साफमा गोल्ड मेडल ल्याउछु: सोनिया


साफमा गोल्ड मेडल ल्याउछु: सोनिया

नेपालगन्ज: आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गोल्ड मेडेल ल्याएर साफ गेम खेल्ने अठोट गरेकी सोनियाको आकान्छा अन्ततः पुरा भएकोछ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत उनले एपिएफकी धनदेवी रोकायलाई हराउदै साफ प्रतियोगिता खेल्ने लक्ष्य तय गरेकी हुन् । बाल्यकालदेखि नै जुडोमा निखारिएकी सोनियाले अन्तराष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्न नसकेपनि घरेलुमैदानमा भने उनी च्याम्पियन बनेकीछन् ।

अन्तर्राष्ट्रिय जुडो खेलाडी सोनिया भट्ट सम्भावनाको थुप्रै अवसर बोकेकी खेलाडी हुन् । जुडो खेलेरै नेपालको खेलकुद क्षेत्रमा उनले आफ्नो नाम लेखाउन सफल मात्र भइनन् आफू जस्तै अरुका लागि समेत प्ररेणाको पात्र बनेकिछन् । सोनिया भट्ट । यो नाम बाँके बासीका लागि नौलो नाम होइन । १७ वर्षीय सोनिया ज्ञानोदय उमावि खजुरमामा ब्यवस्थापन संकाय प्रथम वर्ष अध्ययन गरिरहेकीछन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरेकी सोनिया केही महिना पछि नेपालमा हुन लागेको साफ च्याम्पियनसिप–२०१९ मा खेल्ने ईच्छा रहेको बताउछिन् । उनले आठौंमा गोल्ड मेडल प्राप्त गरेसगैं साफ च्याम्पियनशिप खेल्न पाउने पक्का छ ।

Kanti Aarogya Hospital Nepalgunj

तर, पाँचपटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएकी सोनियाले प्राप्त गरेको तितो अनुभव सुनाउदै भनिन्–‘यसपटक मेडेल ल्याउने धेरै आशा लिएको छु । त्यो तयारी पनि गरिरहेकोछु । विगतमा ब्यहोरेको हारले मलाई पाठ सिकाएको छ । यसपटक आफु र आफ्नो देशको लागि केही गर्नेछु । सोनियाले भनिन्– मैले साफ गेम मात्र खेल्ने होइन की गोल्ड मेडल ल्याएर देशको नाम विश्वमा चिनाउने ईच्छा छ ।

यस्तो छ, सोनियको जुडो ईतिहास

नेपालगन्ज सहरदेखि ८ किमि पश्चिम खजुरा गाँउपालिका वडा नम्बर ३ निवासी सोनिया सामान्य परिवारकी खेलाडी हुन् । सहरी जिवनदेखि अलि पर गाँउले परिवेशमा हुर्केकी सोनिया आफ्नो गाँउ, विद्यालय र राष्ट्रको गरिमा कायम गर्न कम्मर कसीरहेकीछन् । बाँकेको खजुरा गाँउपालिका ज्ञानोदय उमावि नजिक घर भएकी सोनियालाई सुरुमा लाग्दैनथ्यो कि आज म यो लेवलसम्म आउन सक्छु । तर, गरे के हुन्न भनेझै उनी अध्ययनसंगसंगै खेलकुदमा पनि सक्रिय भइरहिन् ।

ज्ञानोदय उमाविमा कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययनरत सोनियालाई आफ्नै विद्यालयमा जुडो प्रशिक्षक विजय गुरुङले जुडो प्रशिक्षण गराउन्थे । प्रायजसो आफ्नो साथीसंग विद्यालय बिदा भएका बेला आफूसंगैका साथी साँघुरो कक्षाकोठामा लुडीबडि गरेर जुडो खेलेको हेर्थिन् । अरु साथीजस्तै आफू पनि खेल्न पाए हुन्थ्यो भन्ने सोचेकी सोनीयाले एक दिन जुडो खेल्न ईच्छा बनाइन् ।

