नेपालगन्ज २९ साउन : कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा सबैभन्दा बढि जुझिरहेको बाँकेमा पुनः अवस्था नियन्त्रण बाहिर जान थालेकोछ । कोरोना भाइरस संक्रमण हुनेको बढ्दो दर र संक्रमितको मृत्यु हुने क्रम नरोकिएपछि पुनः अवस्था नियन्त्रण बाहिर जान थालेको हो ।
बाँकेमा रहेका विभिन्न तीन वटा प्रयोगशालामा दिनहुँ गरिने कोरोना जाँचमा संक्रमितको संख्या बढ्दै आएकोछ । भने उपचाररत संक्रमितको मृत्यु समेत रोकिएको छैन ।
बाँकेका अस्पतालमा दिनहुँजसो कोरोना संक्रमितको मृत्यु भइरहेको छ । भेरी अस्पतालमा संक्रमितको चाप बढ्दै गएको छ । संक्रमण बढेपनि बजार, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, रेष्टुरेन्टलगायतका स्थानमा भने भिडभाड कायमै रहेको छ । कोरोनाबाट सचेत रहन बाँके प्रशासनले आग्रह गरिरहँदा पनि सर्बसाधारण नागरिक मास्क र स्यानिटाइजर विना हिडिँरहेका छन् ।
यसैक्रममा कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, (डिसीएमसी) बाँकेका अनुसार नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार गराइरहेका एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके र कैलालीका संक्रमित हुन् ।
कैलाली टिकापुर नगरपालिका वडा नम्बर– ८ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार बिहान ४ बजेतिर मृत्यु भएको हो ।
भेरी अस्पतालमा यही साउन २० गते पीसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि सोही दिन अस्पताल भर्ना भएकी थिईन् । स्वास्थ्यमा कुनै सुधार नआएपछि उनको मृत्यु भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
यस्तै बाँके, कोहलपुर नगरपालिका वडा नम्बर ८ का ४३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । भेरी अस्पतालमा यही साउन २२ गते भर्ना भएका उनलाई भोलीपल्ट पीसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको बिहीबार राती साढे १ बजेतिर मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय २४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३ सय ८७ जनाको मृत्यु भएको केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिए ।
फोकल पर्शन ओलीका अनुसार शुक्रबार बाँकेमा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ३०७ नमुना परीक्षण गर्दा ६० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरीको प्रयोगशालामा २४१ नमुना परीक्षण गर्दा ५१ जना, कोहलपुर मेडिकल कलेज कोहलपुुर ४८ नमुना परीक्षण ६ जना र बागेश्वरीको प्रयोगशालामा १८ नमुना परीक्षण गर्दा ३ जना गरी ६० जना संक्रमित थपिएका हुन् ।
तीमध्ये बाँकेका २६ जना रहेका छन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ७ सय ७८ पुगेको छ । यसअघि १६९ नमुना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस्तै शुक्रबार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३६ पुगेको छ । भने २७ जना मध्यम बिरामी छन् । १७ जना सिकिस्त हुदाँ ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।