विज्ञापनका बोर्डले ‘संसारकै लामो पुल’ भनेर चिनिने यो पुल कुरूप बन्ने खतरा !


विज्ञापनका बोर्डले ‘संसारकै लामो पुल’ भनेर चिनिने यो पुल कुरूप बन्ने खतरा !

बलेवा २३ साउनः सिङ्गल स्पान प्रविधिमा बनेको ’संसारकै लामोपुल’ भनेर प्रचारित बागलुङ अदुवाबारी पुलको अवलोकन गर्न आउनेको ठूलो लर्को लाग्ने गरेको छ ।
कोरोना महामारीका कारण भइरहेको निषेधाज्ञा र महामारीको त्रास छल्दै पुल घुम्न आउनेको कमी छैन । कालीगण्डकीमाथि बनेको पुल आफैंमा सुन्दर छ ।

पुलको पश्चिमतर्फ पर्ने शहीदपार्कले पर्यटकलाई लोभ्याउँछ । त्यही पार्कतर्फको भाग अव्यवस्थितरूपमा विज्ञापनका लागि राखिएका होर्डिङ बोर्डका कारण कुरूप हुन थालेको देखिएको छ ।

पुल घुम्नका लागि आउने पर्यटक भने छेउछाउका जबर्जस्त राखिएका होर्डिङ बोर्डले गिज्याउने गरेको छ ।

‘लामो पुलको राम्रो फोटो खिचौं भनेको दायाँबायाँ साथी राखेको जस्तै विज्ञापनका बोर्डको फोटो आउँदो रहेछ’, पोखराबाट घुम्नका लागि बागलुङ आएका सुदीप पौडेल भन्छन्, ‘पुल र प्रकृति छेकिने गरेर किन बोर्ड राखेका होलान् ?’

Kanti Aarogya Hospital Nepalgunj

विभिन्न देशमा अध्ययनका लागि विद्यार्थी पठाउने बागलुङका केही कन्सल्टेन्सीले पुलको छेउछाउमा होर्डिङ बोर्ड राखेका छन् । नगरका जुनसुकै सार्वजनिक स्थानमा बोर्ड राख्दा निश्चित राजस्व तिर्नुपर्ने व्यवस्था छ ।

विज्ञापन गर्ने कम्पनी वा फर्मले तिरेको करबाट नगरपालिकाले बोर्डको व्यवस्थापन गर्नुपर्ने हो तर, बागलुङ नगरपालिकाले भने बोर्ड राखेको विषयमा आफूहरूलाई जानकारी नभएको बताएको छ ।

‘रामरेखा सामुदायिक वनक्षेत्र पर्छ, वनकै जग्गा हो, वनले दिएको भए थाहा भएन’, बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले भने, ‘अव्यवस्थित र कानुनविपरीत राखेको भए हटाउन लगाइने छ ।’

रामरेखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्ण बोहराले केही कम्पनीले बोर्ड राख्नका लागि अनुरोध गरेको भए पनि कुनै प्रक्रिया भने पूरा नगरेको बताए ।
‘राजस्व तिर्नुपर्छ वा सेवा शुल्क लिन पाइन्छ भन्ने विषयमा मलाई थाहा भएन, केही भाइहरूले बोर्ड राख्छौं भनेका थिए।’ व्यवस्थित नगरिएका बोर्डका कारण पुलमा आउने पर्यटक तस्बीर खिचाउन हिचकिचाउने गरेका छन् ।

पुलमा खिचिएको तस्वीरमा बोर्डको स्पष्ट चित्र आउने र निःशुल्क सामाजिक सञ्जालमार्फत विज्ञापन हुनेगरी बोर्ड राखिएको छ ।

बागलुङकै मुख्य प्रवेशद्वार मालढुङ्गा पनि अव्यवस्थित बोर्डका कारण कुरूप देखिने गरेको छ ।

व्यवसायिक प्रयोजनका लागि राखिएका अव्यवस्थित होर्डिङ बोर्डहरूले बागलुङ प्रवेशद्वारको शोभा नै घटाइदिएको छ । प्रवेशद्वारमै जिल्लाका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको चिनारी गराउनुपर्ने ठाउँमा अव्यवस्थित व्यवसायिक होर्डिङ बोर्ड मात्र टाँगिएका छन् ।

मदिराका होडिर्ङ बोर्डले बागलुङमा स्वागत गरिरहेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमारले श्रेष्ठ बताए । ‘हाम्रो चिनारी यही हो ? मदिराको व्यापार ?’, उनले भने, ‘हामीले देखाउने र चिनाउने कुरा धेरै छन्, त्यसतर्फ कसैको ध्यान गएन ।’

सन्देशमूलक बोर्डबाहेकका अन्य बोर्ड तथा ब्यानर हटाउनका लागि प्रक्रिया बढिरहेको बागलुङ नगरपालिकाले बताएको छ । -रासस