कोभिड नियन्त्रण गर्न समितिले बुझायो ४२ पन्ने प्रतिबेदन
नेपालगन्ज २२ साउनः कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट बढि जुधिरहेको बाँकेमा पुनः संक्रमित दर बढ्न थालेपछि यसको रोकथाम तथा न्यूनिकरणमा तदारुक्ता देखाइएकोछ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जिल्लामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनिकरणका लागि तदारुक्ता देखाएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका शिवराम गेलालले कोरोना संक्रमणको संभावित तेस्रो लहरका लागि आवश्यक तयारी गर्न जिल्लाका सबै निकायलाई निर्देशन दिएकाछन् ।
प्रमुख जिल्ला अधिकारी गेलालले संभावित तेस्रो लहरको लागि आवश्यक तयारी गरिनुको साथै स्वास्थ्य सम्बन्धिको मापदण्ड पालनामा कडाई गर्दै स्वास्थ्य जाँचको दायरा बढाउन निर्देशन दिएका हुन् ।
उनले जिल्ला प्रशासन कार्यालयमा बिहीबार जिल्लाका सबै पालिकाका प्रमुख, सुरक्षा प्रमुख तथा सरोकारवालाबिच बैठक बस्दै कोभिड–१९ नियन्त्रणको तयारीका बारेमा छलफल गर्नुको साथै तयारीको बारेमा जानकारी आदानप्रदान गरेकाछन् ।
जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि संक्रमण दर न्यूनिकरणका लागि विभिन्न निकायसंगको सहकार्यमा ‘मास्क खोई’ अभियान चलाउनुका साथै सीमा क्षेत्रमा कडाईका साथ स्वास्थ्य जाँच गर्ने बताए ।
सो बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणा, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी चौधरी, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विक, भेरी अस्पतालमा मेसु डाक्टर प्रकाश थापा, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, कोडिभ–१९ फोकल पर्सन तेजबहादुर ओली, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना, एन्टिजेन जाँच, कन्ट्याक्ट ट्रेसिङ लगायतलाई तीब्र पारिने विषयमा छलफल गरिएको थियो ।
बाँकेमा पछिल्लो सातादेखि फेरि कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर आवश्यक तयारीको बारेमा छलफल गरेको छ । सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा साउनको दोस्रो सातादेखि पुनः क्रमिक रुपले बढ्दै बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १ सय १६ जना पुगेको हो ।
भेरी अस्पतालमा साउन ५ गते १८ जना विरामी संख्या थियो । अहिले ४८ जनाको उपचार भइरहेको छ । बिहीबार मात्रै जिल्लामा ३१ जना संक्रमित थपिएका छन् । त्यस मध्येमा बाँके निवासी २३ जना रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्शन तेजबहादुर ओलीले बाँकेमा उकालो लाग्दै गरेको कोरोना संक्रमणको ग्राफ अनुसार कोहलपुरका सबैभन्दा बढी संक्रमित रहेका छन् । बिहीबार मात्रै कोहलपुर नगरपालिकामा २१ जना थपिएको उनले बताए । यी मध्ये नेपालगन्ज उपमहानगर र राप्तीसोनारी गाउँपालिकाका एक–एक जना रहेका छन् ।
उनले जिल्लाका तीन वटा प्रयोगशालामा बिहिबार १ सय ८८ जनाको परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए । बाँकेका अस्पतालहरुमा अहिले उपचारको क्रममा १५ जना सिकिस्त, ३३ जना मध्यम र ६ जना भेन्टिलेटरमा रहेका छन् ।
यसैबीच, बाँकेमा सम्भावित कोभिड–१९ को तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रलाई बिहीबार बुझाएको छ ।
केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई समितिका संयोजक डाक्टर विनोद खेतानले ४२ पृष्ठ लामो प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका सवालमा सुझाव दिइएको छ ।
प्रतिवेदमा कोरोना संक्रमण, नियन्त्रण र उपचारमा बिगतमा भएका कमी कमजोरी औल्याउदै भावी दिनमा गर्नु पर्ने कार्यमा सम्बन्धमा सरोकारवाला निकायहरुलाई सिफारिस गरेको छ ।
समितिले बिगतमा स्वास्थ्य मापदण्ड पालना समस्या देखिएको, नेपाल भारत खुल्ला सिमानाको समुचित ब्यवस्थापन हुन नसक्दा कोरोना रसंक्रमणमा मद्धत पुगेको औल्याएको छ । यसै गरि कोरोना संक्रमणको दोश्रो चरणमा अक्सिजनको अभाव, अस्पतालमा बेड नपाउने, अस्पतालमा आम नागरिकको सहज पहुँच पुग्न नसकेकोले यस्ता कुरामा सुधार गरि आम नागरिकले सहज तरिकाले गुणस्तरीय स्वास्थ्य सेवामा पाउन पाउने वातारण मिलाउनु पर्नेमा जोड दिएको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागी सबै नागरिकलाई खोपको ब्यवस्था गर्न, सबै नागरिकलाई निःशुल्क कोरोना उपचारको ब्यवस्था मिलाउन र कडाईका साथ सिमा ब्यवस्थापन गर्न सुझाएको छ ।
यस्तै कोरोना रोकथामको लागी जनचेतमा अभिबृद्धि, पिसिआरको दायरा बढाउने, स्वास्थ्य मापदण्डको पालना गराउने, मापदण्ड अनुसारका आईसोलेसन केन्द्र सञ्चालन गर्ने, कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई तालिमको ब्यवस्था मिलाउन, कोरोना अस्पतालहरुमा बिरामीको सख्याको अनुपातमा दक्ष जनशक्तिको ब्यवस्था मिलाउने लगायतका सुझाव दिईएको समितिका सदस्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
उच्च अदालत तुलसीपुर नेपालगन्जले असार १४ गते दिएको अन्तरिम आदेश कार्यान्वयन गर्दै असार ३१ गते प्रमुख जिल्ला अधिकारी गेलालको अध्यक्षतामा बसेको समितिको बैठकबाट बालरोग बिशेषज्ञ डाक्टर बिनोद खेतानको संयोजकत्वमा ८ सदस्यि अध्ययन सिफारिस समिति गठन गरिएको थियो ।
समितिको सदस्यहरुमा नागरिक समाजको तर्फबाट अधिवक्ता वसन्त गौतम, जनस्वास्थ्य विज्ञ नरेन्द्र बहादुर स्वाँर, नेपाल चिकित्सक संघ भेरी शाखाकाका अध्यक्ष डाक्टर बिनोद कर्ण, भेरी अस्पतालका बालरोग बिशेषज्ञ डाक्टर बिष्णु कुमार थापा, नेपालगन्ज मेडिकल कलेज बाल रोग विशेषज्ञ डाक्टर रोमा बोरा, सशस्त्र प्रहरी बल नेपाल,३० नम्बर बागेश्वरी गण, बाँकेका सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढा र सदस्य सचिवमा स्वास्थ्य कार्यालय, बाँकेका स्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ रहेका थिए । सो बमोजिम गठित समितिले तयार गरेको प्रतिवेदन कार्यन्वयनका लागी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिलाई बुझाइएको हो ।