ट माथि ढुंगामुढा गरि झडप गरेका थिए ।
स्थानीय र शसस्त्र प्रहरी बिचको झडप अनियन्त्रित भएपछि शसस्त्र प्रहरीले भिड तितरबितर गर्न २ राउण्ड हवाई फायर गरेको थियो जसमध्ये एक गोली मृतक राजभरको खुट्टामा लागेको सशस्त्र प्रहरी बल नम्बर २६ गण हेडक्वार्टरले जनाएकोछ ।
उक्त झडपमा परि सशस्त्र प्रहरीतर्फ पनि ६ जना घाइते भएकाछन् । जसमध्ये शसस्त्र प्रहरी नायब निरीक्षक शंकर बुढाथोकीको टाउकामा गम्भीर चोट लागेको छ । कोभिड–१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले सीमा बन्द गरेको छ । तर, पनि सीमावर्ती क्षेत्रका केहि स्थानीयले आवतजावतको प्रयास गर्दै आएका छन् ।