कतिपय खेल अनौपचारिक सकिए
नेपालगन्ज: आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्ज रंगशालामा बिहीबार साँझदेखि औपचारिकरुपमा शुरू भएको छ । तर, नगरमा आठौंको रौनकता भने छैन् । तापनि रंगशाला परिसर भने दुलही सरह सजियो ।
बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि प्रतियोगिताको औपचारिक शुरू भएको हो । प्रतियोगिताको उद्घाटन नहुँदै कतिपय खेलका खेलाडी, प्रशिक्षक र पदाधिकारी खेल सकेर आ–आफ्नो घर फर्किसकेका छन् । आठौंमा समावेश कतिपय खेलहरु एक साता अघिदेखिनै सुरु भइसकेका थिए ।
उद्घाटन अघिनै खेल सकेर फर्कनु पर्दा कतिपय खेलका खेलाडी र पदाधिकारीले दुःखेसो समेत पोखेका छन् । ‘राष्ट्रिय खेलकूदको उद्घाटन नै भएको थिएन । यस्तो अवस्थामा खेल सकेर फर्कनु पर्दा नरमाइलो लागेको खेलाडी बताउँछन् । गर्मी मौसमको तनाव त छँदैछ, उद्घाटन समेत देख्न नपाउनु कस्तो बिडम्बना भएको नेपाल फुलकन्ट्याक्ट कराँतेका अध्यक्ष दमन बस्नेत बताउँछन् ।
राज्यको करोडौं लगानी भएपनि व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जान नसकेको उनी बताउँछन् । ‘अधिकांश खेलका पूर्वाधार बिहीबार साँझसम्म पनि तयार भएका छैनन् । अव्यवस्थित खेल स्थलमा राष्ट्रिय खेल आयोजना गरेर राज्यको करोडौं पैसा सक्ने काम भएको छ । कसैको लहड र व्यक्तिगत इगोको भरमा हतारमा राष्ट्रको लगानी सक्ने काम गर्न नहुने पनि बस्नेतको भनाई छ ।
आठौं अन्तर्गत फुलकन्ट्याक्ट कराँते खेल बुधबार नै सकिएको थियो । फुलकन्ट्याक्टमा पुरुषतर्फ ६ र महिलामा चारगरी १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । जसमा ५४ पुरुष र ३६ महिला खेलाडीले भाग लिएका थिए । फुलकन्ट्याक्ट मात्र होइन । आठौं अन्तर्गत गल्फ, स्क्वास, साइक्लिङ, बुद्धिचाल, बक्सिङ, प्याराग्लाइडिङ, कबड्ी लगायत खेलहरु उद्घाटन अघिनै सकिसकेको उनले बताए ।
बिहीबार बेलुका ४–५ बजेसम्म सर्वसाधरण लगायतलाई रंशाला प्रवेश गराइएको भएपनि १ घण्टा ढिलो पाँचबजे मात्र गेट खोलिएको थियो । सवा ६ बजे रंगशालाका सबै ढोकाहरु बन्द गरिएका थिए । ६ः२५ मा राष्ट्रपतिको नेपालगन्ज रंगशालामा प्रवेश भएको थियो । ६ः३० बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाले संगित धुन बजाएको थियो भने, सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण भएको थियो ।
६ः३५ मा राष्ट्रपतिको आशन ग्रहण पश्चात राष्ट्रगान सहित विभिन्न मार्चपास गरिएको थियो । ७ः२० बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वारा स्वागत मन्तब्य राखिएको मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश पाँचका अध्यक्ष भीम ओलीले बताए । उनका अनुसार ८ः३५ मा ओलम्पियन सुरेन्द्र हमालद्वारा ओलम्पिक टर्च बालिएको थियो ।
बिहीबार राती करिब ९ बजेसम्म भएको कार्यक्रमको अन्त्यमा नेपालको राष्ट्रिय खेलकुद ईतिहासमै पहिलो पटक आतिशबाजी गराई उपस्थित अतिथीहरुलाई मनोरञ्जन समेत प्रदान गरिएको उनी बताउँछन् । उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले आठौं खेलुकद प्रतियोगिता सफलताको शुभकामना दिएकी छन् । उनले स्वस्थ शरिरका लागि खेलकुद अपरिहार्य भएको बताईन् ।
उनले खेलाडीले खेलकुदसगसगै आफ्नो शिक्षालाई पनि त्यतिकै महत्व दिनुपर्ने बताइन । खेलकुदमाफर्त खेलाडीले राष्ट्रिय झण्डा फहराएर देशको ईज्जत र गौरव विश्वसामु बढाउने गरेको प्रयास सह्रायिन भएको बताइन । उनले सुखी नेपालीको सपना साकार पार्न खेलकुद क्षेत्रलाई सवै पालिकाबाट उकास्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रपति भण्डारी र प्रदेश पाँच र कर्णालीका मुख्यमन्त्री क्रमश : शंकर पोखरेल र महेन्द्रबहादुर शाहीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले मायाको चिनो प्रदान गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री विश्वकर्माले राष्ट्रपति भण्डारी, मुख्यमन्त्री सांसद लगायत आठौं खेलको उद्घाटनमा सहभागी बिशिष्ट अतिथिदेखि खेलाडी लगायत सबैलाई धन्यावाद दिएका थिए ।
४३ करोडको लगानी
भौतिक संरचना निर्माण बाहेक आठौंको आयोजनाका लागि मात्र युवा तथा खेलकुद मन्त्रालयमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ४८ करोड रुपैयाँ माग गरेको थियो । जसमध्ये अर्थमन्त्रालयले ४३ करोड रुपैयाँ खेलकूदलाई दिने निर्णय गरेको थियो । त्यसमा ३२ करोड रुपैयाँ प्राप्त भएको र ११ करोड निकासा हुन बाँकी रहेको राखेपले जनाएको छ ।
वैशाख ११ गते बाँकेको नेपालगन्ज रंगशालामा समापन हुने आठौ प्रतियोगिातमा ३५ समावेश गरिएको छ । आठौंका खेलहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा सञ्चालन हुनेछन् ।
भौतिक संरचनाको अभावले गर्दा स्क्वास खेल ललितपुरमा, प्याराग्लाईडिङ कास्कीमा र गल्फ काठमाडौंमा सम्पन्न भइसकेको छ । हरेक दुई दुई वर्षमा आयोजना गर्ने हिसावले २०३८ सालदेखि सुरु गरिएको राष्ट्रिय खेलकुद विभिन्न कारणले समयमा हुन सकेको छैन । भौतिक संरचनाको अभावले गर्दा स्क्वास खेल ललितपुरमा, प्याराग्लाइडिङ कास्कीमा र गल्फ काठमाडौंमा भइसकेको छ ।
उद्घाटनमा आतिशबाजी
राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमै पहिलो पटक उद्घाटनम आतिशबाजी गरिएकोछ । नेपालगन्जमा सम्पन्न समुद्घाटनमा पहिलोपटक आतिशबाजी हुदाँ नेपालगन्ज रङ्गशाला गुञ्जयमान भएको थियो ।
आतिशबाजीको गुञ्जयमान आवाज र रङ्गीविरङ्गी उज्यालोले नेपालगन्ज चम्किएपछि थप रोचक बनेको थियो । दशर्कले खचाखच भरिएको नेपालगन्ज रङ्गशालामा जब आतिशबाजी भयो दर्शकको हर्षको सिमानै रहेन । दर्शकको उमङ्ग र हर्षको आवाजले रङ्गगशाला झन् रोमाञ्चित भएको थियो ।
(सवै तस्विरहरु: विजय मल्ल/सेतोखरी)