नेपालगन्ज: बाँकेको नेपालगन्जमा रहेको श्रम तथा रोजगार कार्यालय बेहाल अवस्थामा छ । आठजनाको दरबन्दी रहेको कार्यालयमा अहिले दुईजनाको भरमा जेनतेन चलिरहेको छ । ६ जना दरबन्दीकै कर्मचारी नै छैनन् । कर्मचारी नै नभएकै कारण यस क्षेत्रका सयौ नागरिकले कार्यालयबाट प्रभावकारी होईन सेवा नै पाउँन सकेका छैनन् । नेपालगन्जमा रहेको श्रम कार्यालयले बाँके, बर्दिया, दाङ र पूर्वी रुकुम जिल्लालार्य हेर्ने गर्छ ।
तर, कर्मचारी अभावकै कारण लामो समयदेखि यी जिल्लामा नयाँ श्रम ऐन लागु भएको छ वा छैन भन्ने बिषयमा नियमन र अनुगमन गर्न समेत नसकेको कार्याल्यमा रहेका कारखाना निरीक्षक ईन्जिनियर हरिशंकर चौलागाई बताउँछन् । उनकाअनुसार कार्यालयमा आफू र एक जना कार्यालय सहयोगी मात्र कार्यरत छन् । अरु जम्मै दरबन्दी खाली छ । एक जना कारखाना निरिक्षकले पनि हालै मात्र सुर्खेतमा खुलेको स्वास्थ्य तथा सुरक्षा सम्बन्धि काम हेर्न महिनामा पटक पटक जार्ने हुँदा कार्यालयको नियमति काममा समेत समस्या भईरहेको उनी बताउँछन् ।
‘दरबन्दी छैन भनेर कामै रोकिएको त छैन । जसरी भए पनि काम गरेका छौं । तर, जुन तरिकाले काम गर्नुपर्ने हो त्यसरी हुन सकेकोछैन कारखाना निरिक्षक चौलागाईले भने,‘यहाँको अवस्थाका बारेमा केन्द्रमा कुरा राखेको छु ।’ नयाँ श्रम ऐन आएपछि त्यसको बारेमा सरोकारवाला निकायलाई जानकारी गराउनुपर्नेदेखि कार्यालयमा आउने उजुरीका बिषयमा छानबिन गरी आवश्यक कारवाही गर्न एक्लो कर्मचारीलाई निकै सकस भएको छ । नयाँ श्रम ऐनका बिषयमा उद्योगी, व्यवसायीदेखि कामदारसम्मलाई जानकारी छैन । त्यसबारेमा जानकारी नहुँदा श्रम ऐन पुर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । यस्तो कामको चाप बढेका बेला झन् कर्मचारी नहुँदा समस्या भइरहेको उनी बताउँछन् ।