नेपालगन्ज : कारोबारमा मन्दी आएसँगै नेपालगन्जको गोदाममा लाखौं मूल्यको बहुमुल्य जडिबुटी त्यसै थन्किएको छ ।
भारतले सुचिकृत भन्दा अन्य जडिबुटी आयातमा रोक लगाएपछि नेपालगन्जमा राखिएको जडिबुटीको कारोबार भारतीय बजारमा मन्दी भएको हो । यसले लाखौंको जडिबुटी नेपालगन्जमै थन्किएको छ । एक महिनायता रुपैडियास्थित भारतीय कस्टमले सुचिकृत भएका भन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएको जडिबुटी व्यवसायी संघले बताएको छ ।
अहिले भरातमा नेपालका २० वटा जडिबुटी मात्रै सुचिकृत भएको निर्यातकर्ता सन्जय जैन बताउँछन् । तर, नेपालगन्जमा एकसयथरी सम्मका जडिबुटीको छन् । एक महिनादेखि अन्य जडिबुटीहरु निकासी हुन नपाउँदा नेपालगन्ज गोदामै थन्किएको छ । कुरिलो, चिराईतो, पदमचाल जस्ता धेरै जडिबुटी निकासी हुन पाएका छैनन् । भारतमा वर्षेनी करोडौ मुल्यका ती जडिबुटी निकासी हुन्थ्ये । यसअघि भारतीय कस्टमले व्यवहारिकताका हिसावले सुचिकृत भन्दा अन्य जडिबुटीलाई पनि भारत निकासी गर्न दिदै आएको थियो । नाम नखुलेका, सानो परिणाम हुने जडिबुटी त्यसै जाने गरेका थिए उनले भने ‘तर, अब भने त्यसलाई अनिवार्यरुपमा सुचिकृत गर्नुपर्ने प्रावधान बनाएको छ ।’
नयाँ प्रावधान आउनु अगावै नेपालगन्जका व्यवसायीहरुले पहाडी जिल्लाबाट जडिबुटी ल्याएर स्टक राखेका छन् । अहिले ती जडिबुटी गोदामै थन्किएको छ । नयाँ प्रावधान अनुसार थप जडिबुटी सुचिकृत गर्न महिनौं लाग्ने उनी बताउँछन् । जडिबुटी निकासी हरेक वर्ष बढ्नुको साटो घट्दै गएको बेला आएको नयाँ प्रावधानले व्यवसायीलाई मर्का पारेको जैनले बताए । कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामाउत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट भएको उनले जानकारी दिए । जडिबुटी व्यवसायी संघका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा जडिबुटीको निर्यात खस्किएको छ । आर्थिक वर्ष २०७२÷२०७३ मा नेपालगन्ज हुँदै ४६ लाख ३८ हजार २ सय १५ केजी ४५ थरी जडिबुटी निकासी भएको थियो । तर, त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३÷०७४ मा घटेर ४० लाख ५० हजार ६ सय ७४ किलोग्राम जडिबुटी निर्यात भयो । आर्थिक वर्ष २०७४÷०७५ मा२७ लाख ५४ हजार २ सय किलोग्राम जडिबुटी निकासी भएको संघका कार्यालय प्रमुख पुष्कर खरेल बताउँछन् ।