गनापुर(बाँके) ६ भदौः बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने सडक कालोपत्रे गरेको दुई महिनामै भत्किएको छ । ७.२ किलोमिटर सडक खण्डको विभिन्न स्थानमा कालोपत्रे भत्किएको हो ।
सडक कालोपत्रे गरिएपछि कम्तीमा दुई–चार वर्ष टिक्छ भन्ने विश्वास सबैले राखेका हुन्छन् । तर, ठेक्का सम्पन्न नहुँदै कालोपत्रे उप्किन थाल्यो भने कामको गुणस्तरमा सम्झौता भएको सहजै अनुमान गर्न सकिन्छ ।
ठेकेदार कम्पनीले कम गुणस्तरको काम गरेकाले कालोपत्र गरेको दुई महिनापछि नै सडक भत्किन सुरु भएको स्थानीयले बताए । वर्षौंको पहलपछि कालोपत्रे गरेको सडक महिना दिनमै भत्किएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले सडक गुणस्तरीय निर्माण गर्न माग समेत गरेका छन् ।
ठेकेदार कम्पनी ‘अमर/सिस्ने जेभी’ ले निर्माण गर्ने जिम्मा लिएको उक्त सडक एक महिनामै भत्किएको स्थानीयले बताए । एक त साँघुरो सडक, त्यसमा पनि ‘कमसल’ निर्माण भएका कारण कालोपत्रे सडक एक महिनामै भत्किएको स्थानीय लक्षिराम काँदू बताउँछन् ।
‘सधैं धुलाम्मे र हिलाम्मे हुने सडक कालोपत्रे हुँदा खुसी भएका थियौं, तर, बाटो कालोपत्रे भएको महिनादिनमै ठाँउ–ठाँउमा उप्किन थाल्यो, भासिन थाल्यो’ यसको गुणस्तरमाथी प्रश्न गर्दै उनले भने ‘जनताको आँखामा छारो हाल्न मात्रै बनेको रहेछ, महिनानिद पनि राम्ररी टिकेन ।’
सडक निर्माणमा भ्रष्टाचार भएको स्थानीयको आरोप छ । जानकी गाउँपालिका वडा नम्बर–६ डिठ्ठापुरका स्थानीय विजयसिंह चौहानले कालोपत्रे गर्ने क्रममै चरम लापरबाही भएको बताए ।
‘हिलाम्मे र धुलाम्मे सडकबाट छुटकारा पाउँदै कालोपत्रे बन्नेमा खुशी बनेका हामी सडक निर्माणमा भएको अनियमितता र गुणस्तरहीन कार्यले पहिलेकै सडक राम्रो लाग्न थालेकोछ ।’ उनले अगाडी थपे–‘सडकको चौडाई पनि छैन । साँघुरो सडकमा गाडी आए सडकबाट तल आफ्नो गाडी झार्नुपर्छ अनिमात्र सडक खुल्छ ।’
चौहानका अनुसार साँघुरो र भत्किएको सडकका कारण दिनहुँ सडक दुर्घटना हुने र ट्राफिक जाम लाग्ने गर्दछ ।
गाउँपालिकाले पहिलो चरणमा गतवर्ष उक्त सडकमा माटो पटान, ग्राभेल, नाला र कल्र्भट निर्माण लगायत काम गर्न करिब सवा ८ करोड खर्च गरेको थियो । दोस्रो चरणमा यस पटक कालोपत्रे मात्रै गर्न ठेकेदारसँग मु.अ.कर (भ्याट) र पि.एस.सहित ४ करोड ६१ लाख ५१ हजार ५ सय ७९ रुपैयाँ २५ पैसामा ठेक्का सम्झौता गरिएको छ ।
दोस्रो चरण अन्र्तगत २०७७ माघ २५ गते भएको सम्झौताको म्याद २०७८ फागुन १ गते सकिनेछ । कालोपत्रे भएको एक महिनामै सडकका करिब दर्जनबढी ठाउँमा भास्सिने, भत्किने र चर्किएको छ ।
साविक गनापुर गाविसका पुर्वअध्यक्ष दुखिराम लोनियाले पिप्रहवादेखी खजुरा जोड्ने ‘बाईपास’ सडक निर्माणको काममा अनियमितता भएको बताउँछन् । ‘गाउँपालिकाले सडक कालोपत्रे गरेको नाममा करोडौं हिनामामिना गरेकोछ,’ उनले अगाडी थपे–‘कालोपत्रे सडक यति छिट्टै जीर्ण कही हुन्छ र ? यो सब कमिशनको खेल हो । बजेट दुरुपयोग भयो । आम जनतालाई कति बजेट कहाँबाट आयो र कहाँ खर्च भइरहेकोछ जानकारी समेत छैन ।’