जुडो खेल्नका लागि उनले घरमा पनि सुनाईन् तर, आमाले मान्नु भएन । घरका अभिभावकले जुडो खेल्न अनुमति नदिएपछि खेलप्रतिको ईच्छा त्यसै नमार्ने निधो गरिन् । विद्यालयमा अरु साथीहरुले जुडो सिकेको हेर्नकै लागि घरबाट भागेर जान थालिन् । एकदिन प्रशिक्षक विजयको नजरमा उनी परिन् । विजयले तिमि पनि खेल्ने हो, आउ म सिकाउँछु भने । उनलाई जुडो खेल्ने अवसर प्राप्त भएपछि हौसिएर जुडो सिक्न थालिन् । कक्षा ४ मा अध्ययन गर्दागर्दै जुडो खेल्न थालेकी सोनियाले पछि जुडो खेलमा राम्रो अभ्यास गरेर जिल्ला स्तरमा थुप्रै मेडेल हात पारिन् । यो कुरा विस्तारै उनकी आमालाई थाहा भइसकेको थियो । पछि छोरीको सफलताका अगाडी अन्ततः आमा पनि सकारात्मक भइन् । घरपरिवारको राम्रो साथ र सहयोग पाएकी सोनियाले खेलक्षेत्रमा केही गरेर देखाउने निधो गरिन् र अघि बढ्दै गइन् ।

सुरुमा साथीले खेलेको जुडो हेर्न उत्सुक भएर साथीसंगै जाने सोनियाले भनिन् –‘सुरुमा मैले रहरमै खेलेँ । केही सफलता मिल्यो । पछि यो सपना बन्यो । त्यो सपना पुरा गर्न कम्मर कसिरहेकी छु । आशा छ भविष्यमा पनि सफलता प्राप्त गर्छु ।’ दिनहुँको कडा अभ्यास, खेलप्रतिको लगनशिलता, त्याग र निरन्तरताले आज उनले खजुराबासीमात्र नभएर बाँके र सिंगो देशको नाम विश्वसामु चिनाउन सफल भएकिछन् ।

लगातार गोल्ड मेडल
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गोल्ड मेडल जितेकी सोनिया खेलक्षेत्रमा उदायमान खेलाडी हुन् । आठौंमा प्राप्त गोल्ड मेडलले उनलाई लगातार गोल्ड मेडल जित्ने खेलाडी बनाइदियो । उनले यस अघि भएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि गोल्ड मेडल प्राप्त गरिकी थिइन् ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४४ केजी तौलतर्फ उनले झापाकी सोममाया तामाङलाई हराउँदै जुडोमा गोल्ड मेडल प्राप्त गरेकी हुन् । ४४ केजीमा भएको उक्त खेलमा आफूले प्राप्त गरेको अनुभव सुनाउदै उनले भनिन्– लगन, मेहनत र अनुसानभित्र रहेर खेलिने खेलमा सफलता मिल्छ । अहिले पनि त्यसरी नै मैले खेले अन्ततः आठौं राष्ट्रिय खेलकुद प्रतियोगतामा मैले ४८ केजी तौलतर्फ एपिएफकी धनदेवी रोकायलाई हराउदै गोल्ड मेडल प्राप्त गर्न सफल भए ।

सोनियाको विदेश यात्रा

हालसम्म थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता खेलेकी सोनियाले केही मिठा त केही तिता सफलता प्राप्त गरेकीछन् । उनले हालसम्म पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भइसकेकी छिन् । उनले खेलेका अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता भने प्राप्त गर्न नसके पनि उत्कृष्ट खेल प्रर्दशन गरेको बताउछिन् ।

सोनिया पहिलो पटक बंगलादेशमा भएको ४४ केजी तर्फ जुडो खेलमा सहभागि भइन् । तर, बंगलादेशकी खेलाडीसंग हार ब्यहोर्दै नेपालका लागि सिल्भर मेडेल ल्याउन सफल भइन् । पहिलोपटक अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागि भएर नेपालका लागि पहिलो पटक नै सिल्भर मेडेल ल्याउन सफल भएकी सोनियाको मनमस्तिष्कमा त्यसबखत थुप्रै उथुलपुथुल भयो । यो उपलब्धि मेरा लागि केही होईन अझै केही गरेर देशका लागि मेडल ल्याउन सक्छु भन्ने अठोटका साथ अघि बढिरहिन् ।

आफ्नो कार्यकुशलतालाई दुनियाँसामु प्रस्तुत गर्न उनले पुनः अवसर पाइन् । दोस्रो पटक लेवनानमा भएको ४४ केजीतर्फको खेलमा उनले सेमिफाईनलमा भारतसंग हार ब्यहोर्दै पाँचौ स्थानमा चित्त बुझाउनुप¥यो । यो उनका लागि तितो यादगार सावित भयो । उनले हिम्मत भने हारिनन् र फेरी उनको क्षमताकै कारण पुनः अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागि हुने मौका पाईन् । तेस्रो पटक हंङकङमा भएको ४४ केजी तर्फको जुडो खेलमा उनले आफ्नै क्लब मंगोलियन जुडो दोजो क्लबकी खेलडीसंग हार ब्यहोर्नुप¥यो । चौथो पटक मकाउमा भएको खेलमा थाइल्याण्डकी खेलाडीसंग हार ब्यवहोर्दै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएकी सोनियाले आफ्नो खेलप्रतिको लगनशिलता, मेहनत, त्यागलाई निरन्तरता दिन भने छाडिनन् ।

