प्रतीकात्मक तस्विर
बर्दिया १८ असार : एकसय रुपैयाँ माग्दा बर्दियामा एक पुरुषले अनाहकमा ज्यान गुमाउन पुगेकाछन् । सुन्दा अचम्म र अपत्यारिलो लाग्ने यो घटना सत्य हो । दुईदिन अघि बर्दियामा घटेको हो ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ बाँदरभरिया निवासी ३८ वर्षिय पुरुष लक्षिराम थारुले एक सय रुपैयाँ माग्दा आफ्नो ज्यान गुमाउनुपरेको हो । त्यो पनि उनकै श्रीमति र छोराका कारण ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार लक्षिरामको मृत्यु उनको श्रीमति र छोराको कुटाईबाट भएको खुलेकोछ ।
प्रायजसो मदिरा सेवन गरिरहने लक्षिरामले मङ्गलबार बेलुका मदिरा सेवन गर्नका लागि आफ्नी ३८ वर्षिया श्रीमती सीता थारुसंग एक सय रुपैयाँ मागे । मदिरासेवनकै लागि उनले मागेको एक सय रुपैयाँ उनलाई आफ्नो ज्यानको मूल्य चुकाउनुपर्ला भन्ने रत्तिभर पनि विश्वास थिएन ।
त्यसो त सधैं मदिरा सेवन गर्ने लक्षिरामले सो दिन पनि मदिरा सेवनका लागि श्रीमती सीतासंग एक सय रुपैयाँ मागे । एकसय रुपैयाँ मागेको विषय र मदिरा सेवन गरि भएको घरेलु कलहले उनको ज्यान गयो ।
‘विवाद बढ्दै गएपछि लक्षिरामका १८ वर्षिय छोरा आकास थारु र उनकी ३८ वर्षिया श्रीमती सीताले उनीमाथि कुटपिट गर्न थाले । आक्रोस र हिंस्रकमा बदलिएको कुटपिटले गम्भीर घाइते भएका लक्षिरामको उपचारका लागि अस्पताल लगिदैँ गर्दा मृत्यु हुन पुग्यो’ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक शाहीले भने ।
‘श्रीमती र छोराको कुटाईबाट गम्भीर घाइते भएका लक्षिरामलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजादैं गर्दा मृत्यु भयो’ प्रहरी नायब उपरीक्षक शाहीले भने–‘घटना लगत्तै लक्षिरामकी श्रीमती सीता र छोरा आकाशलाई नियन्त्रण लिई कारबाही प्रकृया अघि बढाएकाछौं ।’