नेपालगन्ज: विश्वब्यापी एउटा मान्यता के छ भने रातो रङ खतराको संकेत हो । यदि तपाई नेपालगन्ज बासी हो वा बाहिरबाट आउनुभएको पाहुना । तपाई त्रिभुवन चोक आसपास घुमफिर गरिरहनुभएको छ भने सावधान ! त्रिभुवन चोकमा बेरिएको रातो कपडाले यस्तै कुराको भान गराँउछ तपाईलाई । यद्यपी नगराओस् पनि किन ।
यतिवेला त्रिभुवन चोक भएर हिडडुल गर्ने जोकोही चोकमा बेरिएर राखिएको बडेमानको रातो कपडा देखेर एकछिन भएपनि अकमकिने गर्छन् । कौतुहुल्ताले नियाल्ने गर्छन् । झुक्किने गर्छन् । मनमा प्रश्न उब्जिन्छ । यो त त्रिभुवन चोक होइन र ? तर, तपाई नझुक्किनुहोला । यो त विद्रूप त्रिभुवन चोकको लाज छोप्न नेपालगन्ज उपमहानगरपालिकाले बेरेको रातो कपडा मात्र हो ।
नेपालगन्ज उपमहानगरपालिकाको मुटु त्रिभुवन चोक गत चैत्र २५ गते सोमबार राती हठात् भत्काइयो । उक्त चोक भत्काइदै गर्दा स्थानीयले चर्काे विरोध गरेपछि अधूरो रहेको त्रिभुवन चोकको संरचना झनै कुरुप बन्यो । हप्तौदिन त्यसै रहेको चोकले नेपालगन्जबासीलाई गिज्याइनै रह्यो । अझ त्रिभुवन चोक भत्काएर के के न गरेको हठ गर्नेहरुलाई त अझबढि ।
त्रिभुवन चोक भत्काएको विषयले अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग व्यापार संघबीच सो विषयलाई लिएर जुहारी मच्चिइरहेको छ । दुवै पक्षले आ–आफ्ना दावि र प्रमाण पेश गरिरहेकाछन् ।
कुरुप देखिएको त्रिभुवन चोकमा अन्ततः केही सिप नलागेपछि अर्थात् २०७६ बैशाख २ गते राती विद्रूप प्रदर्शन भैरहेको संरचनालाई छोपेर लाज बचाउने अठोट गरे स्थानीयले । अग्रज पत्रकार हेमन्त कर्माचार्य, राप्रपाका नेता ओमप्रकाश आजाद र स्थानीय जैपाली धोबी विच सो विषयमा छलफल भयो । तर, हिजो ३ गते मङ्गलबार साँझ उनीहरुले चोकको विद्रूप छोप्ने तयारी गरे । जब उनीहरु चोक ढाकेर नेपालगन्जको लाज छोप्न त्रिभुवन चोक पुगे, एकाएक चकित भए । नहुने पनि कुरै थिएन । किनभने उनीहरुको पूर्व योजनाअनुसार कसैले रातो कपडाले चोक ढाकेका थिए ।
उनीहरु पुग्नु अगावै मंगलबार दिउँसो उपमहानगरपालिकाबाट खटाइएका कर्मचारीले रातो तूलबाट चोक ढाकिदिएका रहेछन् । भत्काइएको त्रिभुवन चोक हप्तौ त्यसै थियो । त्यस विषयमा सम्बद्ध सरोकारवालाले कुनै चासो लिएका थिएनन् । उनीहरुले छलफल पछि तय गरेको अभियान कसले, कसरी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणा समक्ष पु¥याएछन् । र, त्यही कुरालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले भत्काइएको त्रिभुवन चोकलाई रातो कपडाले बेरेर लाज लुकाउने काम गरे । यस विषयमा अग्रज पत्रकार हेमन्त कर्माचार्यले सामाजिक सञ्जाल फेसबुकमा पनि टिप्पणी गर्दै चोकको लज्जावस्त्र व्यवस्थाका लागि उपमहानगरपालिकालाई धन्यवाद समेत दिएका छन् ।
२०६२-०६३ को जनआन्दोलनका क्रममा त्यहाँ रहेको राजा त्रिभुवनको शालिक फोडिएको हो । यसअघि शालिक विना उभिएको चोकको स्तम्भमा स्थानीयको पहलमा राष्ट्रिय झण्डा फहराइएको थियो । देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका कारण पुनः राजाको शालिक सो स्थानमा राख्न कहिकतैबाट पहल भएन । यद्यपी समयसगैं जनआन्दोलनका क्रममा भएको अराजकताको परिणामले सवैलाई दुखाइरहेको थियो । बेलाबखत सो स्थानमा राजा त्रिभुवनको शालिक पुनः राख्न स्थानीय, राप्रपा लगायत विभिन्न राजनितिक दल तथा अगुवाहरुको पहल बारम्बार नभएका भने होइन । यसले चौतर्फी चर्चा पनि बटुलिरहेको थियो ।
यसैबीच नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य नेतृत्वको टोलीले पुरातात्विक र ऐतिहासिक संरचना गत चैत्र २५मा तोडफोड गरेको थियो । उक्त टोलीले विगत ४० वर्ष पुरानो त्रिभुवनको शालिक रहेको त्रिभुवन चोक स्थित संरचना भत्काएर दादागिरी मच्चाएको हो । अध्यक्ष बैश्यको उक्त अनैतिक कार्यप्रति सर्वसाधारणले विरोध पनि जनाए । त्यसबखत उनकै नेतृत्व र मिलेमतोमा त्रिभुवन चोकको संरचना भत्काउँदै गर्दा भेला भएका सर्वसाधारणले संघका अध्यक्ष वैश्य विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
चौतर्फी विवाद र बहसको चर्चा बटुलेपछि आफूले गरेको कार्य सहि प्रमाणित गर्न संघका अध्यक्षले त्रिभुवनको शालिक रहेको संरचना भत्काएर नयाँ स्तम्भ बनाउने र सौन्दर्यकरण गर्ने प्रस्ताव नेपालगन्ज उपमहानगरपालिका समक्ष राखेको र सो कार्य स्वीकृत भइ त्यहीअनुरुप कार्य गरेको बताइरहेकाछन् ।
तर, चोकको सौन्दर्यकरणका लागि अनुमति लिएको भन्दै अध्यक्ष बैश्यले सार्वजनिक सूचना बिना डोजर चलाउदाँ उक्त चोकको महिमा मेटाउने प्रयास भएको स्थानीयबासी बताउँछन् ।
राप्रपा लगायत स्थानीयले पटक–पटक सो स्थानमा राजा त्रिभुवनको मूर्ती स्थापनाका लागि धेरै पहल गरे । देश संघीय गणतन्त्रमा प्रवेश गरेकाले आन्दोलनका नाममा पुराना ऐतिहासिक धरोहरका संरचना फुटाउदाँ ईतिहास मेटाउने दुस्साहास भएको विज्ञहरुको कडा आलोचनाले उनीहरु आलोचित बनेकाछन् ।