जोगाऔं खेल संरचना


जोगाऔं खेल संरचना

नेपालगन्ज: आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला प्रदेश ५ का विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्बको भौतिक संरचना संरक्षण र ब्यवस्थापनमा समस्या हुने आशंका गर्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले यसअघि नै पत्रकार सम्मेलन गरि नेपालगन्ज उपमहानगर भित्र निर्माण भएका भौतिक संरचना संरक्षण र ब्यवस्थापन हुन नसके बनेका संरचना खण्डहरमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरिसकेको छ ।

सरकारले निर्माण गरेका भौतिक संरचनाको संरक्षण, सम्बद्र्धन र चुस्त ब्यवस्थापन गर्नु पर्ने आवाज उठ्न थालेको छ । आठौं राष्ट्रिय प्रतियोगिता सम्पन्न भएपछि झण्डै एक अर्ब रुपैयाँमा निर्माण भएका भौतिक संरचनाको संरक्षण, सम्बद्र्धन र ब्यवस्थापन गर्ने जिम्मा स्थानीयको पनि भएको भन्दै सबैले यसतर्फ चासो दिनुपर्ने भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी शमसुद्दिन सिद्दिकीले बताए ।

नेपालगन्ज रंगशालामा निर्माण भएका भौतिक संरचनाको संरक्षणका लागि आफू हरेक दिन रंगशाला पुग्ने गरेको उनले बताए । उनले १२ बैशाखदेखि नै संरक्षणको जिम्मा खेलाडी, खेलप्रेमी, सरोकारवाला निकाय र नेपालगन्जबासीको काँधमा आएको बताए । ‘नेपालगन्जमा बनेका संरचनाले हामी नेपालगन्जबासीको गौरव बढाएको छ । यसको संरक्षण, सम्बद्र्धन र ब्यवस्थापन गर्नसकेमात्र हामी र हाम्रो गौरव कायम रहन्छ,’ उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशमशेर राणाले नेपालगन्जमा निर्माण भएका खेल संरचनाले नेपालगन्जलाई खेलकुदको शहर बनाउन मद्दत गरेको बताउँदै यसको संरक्षणमा सवैको चासो हुनुपर्ने बताए । उनले खेलकुद र राज्यको हो भन्ने भावनालाई त्यागेर हामी सवैको साझा सम्पत्ती हो भन्नुपर्ने बेला भएको बताए ।

राणाले नेपालगन्जलाई खेल पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना आठौंका बेला निर्माण भएका संरचनाले दिएको बताउँदै सवैको सहयोग भए उपमहानगरपालिकाले बजेट विनियोजन गर्न तयार रहेको स्पष्ट पारे । ‘नगरमा भएका सरकारी सम्पत्तीको संरक्षण गर्ने दायित्व हामी सवैको हो,’ उनले भने, ‘सवैले चासो दिएमात्र संरक्षण गर्न सम्भव छ । नत्र आठौंले नेपालगन्जलाई दिएको उपहार खेर जानेछ ।’

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले निर्माण भएका संरचनाको संरक्षण र निर्माणका क्रममा रहेका संरचना पुरा गराउन नागरिक समाजले नजिकबाट नियाल्नुपर्ने बताए । भौतिक संरचना निर्माणका क्रममा नागरिक समाजका अगुवाले अनुगमन गर्नु पर्ने हो, तर त्यो गर्न सकेनौ, यसमा हाम्रो पनि दोष छ,’ उनले भने, ‘अब बनिसकेका संरचनाको संरक्षण गर्ने दायित्व हाम्रो काँधमा आएको छ ।’

उनले निर्माण भएका संरचनाको संरक्षण गरि ब्यवस्थित रुपमा संचालन गर्न स्थानीय तहलाई जिम्मा दिनुपर्ने धारणा राखे । यसको ब्यस्थापन गर्न नसकिए लथालिंग भताभुंग हुने बताउँदै उनले पाएको संरचनालाई जोगाएर राख्नुपर्ने दायित्व नेपालगन्जबासीको काँधमा आएको जिकिर गरे ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले आठौ राष्ट्रिय प्रतियोगिताले नेपालगन्जको पहिचान बदल्ने संरचना उपहार दिएको बताए । उनले बनेका संरचनाको स्याहार, सम्भार गर्न सके नेपालगन्जलाई खेलकुदको हव बनाउन मद्दत गर्ने बताए । उनले आठौंले दिएको उपहारको स्याहार, सम्भार गर्ने दायित्व सम्पूर्ण नगरबासीको पनि भएको बताए । ‘नेपालगन्जको ईज्जत, प्रतिष्ठा र गौरबसँग जोडिएका संरचनाको स्याहार सम्भार गरेमात्र सम्पूर्ण नेपालगन्जबासीको इज्जत र प्रतिष्ठा बढ्ने छ,’ उनले भने ।

सीतापुरमा निर्माण भएको भलिबल रंगशाला संरक्षण नभए खण्डहर बन्ने खजुराका समाजसेवी ऋषि पोख्रेलले चिन्ता ब्यक्त गरे । उनले यसको संरक्षणका लागि स्थानीय तह र खेलसँग सम्बन्धित निकायले चासो दिनुपर्ने बताए । ‘लाखौँ रुपैयाँ खर्चेर बनाइएको संरचना लागूऔषध प्रयोग गर्ने थलो बन्ने चिन्ता छ,’ उनले भने ।