उनले ठेकेदार र गाउँपालिकाको मिलोमतोमा सडक कमसल निर्माण भएकै कारण महिनादिनमै भत्किएको बताए । लोनियाले अगाडी थपे, ‘सडक निर्माणको नाममा यहाँ भ्रष्टाचार भएकोछ । जनतालाई ठग्ने मात्र काम भयो । यसको दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ, यसमा हाम्रो घोर भत्र्सना छ ।’
सिक्टा सिचाइँ आयोजनाको नहरसँगै जोडिएको उक्त सडक साँघुरो छ । नहरको केही भागलाई समेत समेटेर निर्माण गरिएको उक्त सडक भएर दैनिक सयौंको संख्यामा ठूला मालबाहक गाडी गुड्छन् ।
सडकमा दैनिक गुड्ने मालबाहक सवारीको क्षमता अनुसार कालोपत्रे नगरेर कमिशनको चक्करमा कमसल काम गरिदाँ सडकको अवस्था नाजुक बनेको नेपाली काँग्रेस नेता छब्बन खाँले दावि गरे ।
‘गुणस्तरहीन सडक निर्माणको हामीले पटक–पटक खबरदारी गरेपनि गाउँपालिका अध्यक्षले वेवास्ता गरे’ काँग्रेस नेता खाँले भने–‘गाउँपालिकामा हुने भ्रष्टाचारको यो ज्वलन्त प्रतिनिधी घटना हो । यसैबाट पुष्टि हुन्छ की यी र यस्ता योजनाका नाममा गाउँपालिका अध्यक्षले वर्षौंदेखि भ्रष्टाचार गर्दै आएकाछन् ।’
‘गुणस्तरहीन सडक निर्माणको विषयमा हामीले बारम्बार ताकेता गर्दा र सूचना माग्दा गाउँपालिकाले हामीलाई वेवास्ता ग¥यो । करोडौं रकम खर्च गरेर निर्माण भएको सडकको गुणस्तरता यही हो ?’ उनले प्रतिप्रश्न गरे ।
‘निर्वाचित जनप्रतिनिधीको मनोमानी चलेको छ, पालिकाका प्रत्येक टोल–टोलमा हेर्नुस्, आम जनताले विकासको अनुभूति गरेका छैनन् । रकम पचाउन र जनताको आँखामा छारो हाल्न उनीहरुकै आफ्ना मान्छे मात्र उपभोक्ता समितिमा छन्, पालिकाबाट आउने अनुदान पनि आफ्नै कार्यकर्तालाई दिएका छन्,’ खाँले बताए ।
यता जानकी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख (ईन्जिनियर) प्रजेश आलेले सडक गुणस्तरहीन नभएको दाबी गरे ।
उनले भने –‘सडक निर्माणका क्रममा नियमित म फिल्डमै गएर अनुगमन गरिरहेकोछु । ७.२ किमी कालोपत्रे बन्ने सडक अहिलेसम्म दुई किलोमिटर जति सम्पन्न भएको छ । गुणस्तरकै सडक निर्माण भएकोछ ।’
उनले अगाडी थपे–‘जम्मा ७ मिटर चौडाईको सडकका केही स्थानमा कालोपत्रे भत्केको र भासिएको छ । बर्खा लागेकाले यस्तो भएको हो । यसमा प्राविधिक त्रुटि छैन । ४/५ दिनपछि निर्माण कार्य पुनः सुरु हुदैँछ हामी मर्मत गर्नेछौं ।’
ईन्जिनियर आलेका अनुसार सम्झौता अनुसार ठेकेदार कम्पनीले चार मिटर चौडाईको सडकमा २ ईन्च गहिराईमा कालोपत्रे गर्नुपर्छ । कालोपत्रेको काम ठेकेदारले सम्झौता अनुसार नै गरेको उनको जिकिर छ । ठेकेदारले सबै काम सम्पन्न गरेर हस्तान्तरण नगर्दासम्म बीचमा आउने समस्या समाधान गर्ने आलेले बताए ।
ईन्जिनियर आलेले गाउँपालिकाको आन्तरिक बजेटबाट दुई चरणमा निर्माण भइरहेको सडकमा पहिलो चरणमा खड्का निर्माण कम्पनीले र दोस्रो चरणमा सिस्ने जेभीले उक्त सडक निमार्ण गरिरहेको बताए ।