आर्चरी: बालिकादेखि वृद्धसम्म खेलाडी


आर्चरी: बालिकादेखि वृद्धसम्म खेलाडी

नेपालगन्ज: तराईमा गर्मीले तताउँदै गएको छ। बिहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्दा ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ। यही बेला नेपालगन्जलाई केन्द्र बनाएर आठौं राष्ट्रिय खेलकूद चलिरहेको छ।

खेलकुदको रौनकले बेग्लै रङ लिएर देशको वातावरणलाई तरगित तुल्याइरहेको छ। खेलाडी खेलिरहेका छन्, प्रशिक्षक खेलाइरहेका छन्, आयोजक खेल महोत्सव आयोजनामा रमाइरहेका छन् र दर्शक जता मन लाग्यो उतैतिर आफूलाई पु¥याइरहेका छन् । परिवेश खेलकुदमय छ, कतै फुटबल, कतै क्रिकेट, कतै जुडो, कराँते, तेक्वान्दो वा उसु, कतै भलिबल धेरै खेल उमेरअनुसार पनि खेल्ने गरिन्छ । तर प्रदेश प्रहरी तालीम केन्द्र नेपालगञ्जमा चलिरहेको आर्चरी प्रतियोगिताभित्रको रहस्य भने अलि फरक छ ।

जहाँ १२ वर्षीय अनुष्का शेरचनदेखि ७० वर्षीय रामप्रसाद राईले खेलिरहेका छन् । पोखरा महानगरपालिका–४ रानीपौवाकी अनुष्का कक्षा ७ मा भर्खरै उत्तीर्ण भएकी छन् । उनी आठ प्रतिस्पर्धीलाई उछिन्दै राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी हुन् । त्यसो त उनको परिवार नै खेल क्षेत्रमा कतै न कतै आबद्ध छ । बुबा योगेन्द्र शेरचन आर्चरी खेलकै प्रशिक्षक हुन् । योगेन्द्रले धेरै पटक ओलम्पिकमा टिम प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् भने फुपु शान्ति शेरचन पाँचौं राष्ट्रिय खेलकूदमा स्वर्ण पदक विजेता तथा ११ औं ओलम्पिककी उच्च स्कोरर हुन् ।
उनका दाजु अनिप शेरचन पनि आर्चरी तथा कराँतेका खेलाडी हुन् ।

यही पारिवारिक पृष्ठभूमिबाट आएकी अनुष्का १० वर्षको उमेरदेखि नै आर्चरी खेलतर्फ मोडिइन् । १२ वर्षको कलिलो उमेरमै राष्ट्रिय खेलकुदमा भाग लिने अवसर पाइन् । आफूभन्दा अग्रज र खारिएका खेलाडीसँग अनुष्काले प्रतिस्पर्धा गरिरहेकी छन् । छयानब्बे प्रतिस्पर्धीका बीचमा एउटा बालिकाले तीर प्रहार गरिरहँदा दर्शकले अचम्म मान्दै चासोका साथ हेरिरहन्छन्। आफूभन्दा निकै अग्रजसँग प्रतिस्पर्धा उनका लागि चुनौतीपूर्ण छ।

Kanti Aarogya Hospital Nepalgunj

उनी भन्छिन, ‘खेल जितिहाल्छु भन्ने त लागेको छैन। तर आफूभन्दा योग्य, अग्रज र अनुभवी खेलाडीसँग खेल्न पाउँदा धेरै कुराहरू सिक्ने अवसर पाइरहेकी छु।’आर्चरीमै ओलम्पियन बन्ने उनको धोको छ । ‘१३ औं सागमा पनि भाग लिन्छु’, अनुष्का भन्छिन, ‘आर्चरी मेरो जीवन भइसक्यो। आर्चरीमै रमाउँछु।’ अनुष्का प्रतिस्पर्धीमध्येकी सबैभन्दा कान्छी हुन् । तर त्यही प्रतियोगितामा ७० वर्षीय रामप्रसाद राईले पनि भाग लिएका छन् । विसं २००६ मा जन्मिएका उनी विसं २०१८ मा बेलायती सेनामा भर्ना भए । त्यहाँ रहँदा उनले अन्य खेलहरु खेले पनि आर्चरी भने कहिल्यै खेलेनन् ।

२०५६ मा बेलायती सेनाबाट अवकास पाएका राई त्यसपछि विभिन्न समाजिक सङ्घसंस्थामा क्रियाशील रहे । बुढ्यौलीले छोप्दै जाँदा आफूलाई स्वस्थ राख्न कुनै खेल खेल्नुपर्छ भन्ने सोचेर उनी आर्चरी खेल खेल्न थाले । उनी भन्छन्, ‘यसमा अन्य खेलजस्तो दौडधुप गर्नुपर्दैन।’ छ वर्षदेखि नियमितरूपमा आर्चरी खेलिरहेका राईले सातौं राष्ट्रिय खेलकूदमा देशभरबाट पाँचौं स्थान हासिल गरेको सुनाउँदै भने, ‘बुढेसकालमा सहजै खेल्न सकिने भएकै कारण मैले यो खेल खेलिरहेको छु । मलाई १३ औं सागमा पनि भाग लिने धोको छ।’
नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ यो खेलमा उमेरको कुनै हद नहुने बताउँछन्। उनले भने, ‘आर्चरीलाई थप व्यवसायिक बनाउँदै र खेलाडीलाई खेलप्रतिको जिम्मेवारी बढाएर पदक भित्र्याउन हामी लागि परेका छौं।’ संघले सबै प्रदेशमा खेलाडी उत्पादन गर्ने योजना बनाएको गुरुङको भनाइ छ ।
‘आर्चरी खेलको प्रवर्द्धन र विकासका लागि खेलमा देखिएको सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ । बालिकादेखि वृद्धसम्मको उपस्थिति झनै महत्वपूर्ण छ। हामीलाई यसले थप हौसला दिएको छ ।’
उनले बालिकादेखि वृद्धसम्मको सहभागिताले अन्य खेलाडीको मनोबल पनि बढाएको बताए । उनी भन्छन, ‘यहाँको सहभागिताले खेलाडीमा उत्साह बढाएको छ ।’नेपालमा आर्चरीको सुरूआत विसं २०४४ देखि नै भए पनि भर्खरैमात्र गति लिन थालेको हो।
खेल्ने ठाउँको अभाव, प्राविधिक जनशक्तिको अभाव, राज्यको न्यून लगानी आदि कारण नेपालले प्रशस्त सम्भावना भए पनि सम्भावित सफलता निकाल्न नसकेको अध्यक्ष गुरुङको भनाइ छ ।उनले भने, ‘विगतको नेतृत्वले चासो दिएन, अहिले बामे सर्ने अवस्थामा आएको छ।’