आठौं खेलकुदको समापन उपराष्ट्रपति पुनले गर्ने


आठौं खेलकुदको समापन उपराष्ट्रपति पुनले गर्ने

नेपालगन्ज: प्रदेश पाँचका विभिन्न जिल्लामा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५/०७६को बुधबार औपचारिक समापन गरिदैछ ।
बैशाख ५ गते राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा भब्य समारोहका बिच समुद्घाटन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएकाछन् । लोकतन्त्र दिवसका अवसरमा काठमाण्डौमा आयोजना हुने कार्यक्रम पश्चात उपराष्ट्रपति नेपालगन्ज आउने बताइएको छ ।

यसअघि ५ नम्बर प्रदेश खेलकुद विकास समितिले सार्वजनिक गरेको कार्ययोजना अनुसार प्रतियोगिताको समापन कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको थियो । ‘प्रधानमन्त्री ज्यूको कार्यव्यस्तताका कारण समापन कार्यक्रम उपराष्ट्रपतिबाट गरिदैछ’ ५ नम्बर प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले सेतोखरीसंग कुरा गर्दै भने ‘यतिवेला अन्तिम खेलहरु भइरहेकाछन्, समापन कार्यक्रमलाई लक्षित गर्दै सबै तयारीहरु पुरा भइसकेकाछन् ।’

समितिका उपाध्यक्ष थापाले भने –‘प्रतियोगिताको समापन ११ गते बुधबार बेलुकानै हुनेछ । दर्शकलाई मनोरञ्जन प्रदान गर्न फुटबलको फाईनल खेल खेलाइनेछ । बेलुका पाँच बजे फुटबलको फाईनल खेल हुनेछ । बेलुका करिब ८ बजेसम्म समापन कार्यक्रम सम्पन्न गरिनेछ । समापन समारोहका लागि मार्चपास लगायतका गतिविधि समेत गरिनेछ ।

यता आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली नआउने खबर पाएसगैं नेपालगन्जमा उनको चर्को आलोचना शुरुभएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

गतहप्ता बैशाख ४ गते प्रधानमन्त्री केपी शर्मा ओली भेरी बबई ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ उद्घाटनका लागि नेपालगन्ज हुँदै सुर्खेत पुगेका थिए । सोही क्रममा उनले बाँकेको नेपालगन्ज स्थित पूर्व राजा ज्ञानेन्द्र शाहको सोल्टी होटलको समेत औपचारिक उद्घाटन गरेका थिए ।

नेपालगन्जमा खुलेको होटल सोल्टी वेस्टेण्ड प्रिमियरको उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई फुर्सद हुने तर, मुलुककै खेलकुदको महाकुम्भको समापनमा आउन नसक्नुले उनको प्राथमिकतामा खेलकुद नरहेको नेपालगन्जका स्थानीयबासी बताउँछन् ।

एक नेकपाका जिल्ला नेताले सेतोखरीसँग भने –‘हामी उहाँको स्वागतका लागि प्रतिक्षामा थियौं । बाँकेका समस्याहरु उहाँसमक्ष राख्ने तयारी भइरहेको थियो । तर उहाँ पन्छिनु भयो ।’

सेतोखरीसंग कुरा गर्दै उनले थपे–‘प्रधानमन्त्रीले खेलकुदको समापन समारोहमा उपस्थिती जनाइदिनुपर्ने हो । आयोजकले राष्ट्रपतिको समय व्यवस्थापन गराउन सक्ने तर, प्रधानमन्त्रीको समय व्यवस्थापन हुननसक्ने यो कस्तो विडम्बना हो । खेलकुद र खेलाडीलाई लत्याएर प्रधानमन्त्रीले आफ्नो लोकप्रियता गुमाए । उनले थपे –‘यस्तो पनि हुन्छ, पूर्वराजाको होटल उद्घाटनमा आउन मिल्ने तर, खेलकुदको कार्यक्रममा आउन नमिल्ने कस्तो खालको राजनिति हो यो बुझ्नै अप्ठेरो ।‘