कोभिड–१९ का कारण बर्दियामा वेलको जुस उत्पादन घट्यो


कोभिड–१९ का कारण बर्दियामा वेलको जुस उत्पादन घट्यो

बर्दिया २६ जेठ : बर्दियाको खाता जैविक मार्गमा रहेका वेल जुस उद्योग संकटमा परेको छ । कोरोना भाइरस संक्रमणसंगै लगाइएको निषेधाज्ञाका कारण वेल जुस उत्पादन गर्ने उद्योग संकटमा परेका हुन् ।

मधुवन नगरपालिका वडा नम्बर–२ ओराली बजारमा रहेको नव दुर्गा सामुदायिक वेल उद्योगबाट विगत वर्षहरुमा ५० देखि ६० हजार (५ सय एमएल) बोटल जुस उत्पादन हुने गरेको थियो । तर, कोरोना भाइरस संक्रमणका कारण गतको वर्षदेखि उत्पादनमा ह्रास आउनुका साथै उद्योग सञ्चालनमा समस्या थपिर्दै गएकोछ ।

कोभिड– १९ को पहिलो चरणमा ६ हजार बोटल मात्र उत्पादन भएको थियो भने यस वर्ष करिब ८ हजार बोटल मात्र उत्पादन हुन सक्ने उद्योगक सञ्चालक कृष्णबहादुर परियार बताउँछन् ।

२०६२ सालमा २६ वटा सामुदायिक वनको सात लाख रुपैयाँ लगानी र जैविक कोरिडोर ताल कार्यक्रमबाट ५ लाख रुपैयाँको उपकरण सहयोगबाट उद्योग स्थापना गरिएको थियो ।  उक्त उद्योगबाट प्रत्येक वर्ष १० देखि १७ लाख सम्मको जुस विक्रि हुने गरेको परियारले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

बजारमा वेलको जुुसको माग भएपनि प्राविधिक समस्या कारण बजारको मागलाई धान्न नसकिरहेको अवस्थामा कोरोना भाइरस संक्रमण, निषेधाज्ञा तथा लकडाउनले उद्योग धरासयी हुदैँ गएको उनी बताउँछन् । यसरी उत्पादन गरिएको वेलको जुस बर्दिया, बाँके, कैलाली र काठमाण्डौ लगायत क्षेत्रमा विक्रिवितरण गरिदैँ आएकोछ ।

कोभिडको कारणले लकडाउन भै वेल टिप्नका लागी उपभोक्ताहरु जङ्गगलमा जाने ओसार–पसार गर्ने काम बन्द भएकोछ । गत वर्ष निकै कम मात्र वेल संकलन भएको थियो । भने यस वर्ष पनि जम्मा १ सय क्वीन्टल वेलमात्र संकलन गरिएकाले करिब ८ हजार बोटलसम्म उत्पादन गर्न सकिने प्राविधिक गीता प्रसाद भटराइ बताउँछन् ।

मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्री (कृष्ण) ले नगरपालिका क्षेत्रमा सञ्चालित उद्योगको व्यवस्थापन र संरक्षणको लागी नगरपालिका सधैं लागी परेको बताए । उनले गत वर्ष वेल सर्वत उद्योगलाई केहि आर्थिक सहयोग गरेको बताउदै भने –‘मधुवन नगरपालिकामा रहेको वेल उद्योग बर्दियाकै चिनारीको रुपमा रहेको हुँदा यसको संरक्षण र उद्योग सञ्चालनका लागी आवश्यक सामान लगायत कच्चा पदार्थको व्यवस्थापन गर्नमा सहयोग गरिरहेका छौं ।’

उद्योगको स्तर बृद्धि र व्यवस्थापनका लागी स्थानीय तथा प्रदेश सरकारले चासो राखेर प्राविधिक तथा आर्थिक सहयोग गरेमा बर्दिया जिल्लाको चिनारीको रुपमा परिचित बेल उद्योगलाई अझ व्यवस्थित र दिगो बनाउन सक्ने उद्योगका सञ्चालक कृष्णबहादुर बताउँछन् ।

प्राकृतिक रुपले सामुदायिक वनमा उत्पादित वेललाई टिपेर प्रशोधन गरी उत्पादन गरिएको बेलको जुस आयुर्वेदिक चिकित्सा पद्धतिका अनुसार पेट रोगीका लागी अत्यन्त राम्रो मानिन्छ । उक्त जुसको पारखीहरु जुसको सेवनले स्वास्थ्यलाई धेरै फाइदा दिने गर्छ ।

विशेष गरी पखाला लागेको समयमा र शितलताको लागि यो जुसको सेवन निकै फाइदाजनक मानिन्छ । यसरी उत्पादन गरिएको जुस सुगर सहित र विना सुगरको उत्पादन हुने गरेको छ यो जुस सुगरका विरामीहरुले पनि सेवन गर्न मिल्छ ।

बर्दिया जिल्लाको चिनारीको रुपमा परिचित उक्त जुसको एकमात्रा बरावर ३ भाग शुद्ध पानी मिसाएर सेवन गर्ने गरिन्छ । वेल टिपेर संकलन गर्ने कार्य चैत्र र बैशाख महिनामा हुने भएकाले त्यहि समयमा लकडाउन हुँदा वेल संकलन तथा जुस उत्पादनमा बाधा परेको हो ।