नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका औपचारिक उद्घाटन आज बेलुकी भब्य समारोहका विच गरिदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिने सो कार्यक्रमका लागि आयोजकले सम्पूर्ण तयारी पुरा भएको जनाएकोछ ।
रास्ट्रपतिको सुरक्षालाई ध्यानमा राखेर आज दिउँसो देखि नेपालगन्ज रङ्गशाला नेपाली सेनाले नियन्त्रणमा लिने सुरक्षा स्रोतले सेतोखरीलाई जानकारी गराएको । बेलुका ६ बजे हुने नेपालगन्ज रङ्गशालाको औपचारिक उद्घाटनका लागि राष्ट्रिपति आज विहान ११ बजे नेपालगन्ज एरपोर्टमा श्री एरलाइन्सको जहाजबाट आउने खबर छ, यद्यपी आधिकारिक जानकारी भने सुरक्षा स्रोतले बताएन ।
बिहानै नेपालगन्ज आउन लागेका राष्ट्रपतिको सुरक्षालाई मध्यनजर गर्दै नेपालगन्ज सहरमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ । बिहानै आउने राष्ट्रपति भने बेलुका मात्र नेपालगन्ज रङ्गशाला पुग्ने स्रोतले बताएकोछ ।
राष्ट्रपतिको सुरक्षालाई मध्यनजर राख्दै नेपाली सेनाले नेपालगन्ज रङ्गशालामा पास बाहेकको कुनै पनि परिचयपत्रबाट प्रबेस गर्न नदिने जनाएकोछ । यसअघि विभिन्न सुरक्षाफौजका प्रमुख, भिआइपीहरुको नेपालगन्ज उपस्थिती भइसकेकाछन् । नेपालगन्जमा थप अतिविशिष्ट, मन्त्रीहरु आउने क्रम जारी छ ।
यस्तो छ कार्यतालिका
-बिहीबार बेलुका ४–५ वजेसम्म सर्वसाधरण लगायतलाई रङ्गशाला प्रवेश गराइनेछ ।
-साढे ५ बजे रङ्गशालाका सवै ढोकाहरु बन्द गरिनेछ ।
-५ः४५मा राष्ट्रपतिको नेपालगन्ज रङ्गशालामा प्रवेश हुनेछ ।
-६ बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाको संगित धुन बजाइनेछ । सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण हुनेछ ।
-६ः३० मा राष्ट्रपतिको आशन ग्रहण सहित विभिन्न मार्चपास गरिनेछ ।
-७ बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वारा स्वागत मन्तब्य राखिनेछ ।
-७ः१५ मा ओलम्पियन सुरेन्द्र हमालद्वारा ओलम्पिक टर्च बालिनेछ ।
सोही क्रममा उपस्थित विभिन्न स्कुलका विद्यार्थी, खेलाडी, सुरक्षाकर्मी लगायतले आफ्ना सांगेतिक गतिविधि गर्नेछ ।
-करिब ९ बजे सम्म हुने कार्यक्रमको अन्त्यमा नेपालको राष्ट्रिय खेलकुद ईतिहासमै पहिलो पटक गरिन लागेको आतिशबाजी गराई दर्शक उपस्थित अतिथीहरुलाई मनोरञ्जन प्रदान गरिने पूर्व योजना रहेको राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।