स्याहार सम्भारका लागि बजेट खोज्दै प्रदेश खेलकुद परिषद
प्रदेश ५ खेलकुद परिषदका अध्यक्ष ओलीले आठौं राष्ट्रिय प्रतियोगिता सकिए सँगै आठौंले दिएको उपहारको संरक्षण गर्ने चिन्ता सुरु भएको बताए । उनले संरक्षणका लागि प्रदेश खेलकुद परिषद्सँग बजेट नभएको बताउँदै पाएको सम्पत्ती गुमाउने खतरा बढेको बताए । ‘आठौंले हामीलाई धेरै उपहार दिएको छ, तर यसको संरक्षणका लागि रकम नहुँदा पाएको संरचना खण्डहरमा परिणत हुने होकी भन्ने चिन्ता छ,’ उनले भने ।

उनले खेलकुद परिषद एक्लैले संरक्षण गर्न नसक्ने भन्दै सहयोगको याचना गरेका छन् । उनले ४० लाख लगाएर रोपेको दुवो सुक्ने खतरा बढेको बताउँदै संरक्षणका लागि आवश्यक पर्ने रकमको खोजी भइरहेको बताए । ‘धेरै ठाउँमा भनेका छौं, रकम दिने आश्वासन आएको छ, तर कसैले ग्यारेन्टी गर्न सकेको छैन,’ उनले भने ।

४८ करोडको संरचना बाँकेलाई आठौँको उपहार
बनेका संरचनाले नेपालगन्ज रंगशालाको मुहार फेरिएको छ । नेपालगन्ज रंगशालामा मात्र ४८ करोड भन्दा बढिको भौतिक पूर्वाधारण निर्माण भएको छ । नेपालगन्ज रंगशालामा नेपालको पहिलो ‘जी स्ट्यान्डर्डको भिआइपी प्यारापिट’ निर्माण भएको छ । उक्त प्यारापिट २५ करोड रुपैयाँमा निर्माण भएको हो । त्यसैगरि, नेपालमा पहिलो पटक नेपालगन्ज रंगशालाको खेल मैदानमा बरमुडा जातको दुवो (घाँस) रोपिएको छ । रु. ४० लाख लगाएर भारतको कोलकाताबाट दुवो ल्याएर रोपिएको प्रदेश ५ खेलकुद परिषदका अध्यक्ष भीम ओलीले बताए ।

बरमुडा दुवोले बनेको खेलमैदानमा आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत फुटवल खेलको सेमिफाइनल र फाईनल खेल भएका थिए । ‘पानी परेको एकघण्टा पछि फुटवल खेल्न मिल्ने अन्तर्राष्ट्रिय मापदण्डको मैदान नेपालगन्जले पाएको छ,’ अध्यक्ष ओलीले भने ।

नेपालगन्जले १५ करोड लागतको स्विमिङ पुल पनि पाएको छ । नेपालगन्ज रंगशालामा निर्माण अन्तिम चरणमा पुगेको छ । ‘नेपालगन्जको स्विमिङ पुल काठमाडौँ पछिको दोस्रो हो,’ उनले दावी गर्दै भने, अन्तर्राष्ट्रिय मापदण्डको यो मोफसलको पहिलो स्विमिङ पुल हो ।’
नेपालगन्जले आठौँ राष्ट्रिय प्रतियोगिताको उपहार स्वरुप सवा दुई करोडको सुटिङ एकेडेमी, ८५ लाख लागतमा भारोत्तोलन एकेडेमी पनि पाएको छ । यी दुई संरचना पनि मोफसलमा पहिलो भएको दावी गरिएको छ । ‘सुटिङ एकेडेमी र भारोत्तोलन पनि काठमाडौँ बाहेक मोफसलमा कहिँ छैन,’ ओलीले भने ।

आठौँले बाँकेलाई अर्को उपहार भलिबल एकेडेमी दिएको छ । तीन करोड लागतमा खजुरा गाउँपालिकाको सीतापुरमा भलिवल एकेडेमी तयार भएको छ । सोही एकाडेमीमा आठौँ राष्ट्रिय प्रतियोगिताको महिला–पुरुष भलिबल खेल भएको थियो । त्यसैगरि, कोहलपुरमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान पनि आठौँ राष्ट्रिय प्रतियोगिताले बाँकेलाई दिएको छ । डेढ करोड लागतमा निर्माण भएको क्रिकेट मैदानमा पुरुषतर्फको क्रिकेट प्रतियोगिता भएको छ ।

ओलीले दिएको जानकारी अनुसार, नेपालगन्ज रंगशालाको कवर्ड हलको पुनर्निर्माण गरिएको छ । कबर्ड हलको पुनर्निर्माण गरि फुटवल र ब्याडमिन्टन प्रतियोगिता गर्न मिल्ने बनाइएको छ । उक्त कबर्ड हलमा पार्केटिङ गरि सुन्दर बनाइएको छ ।

नेपालगन्ज रंगशालामा हाईमास्ट लाईट समेत जडान भएको छ । नेपालगन्ज रंगशालाको फिल्ड एण्ड ट्रयाकलाई पूरै उज्यालो बनाउने गरि हाईमास्ट लाईट जडान गरिएको अध्यक्ष ओलीले बताए । ‘रंगशालालाई झिलिमिली बनाउने क्षमताको हाईमास्ट लाईट जडान गरिएको छ,’ अध्यक्ष ओलीले भने ।

कबर्ड हल परिसरमा ब्यूटी यार्द र बिजुलीलाई अण्डर ग्राउण्ड गरिएको छ । ‘आठौँ राष्ट्रिय प्रतियोगिताले बाँकेलाई धेरैभन्दा धेरै भौतिक संरचना उपहार दिएको छ,’ नेपालगन्ज उपमहानगरपालिका–१३, बुलबुलियाका प्रभाकर भट्टराईले भने ।