जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष शाहले गरे पदभार


जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष शाहले गरे पदभार

समिर अर्याल

नेपालगन्ज ८ भदौ : जिल्ला खेलकुद विकास समिति, बाँकेका नवनियुक्त अध्यक्ष मोहित शाहले मंगलवार औपचारिक रुपमा पदभार सम्हालेका छन् ।

मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिको भवनमा आयोजित बधाई, शुभकामना तथा सम्मान कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष आतंक बस्नेतले नव नियुक्त अध्यक्ष शाहलाई पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भीम ओलीले आठौँ राष्ट्रिय प्रतियोगिताका बेला आफ्नो नेतृत्वमा निर्माण गरिएका संरचनाको संरक्षणका लागि विशेष पहल गर्ने आश्वासन दिए ।
उनले जिल्ला र क्षेत्रीय खेलकुद विकास समिति प्रदेशमा समायोजन भइनसकेकोले संरचना संरक्षणमा समस्या भएको बताए । जिल्ला र क्षेत्रीय खेलकुद विकास समिति राष्ट्रिय खेलकुद परिषद्को अधिनमा रहेको बताउँदै उनले जिल्ला खेलकुद विकास समितिलाई कार्यालय पाउन समेत मुस्किल परेको गुनासो गरे ।

Kanti Aarogya Hospital Nepalgunj

‘जिल्ला खेलकुद विकास समितिहरु प्रदेश खेलकुद परिषद्मा नआउँदा खेल गतिविधि र अध्यक्ष तथा अन्य पदाधिकारीलाई आफ्नो गतिविधि गर्न समस्या भएको छ,’ उनले भने ।

उनले बाँके र दाङमा पर्याप्त खेल पूर्वाधार निर्माण भइसकेको बताउँदै अव रुपन्देहीलाई प्राथमिकता दिइने स्पष्ट पारे । ‘तुल्सीपुर–घोराही, नेपालगन्ज–कोहलपुर र बुटवल–भैरहवालाई मिलाएर महानगरपालिका बनाउने सरकारको नीति छ । आठौँ राष्ट्रिय प्रतियोगिताका बेला दाङ र बाँकेमा धेरै संरचना बने । अव पालो रुपन्देहीको छ,’ उनले भने ।

बाँके जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष आतंक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य रामबहादुर थापा, महाकाली–मेची साइकल यात्री एवम् वातावरण अभियन्ता तेजविक्रम शाह, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका लेखा अधिकृत मीनबहादुर जिसी, जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारी, विभिन्न खेलका प्रशिक्षक, खेलाडी लगायतको सहभागिता रहेको थियो ।