नेपालगन्ज: जीवन रक्षाका लागि मानव जीवनमा पौडीले महत्वपूर्ण भूमिका राख्ने सरोकारवालाले बताएका छन् । नेपाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् आठौं राष्ट्रिय खेलकुद २०७५ का उपसंयोजक विनोद मैनालीले राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा पहिलोपटक हुन लागेकोमा नेपालगन्जको लागि ठूलो अवसर रहेको बताए ।
नेपालगन्जमा जारी महाकुम्भ मेला आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा संचालित प्रशिक्षण कार्यक्रमले थप रौनकता थपेको उनले बताए । उनले भने,‘नेपालगन्जमा पहिलोपटक पौडी प्रतियोगिता हुँदैछ । त्यसमाथि नेपाल पौडी संघले दिएको प्रशिक्षणले यहाँ रहेका पौडी खेलप्रेमीका लागि ठूलो अवसर हो ।’ प्रशिक्षणमा सहभागीका माध्यमले प्रदेशमा लुकेर रहेका प्रतिभालाई उजागार गर्न मद्दत गर्ने विश्वास गर्दै बच्ने र बचाउने ज्ञानलाई रुपान्तरण गर्नु पर्ने बताए । पौडी खेल्दा मुख्यतया तीन कुराले फाइदा पुग्ने नेपाल पौडी संघका सचिव एवम् वरिष्ठ पौडी प्रशिक्षक ईश्वरका कार्कीले बताए ।
पौडी खेल्दा शरीरका सम्पूर्ण अङ्ग चलायमान हुने भएकाले दिनहुँ पौडी खेल्दा स्वास्थ्यका हिसाबले उत्तम रहेको छ । साथै बाढीका बेला आपतविपत्मा परेका व्यक्तिलाई बचाउनेदेखि आफू पनि बच्न सक्ने भएकाले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको खेलका माध्यमले राष्ट्रलाई चिनाउन काममा महत्वपूर्ण भूमिका खेल्नेसमेत कार्कीले बताए ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५/७६ को अवसरपारी नेपालगन्जमा संचालित ३ दिने पौडी प्रशिक्षण शुक्रबार समापन भएको छ । उक्त प्रशिक्षणमा ३६ जना सहभागी रहेको नेपाल पौडी संघका केन्द्रीय सदस्य एवम् पौडी प्रशिक्षक योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । उनले भने,‘सिकेको कुरा जबसम्म अरुलाई हस्तान्तरण गर्न सक्दैनौँ तबसम्म सिकेको केही सार हुँदैन् । त्यसैले प्रशिक्षणमा सिकेका कुरा अरुलाई सिकाउनु नै प्रशिक्षणको मुख्य उद्देश्य हो ।’ अध्यक्ष बज्राचार्यले पौडीले मानव जीवनमा महत्वपूर्ण भूमिका राखेकाले प्रशिक्षण लिन चाहनेले संघमा सम्पर्क राख्न सकिने बताए ।
प्रशिक्षार्थीको तर्फबाट बोल्दै अर्चिता श्रेष्ठले ५ नम्बर प्रदेशमा पहिलोपटक भएको प्रशिक्षणमा सहभागी हुँदा खुसी भएको बताइन् । आफूले सिकेको कुरा अरुलाई पनि सिकाउने प्रतिबद्धता उनले व्यक्त गरिन् । बाँके जिल्ला पौडी संघका अध्यक्ष गोबद्र्धन सिंह सम्झनाले नेपाल पौडी संघले सबैको अभिभावकत्व लिनु पर्नेमा जोड दिए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी ११ टिमबाट पौडीतर्फ १२ पुरुष र १२ महिलाको सहभागिता रहने भए पनि ११ टिमबाट कूल १६० जना पुरुष/महिला सहभागी हुँदैछन् ।
आठौंँ राष्ट्रिय खेलकुदमा सहभागी पौडी प्रतियोगीबाट २० जना पुरुष र १६ जना महिला १३ औं दक्षिण एसियाली खेलकुदका लागि छनोट हुने पौडी प्रशिक्षक शंकर कार्कीले बताए । त्यस्तै दक्षिण एसियाली खेलकुदमा छनोट भएका प्रतियोगीबाट २ जना पुरुष र २ जना महिलालाई कोरियामा हुने १८ औं विश्व फिना पौडी प्रतियोगिताका लागि छनोट गरिने छ भने उक्त प्रतियोगितामा प्रथम स्थान ल्याउने खेलाडीलाई जापानमा हुने ३२ औँ ग्रिष्मकालीन ओलम्पिकका लागि छनोट गरिने छ ।