नेपालगन्ज : नयाँ वर्षको आगमनसँगै राष्ट्रिय झण्डा दिवस नेपालगन्ज लगायत देशभरका विभिन्न स्थानमा मनाइएको छ । पछिल्लो केही वर्षदेखि नयाँ वर्ष अर्थात वैशाख १ लाई झण्डा दिवसको रुपमा मनाउन थालिएको हो ।
राष्ट्रिय झण्डाले देशको राष्ट्रियतालाई एकताको शुत्रमा बाँधेकोे विभिन्न क्षेत्र सम्वद्धले जोड दिएका छन् । आम नागरिकले झण्डाप्रति अपनत्व गर्ने वातावरण तयार गर्नुपर्ने उनीहरुको माग छ ।
नयाँ वर्ष २०७६ का अवसरमा अन्तरालले स्थानीय नेपालगन्ज विपी चोकमा आयोजना गरेको चौथो झण्डा उत्सव कार्यक्रममा वक्ताहरुले नेपालीलाई झण्डाले एकताबद्ध गरी विश्व मानचित्रमा नेपालको पहिचान स्थापित गरेको बताए ।
सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले नेपाली राष्ट्रिय झण्डाको पहिचान छुट्टै भएको बताए । उनले भने ‘चन्द्र र सुर्य अंकित हाम्रो राष्ट्रिय झण्डा विश्वको कुनैपनि देशको झण्डासँग मिल्दैन,’ उनले भने ‘यो अभियानलाई सवैले ससम्मान अगाडी बढाउनुपर्छ ।’
यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले हाम्रो पहिचान नै राष्ट्रिय झण्डा भएकाले यसलाई दिवसका रुपमा मनाउन थालिएको प्रति खुसी ब्यक्त गर्दै यो अभियानलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा उनले नेपाली झण्डा नेपालमा मात्र नभएर विश्वभरी ऐतिहासिक नमुना र राम्रो भएको बताए ।
यस्तै कार्यक्रममा बाँकेका प्रहरी प्रमुख(एसपी) अरुण पौडेलले राष्ट्रिय झण्डाको सम्मान र ईज्जत गर्न सके नेपालीको सम्मान र ईज्जत मात्र होइन प्रतिष्ठामा समेत सकारात्मक भूमिका खेल्ने बताए । उनले आम नेपाली जनजनले राष्ट्रप्रति राष्ट्रभाव झल्काउदै राष्ट्रियको सही सदुपयोग गर्दै यसको मर्यादा कायम राख्न लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आठौं राष्ट्रिय खेलकुद मुल समारोह समितिका संयोजक विनोद मैनालीले राष्ट्रिय झण्डा नेपाल र नेपालीको शान भएकाले आठौं राष्ट्रिय खेलकुदमा यसको प्रतिष्ठा र मर्यादाका साथ प्रयोग गरि झण्डा फहराउने बताए । उनले आम खेलकुद प्रेमी खेलाडी प्रशिक्षक र सर्वसाधरण नागरिकलाई राष्ट्रिय झण्डाको महिमा नविर्सन आग्रह गरे ।
राष्ट्रिय झण्डा दिवसका परिकल्पनकार जयनारायण शाहले दिवसमा सहभागि राजनितिकदल, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा लगायत सवैलाई स्वागत गर्दै दिवस मनाउनुको औचित्यमाथि प्रकाश पारेका थिए । उनले बाँकेसगैं देशका विभिन्न जिल्लामा यो दिवस मनाउन थालिएकोले अब निजि क्षेत्र भन्दा पनि सरकारले नै यसको जिम्मेवारी लिदै राष्ट्रिय झण्डा दिवसलाई प्रत्येक वर्ष मनाउने वातावरण तयार गर्नुपर्ने बताए । २०७३ सालदेखि देशमै पहिलोपक बाँकेबाट झण्डा दिवस मानाउन थालिएको हो ।