बर्दिया २ भदौ : चोरी सिकारी नियन्त्रण गर्न छुट्याईएको बजेटबाट खसी काटी भोजभतेर गरिएकोछ । बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत रहेको करेलिया उपभोक्ता समितिमा आएको उक्त बजेटलाई भोजभतेरमा खर्च गरिएको पाइएको हो ।
चोरीसिकारी नियन्त्रण युवा परिचालन अभियानमा छुटयाइएको बजेटबाट खसी काटी भोजभतेर गरी रकम खर्च गरिएको रहस्य बाहिरिएपछि यतिबेला बारबर्दिया नगरपालिकामा खैलाबैला मच्चिएकोछ ।
बारबर्दिया नगरपालिका भित्र रहेको करेलिया उपभोक्ता समितिका पदाधिकारी तथा वन समुहका पदाधिकारीको मिलोमतोमा चोरिसिकारी नियन्त्रणका लागि छुट्याईको बजेट भोजभतेरमा खर्चेका हुन् ।
निकुञ्जमा हुने चोरि सिकारी नियन्त्रण र यसमा यूवाको सक्रियता बढाउनका लागि छुट्याइएको ३९ हजार रुपैयाँ समिति र समुहका पदाधिकारीको मिलोमतोमा खसि काटि भोज गर्दै मोज गरेका छन् ।
चोरी सिकारी नियन्त्रणमा युवाहरु लागी रहेको अवस्थामा युवाहरुको मनोबल बृद्धि कायम गर्न र अभियानमा थप सक्रिय भएर लाग्न प्रेरणा मिलोस भन्दै बर्दिया राष्ट्रिय निकुञ्जले अध्ययन भ्रमणका लागी ३० हजार बजेट विनियोजित गरेको थियो । उक्त बजेटमा समितिले ९ हजार थप गरि जम्मा ३९ हजार रुपैयाँको अध्ययन भ्रमण गर्नुको साटो समितिले खसी काटेर भोजभतेर गरेको हो । यसले चोरीसिकारी नियन्त्रणमा सक्रिय युवाहरुको मनोबल खस्केको छ ।
चोरीसिकारी नियन्त्रणका लागि छुट्याइएको बजेट भोजभतेरमा खर्च भएको करेलिया उपभोत्ता समितिका अध्यक्ष खुसराम थारुले स्वीकारेकाछन् । उनले सबैको सहमतिमा खसी काटेर खाएको बताए ।
अध्यक्ष थारुले सचिव लोकेन्द्र गीरीले समितिका पदाधिकारी वन समुहका पदाधिकारी तथा चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियानमा लागेका युवाहरुको सल्लाहमै भोजभतेर गरेको दावि गरे ।
‘भोजभतेर भन्दा युवा क्षमता अभिवृद्धिसंगै अन्य कार्य गर्न सकिने थियो तर, त्यसो किन नगरेको भन्दै रम्भापुर सेक्टरका सहायक संरक्षक अधिकृत सञ्जिव गुप्तालाई भेट्न गएका युवालाई उनले हप्काएर पठाएका थिए’ चोरीसिकारी युवा परिचालनका सचिव कमलबहादुर खड्काले भने–‘रम्भापुर सेक्टरका सहायक संरक्षण अधिकृत गुप्ताले युवाहरुलाई हप्काउदैँ खाने भनेर आएको बजेट खाए, तिमीहरु किन किचकिच गरेको भन्दै धम्काए ।’
उनले अगाडी थपे–‘चोरी सिकारी नियन्त्रणको लागी आएको बजेट भोजभतेर मै खर्च भएकाले बजेटको दुरुपयोग भएको छ । यस्तो अनियमितता गर्नेलाई कारबाही गरियोस् ।’
युवाको नाममा आएको बजेट यसरी दुरुपयोग हुँदा समिति र समुहका कर्मचारीको नियतमाथि प्रश्नचिन्ह खडा भएको छ । बजेट ठूलो नभएपनि दिनरात चोरी सिकारी नियन्त्रणमा सक्रिय युवाहरुले ब्यक्तिगत खर्च गरिरहेकाछन् । चोरीसिकारी नियन्त्रणमा युवाले यसरी खर्च गरेको रकम समेत नपाएको युवाहरुले गुनासो गरेकाछन् ।
यता बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले चोरी सिकारी नियन्त्रणमा युवाहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै निकुञ्जबाट जुन उद्देश्यका साथ बजेट पठाइएको हो त्यहीअनुरुप खर्च हुनुपर्नेमा त्यसो नभएको पाइएको बताए । भोजभतेरका लागि सो बजेट खर्च गर्नु भनि आफूले नभनेको थापाले प्रष्टाए ।
बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत चोरी सिकारी नियन्त्रणका लागी भन्दै निकुञ्जले २ हजार ५ सय भन्दा बढि युवाहरुलाई १९ वटा समिति मार्फत परिचालन गर्दै आइरहेको छ ।
ती युवाहरुलाई वार्षिक रुपमा प्रयोग गर्दै चोरी सिकारी नियन्त्रणका लागी प्रयोग गरिरहेको छ । तर, चोरीसिकारीमा सक्रिय युवाका लागि छुट्याईको बजेटलाई सीमित ब्यक्तिहरुको मिलोमतोमा दुरुपयोग भइरहेकोछ ।