सिडिओको आदेश टेर्दैनन् माल हाकिम


सिडिओको आदेश टेर्दैनन् माल हाकिम

नेपालगन्ज : मालपोत कार्यालयबाट सेवाग्राहीले सास्ती पाइरहेको तीब्र गुनासो बढेसँग बाँकेका तत्कालिन प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाह सहज बनाउँन मालपोत हाकिमलाई आदेश दिएका थिए । तर, मालपोतका हाकिम प्रेम दौल्याले प्रजिअ भुजेलको आदेश र निर्देशनको अझै पालना र कार्यान्वयन गर्न चासो देखाएका छैनन् । मालपोतको सेवा प्रवाह भद्रगोल बनिरहेको छ ।

आमनागरिकले दैनिक सासती खेपी रहेका छन् । माल हाकिम दौल्याल यो वा त्यो वहाना बनाउँदै आफ्नो जिम्मेवारीमा उदासिन छन् । कार्यालयमा ‘कर्मचारी अभाव छ’ यी शब्द उनका लागि जिम्मेवारीबाट पन्छिने गतिलो माध्यम बनेका छन् । एक घण्टामै हुने काम मालपोत बाँकेमा आजभोली एक महिनासम्म पनि हुँदैन् । यसले मालपोत हाकिम दौल्याललाई होइन आमसोझा नागरिकलाई मर्का परेको छ ।

सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । धेरै पटक मालपोत धाउँदा पनि काम हुँदैन् रझेनाका विपतराम थारूले भने ‘समय र रकम धेरै खर्चिनुपरेको छ ।’ उनी एक महिनादेखि एक महिनादेखि मालपोत धाइरहेका छन् तर उनको काम फत्ते कहिले हुन्छ अझै अन्यौल छ । सिक्टा सिँचाइ आयोजनाको नाममा जमिन नामसारी नहुँदा उनले सरकारबाट मुआब्जा पाउन सकेका छैनन् । ‘सरकारको नाममा नामसारी गरिदिन्छु भन्दा पनि महिना दिन लागिसक्यो उनले भने ‘अझैँ कति दिन लाग्ने कुनै पत्तो छैन ।’

जमिन रजिस्ट्रेसन पासका लागि मालपोत धाउन थालेको १५ दिनसम्मपनि काम हुन नसकेको इन्द्रपुरका राममनोरत अहिर बताउँछन् ।
मालपोत हाकिम दौल्याललाई आबश्यक कर्मचारी व्यवस्थापन गर्न सिडिओले आदेश दिएका छन् । तर, उनी थुनामा रहेका कर्मचारी सफाई पाएर आउने भन्दै करारमा कर्मचारी लिएर सेवा प्रवाह चुस्त बनाउनेमा सक्रिय छैनन् ।

Kanti Aarogya Hospital Nepalgunj

५१ जनाको दरबन्दी रहेको बाँके मालपोतमा अहिले २२ जना कर्मचारी अभाव रहेको उनी बताउँछन् । पाँच जना अधिकृत दरबन्दी रहेपनि अहिले मलापोत एक जना अधिकृतको भरमा चलिरहेको उनले बताए । अनलाईन सेवा ध्वस्तै छ । यसको व्यवस्थापनमा समेत मालपोत हाकिम दौल्यालले कुनै चासो नदेखाएको लेखापढी कानून व्यवसायी संघका अध्यक्ष कमल खड्का बताउँछन् ।

जुनसुकै हालतमा पनि विकल्प खोजेर सेवाग्राहीलाई तत्काल सहज र प्रभावकारी सेवा प्रदान गर्नुपर्ने जिम्मेवारी मालपोत हाकिमकै भएको अधिकारकर्मीहरू बताउँछन् । कर्मचारी र अन्य साधन स्रोतको अभाव देखाउँदै दैनिक सयों सेवाग्राहीलाई समस्यामा पार्नु हुँदैन् । मालपोतबाट हुने सबै काम सहज रुपमा तत्काल सेवाग्राहीलाई दिनुपर्छ यसका लागि यो वा त्यो भन्दा पनि चाँडो विकल्प खोज्न इन्सेक प्रदेश पाँचका संयोजक भोला महतले मालपोत हाकिमसँग आग्रह गरेका छन् ।