पटक–पटक अन्तराष्ट्रि प्रतियोगितामा सहभागि हुनु र उत्कृष्ट खेल प्रदर्शन गर्दा–गर्दै असफल हुदाँ आफ्नो क्षमतामा निखार ल्याउनुपर्छ भन्दै जुडोको विशेष तालिम लिने अठोट गरिन् । फलस्वरुप उनले ट्युनिसियामा ८ ओलम्पिक मेडलिस्टले प्रदान गरेको जुडोको विशेष तालिममा सहभागिता जनाईन् । उक्त तालिम पश्चात हिम्मतवाली बनेकी सोनियाले सन् २०१८ अक्टुबर ७ तारिखमा अर्जेन्टिनामा भएकोे युथ ओलम्पिक गेममा सहभागि भएर बदला लिने निधो गरिन् ।

विडम्बना अर्जेन्टिनामा भएको खेल उनका लागि फलामको चिउरा चपाउनु सरह भयो । आफ्नो तर्फबाट राम्रो तयारी गरेकी सोनियाले पुनः हार ब्यहोर्नुप¥यो । युथ ओलम्पिक गेम अन्र्तगत उनले पहिलो चरणमा क्यूरिसियासंग र दोस्रो चरणमा भियतनामसंग प्रतिस्प्रधा गरिन् । तर, सफलता भने आफ्नो पक्षमा पार्न सकेनिन् । उनको हार भयो । असफल हुनुको कारण खुलाउदै उनले भनिन् मेडल जित्न ७–८ जनालाई हराउनुपथ्र्यो, त्यसका लागि चना र अण्डाको भरमा मैदानमा उत्रिए । आफ्नोतर्फबाट राम्रो गर्दागर्दै हारे ।

खेलकुदमा लगानी बढाउनुपर्छ

राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि सोनिया पछिल्लो समय खेलकुदक्षेत्रमा हुनुपर्ने विकास, लगानी सो अनुरुप हुन नसकेकोमा दुःखी छन् । म, बाँके खजुराबासी हुँ, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर आफ्नो गाँउ, स्कुल, देशको नाम विश्वसामु चिनाइरहेकी छु । तर, खेलकुदको सम्मानका लागि सरोकारवालाले केही गर्न सकेकाछैनन् । यसप्रति कसैले चासो नै दिएका छैनन् । उनले आफ्नो विगत सम्झिदै भनिन्–‘म अध्ययन गर्ने विद्यालयले अहिले मलाई छात्रवृत्ति प्रदान गरेकोछ ।

कक्षा ९ देखि अहिले ११ कक्षा सम्म विद्यालयले निःशूल्क अध्यापन गराईरहेकोछ । यो मेरा लागि र विद्यालयका लागि राम्रो अवसर हो । तर, यतिले मात्र खेलक्षेत्रको विकास भने हुन सक्दैन । हामीले पटक–पटक गाँउपालिका लगायत सम्बन्धित सवैमा अनुरोध गर्दा हाम्रा कुरा सुन्नुका साटो उल्टै हप्काएर पठाउछन् । खेलाडी र खेलकुदको विकासका लागि कसैले पनि बजेट विनियोजन गरेको पाएन । अनि कसरी खेलकुद र खेलाडीको विकास हुन्छ ।

गोल्डमेडलिस्टलाई अनिवार्य रोजगारी दिनुपर्छ

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत ४८ केजी तौलतर्फ जुडोमा गोल्ड मेडलिस्ट सोनिया भन्छिन्– नेपालमा खेल र खेलाडीप्रतिको दृष्टिकोण नै सकारात्मक छैन । खेलाडी र खेलकुदलाई जिवन्त राख्न राष्ट्रिय गोल्ड मेडलिस्टलाई अनिवार्य रोजगारिको व्यवस्था गरिनुपर्छ । उनीहरुले देश र खेलक्षेत्रका लागि कमाएको उपलब्धिको उच्च मुल्यांक गर्दै रोजगारि उपलब्ध गराउने, खेलकुदका लागि उचित मैदान र आवश्यक सामाग्री उपलब्ध गराउने, सवै खेलाडीलाई गुणस्तरीय र प्रयाप्त डाइटको ब्यवस्था मिलाउनुपर्छ अनिमात्र खेल र खेलाडीको हित हुन्छ । उनले भनिन् –राज्यले खेलाडीलाई धेरै हेला गरिरहेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता मात्र खेल र खेलाडीलाई जिवन्त राख्ने आधार हुनुहुदैन ।