‘हटस्पट’ मै बढ्न थाल्यो संक्रमण, निषेधाज्ञामै भिडभाड यथावत


‘हटस्पट’ मै बढ्न थाल्यो संक्रमण, निषेधाज्ञामै भिडभाड यथावत

नेपालगन्ज ७ भदौ : कोरोना संक्रमणको दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा पुनः कोरोना संक्रमण बढ्न थालेकोछ । कोरोना संक्रमण बढ्न थालेपछि यतिबेला बाँकेका अस्पतालहरु भरिदैँ गएकाछन् ।

पछिल्ला केही दिनयता बाँकेमा दिनहुँ संक्रमित संख्या थपिदै गएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएकोछ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यतिबेला बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार गराउन आउने संक्रमित संख्या बढिरहेकोछ ।

भेरी अस्पतालमा मात्र नभइ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि संक्रमित बिरामी थपिदै जाँदा कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ठूलो क्षती बोकेको बाँकेको भावि अवस्थालाई मध्यनजर गर्दै चिन्ता र चासो समेत ब्यक्त हुन थालेकोछ ।

यसपटक संक्रमित भइ उपचारका लागि अस्पताल आउने संक्रमित पहिलेनै गम्भीर प्रकृतिका विरामी भइसकेका उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

गम्भीर प्रकृतिका संक्रमित अस्पतालमा आउँदा अधिकांश संक्रमितको उपचारकै क्रममा मृत्यु हुने गरेको छ । यसले पनि बाँकेमा अब कोरोना भाइरस संक्रमणको तेस्रो लहरले कस्तो स्वरुप लिने हो त्यसको संकेत गरिसकेको छ । संक्रमित थपिने र मृत्यु संख्या बढ्ने क्रम नरोकिएपछि आम सर्वसाधरणमा त्रासको वातावरण सिर्जना हुन थालेकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार आईतबार बाँकेमा थप उपचाररत दुई संक्रमितको मृत्यु भएकोछ । केन्द्रका फोकल पर्शन तेज ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ दाङका ५५ वर्षीय र सुर्खेत सिम्ता गाउँपालिका ३ का ७१ वर्षीय पुरुषको आईतबार उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुरका ५५ वर्षीय पुरुषको आईतबार बिहान ५ बजेतिर मृत्यु भएको थियो ।
गत साउन २७ गते दाङमा पीसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएपछि भोलिपल्टै थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो ।

यस्तै सुर्खेतका ७१ वर्षीय पुरुषको आईतबार बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको थियो । यही भदौ १ गते भेरी अस्पतालमा पीसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा कुनै सुधार नआएपछि दुबै संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि शनिबार पनि भेरी अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको थियो ।
केन्द्रका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका ३ सय २६ र उपचारका लागि बाहिरबाट आएका ३ सय ९३ जनाको मृत्यु भएको छ ।

केन्द्रका फोकल पर्सन ओलीका अनुसार आईतबार मात्रै बाँकेमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा ७२ जनाको पीसिआर परीक्षण गर्दा १५ प्रतिशतलाई कोरोना संक्रमण भएको हो । भेरी अस्पतालमा आईतबार बेलुकीसम्म ५१ जना संक्रमितले उपचार गराईरहेका छन् । यी मध्ये करिव ९० प्रतिशत संक्रमित गम्भीर प्रकृतीका रहेको अस्पतालले जनाएको छ ।
यतिबेला बाँकेमा कोभिडको संक्रमण एकदमै डरलाग्दो रुपले फैलिरहेको छ । भेरी अस्पतालमा दिनहुँ संक्रमित र मृतक संख्या बढिरहेका छन् । यकातिर जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी रहेको जनाएपनि बजारमा सर्वसाधरणको भीड र स्वास्थ्य सम्बन्धि मापदण्ड पालना नभएको प्रष्ट देख्न पाइन्छ ।

प्रशासन र प्रहरीले स्वास्थ्य सम्बन्धिको मापदण्ड पालनामा लापरबाही गरेको हुदाँ आम सर्वसाधरणले गैरजिम्मेवार बन्दै गएका हुन् । अहिले नै कोरोना भाइरस संक्रमणको यो स्वरुपलाई आँकल गरि स्वास्थ्य सम्बन्धिको मापदण्ड पालनमा कडाई नगरिए यसपटकको अवस्था भयाबह हुने र बिरामीलाई बचाउनै मुस्किल हुने कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

आजभोली भेरी अस्पतालमा आउने बिरामीमा कडा खालको संक्रमण रहेको कोभिड वार्डमा कार्यररत नर्सिङ अधिकृत मौनता अर्यालले बताईन् । पहिले स्वाद हराउने, गन्ध हराउने जस्ता लक्षण आउने भएपनि अहिले ज्वोरो लगायत कडा स्वास्थ्य समस्याका विरामी आउने गरेकाछन् ।

उनले भनिन्–‘कोभिड–१९ वार्डमा भर्ना हुने दर बढिरहेको छ । केही समयअघिसम्म खाली रहेको यहाँका बेड भरिदैं गएकाछन् । अब विरामी डिस्चार्ज भएपछि मात्र बेड खाली हुन्छ ।’ कोभिड–१९ वार्डमा दिनहुँ संक्रमित संख्या बढिरहदाँ नर्सिङ अधिकृत अर्यालले चिन्ता ब्यक्त गर्दै भनिन्–‘यो कोभिड–१९ को तेस्रो लहरको संकेत हो । अब पनि स्वास्थ्य सम्बन्धिको मापदण्ड पालना कडाईका साथ नगरिए केही दिनमै अवस्था भयाबहतर्फ उन्मुख हुन्छ ।’

प्रशासनले गत वैशाख दोस्रो साताबाट जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा कागजी रुपमा कायम रहेपनि भिडभाड भने यथावत रहेको छ । प्रशासनले लगाएको निषेधाज्ञालाई कार्यान्वयन गरिएको देखिँदैन ।कोरोना संक्रमणबाट बच्न सर्वसाधारणले कुनै सावधानी अपनाएको पाइँदैन । बजार, पसल ब्यवसाय, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सार्वजनिक सवारी साधन, रेष्टुरेन्ट, क्याफे लगायत स्थानमा सर्वसाधारणको भिड अत्यधिक देखिन्छ । ती स्थानमा सरकारको स्वास्थ्य मापदण्डको कुनै पालना गरिएको छैन । चाडपर्वका नाममा भिडभाड गर्ने समुदायहरु बीच होडबाजी नै चलेको छ ।

बजारमा बढ्दो भिडभाड र कोरोना संक्रमण नियन्त्रण नआउँदा नेपालगन्जबासी थप त्रसित बनेका छन् । यस्तै लापरबाहीले कोरोना महामारीको फेरि भयावह स्थिती आउने निश्चित छ ।