वन्यजन्तुकोे ‘ट्रयाप’मा किसान


वन्यजन्तुकोे ‘ट्रयाप’मा किसान

नेपालगन्ज ९ भदौ : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसान वर्षेनी वन्यजन्तुको ‘ट्रयाप’ पर्ने गरेकाछन् । मध्यवर्ती क्षेत्रका किसान वर्षेनी वन्यजन्तुको ‘ट्रयाप’मा पर्दा उनीहरुले अनाहकमा जीउधन र वालीको क्षती ब्यहोरिरहेकाछन् ।

वर्षेनी जनधनको क्षती ब्यहोरिरहेका बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानले यतिबेला कृषि कर्मलाई समेत परिर्वतन गरेकाछन् । बढ्दो वन्यजन्तुको आक्रमणबाट आजित भएका निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानले कागती खेतीलाई बढावा दिएकाछन् । पछिल्लो समय कागती खेती गर्ने किसानको संख्यामा समेत बढोत्तरी हुँदै आएकोछ ।

वन्यजन्तुबाट वाली जोगाउनै मुस्किल भएपछि किसानहरु कागती खेतीतर्फ लागेका हुन् । विशेष गरि निकुञ्जबाट बँदेल, बाँदर लगायतका जनावरले निकुञ्ज आसपास क्षेत्रमा लगाइएको वालीनाली नष्ट गर्न थालेपछि अन्य खेतीको विकल्पमा कागती खेती गर्न थालेको किसानहरु बताउँछन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा विशेष गरि महिलाहरुको अग्रसरतामा कागती खेती सुरु गरेको पाईएको छ । यसअघि खेतबारीमा मकै, धान, गहुँ लगायतका बालीनाली रोप्दै आएका बाँके राष्ट्रिय निकञ्ज आसपासका किसानले पछिल्लो समय अधिकाँशले कागती खेती सुरु गरेको उनीहरु बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

पाक्न लागेको बाली घरमा भित्र्याउन नपाउँदै वन्यजन्तुले सखाप पार्न थालेपछि बाध्य भएर कागती खेती शुरु गरेको बाँकेको राप्तीसोनारी गाउँपालिका– १ बर्दापुरका किसान ईश्वरी ओलीले बताए ।

उनले भने –‘हाम्रो ठाउँको लागि उब्जनी हुने भनेको मुख्य बाली मकै, गहुँ र मसुरो हो तर, यहि बाली भित्र्याउन नपाउँदै बँदेलले सखाप पार्न थालेपछि बाध्य भएर कागती रोपेको हुँ ।’ कसैले ब्यक्तिगत त कसैले सामुहिक रुपमा कागति खेती सुरु गरेको उनले बताए । हाल बाँकेमा ‘सुन कागती’को खेती बढी भईरहेको र आम्दानी पनि राम्रो भएको ओलीले बताए ।

राप्तीसोनरी गाउँपालिका वडा नम्बर –१ कुसुमका १५ जना कृषकले पनि एक वर्षअघि १६ विघा क्षेत्रफलमा ४ हजार कागतिको विरुवा रोपेका छन् । उक्त क्षेत्रमा मकै राम्रो उत्पादन हुँदै आए पनि वन्यजन्तुकै कारण खेती परिवर्तन गर्नुपरेको किसानहरुको भनाई छ ।

मकै पकेट क्षेत्र विस्तारका लागि कृषि ज्ञान केन्द्रसँग माग गर्दा कागति खेती गर्न सुझाव पाएको कुसुमस्थित महालक्ष्मी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष माया चौधरी बताउँछिन् । मकै खेतीका लागि बजेट माग गरेका थियौं, उनले भनिन् –‘कृषिका सरहरुले निकुञ्जका वन्यजन्तुले गर्दा मकै खेती सफल हुँदैन, बरुफ लफूल अथवा कागती खेती गर्नुस् भने सुझाएपछि हामी पनि सहकारी समुहबाटै कागती खेती गरिरहेकाछौँ ।’

बाँके बैजनाथ गाउँपालिका नम्बर–१ गाभर भ्यालीका महिलाहरु पनि करिव ८ विघा क्षेत्रफमा तीन वर्ष अघिदेखि सामुहिकरुपमा कागती खेती गरिरहेका छन् । कागती खेती विस्तारका लागि गाभरमा ३० जना महिला संगठित भएर ‘लेमन पार्क महिला समूह’ गठन गरेकाछन् ।

महिलाहरु सामुहिक रूपमा स–साना टुक्रामा रहेको जमिनलाई चक्लाबन्दी गरेर ८ विगाह जग्गामा कागती लगाएको समुहकी अध्यक्ष अनिल कुमारी चौधरीले बताइन् । समूहमा रहेका ३० जना सदस्यले एक÷एक लाख रूपैयाँ संकलन गरेर प्रारम्भिक चरणमा खेती सुरु गरेको उनको भनाइ छ । उनीहरुले रोपेका केही कागतीका विरुवामा अहिले फल लाग्न सुरु भईसकेको छ । अबको एक वर्षपछि सबै बोटमा कागती फलेपछि आम्दानी लिन सकिने समुहमा आबद्ध महिलाहरुको आशा छ ।

कृषि विज्ञका अनुसार रोपेको चार वर्षमा फल्न शुरु हुने जानकारी पाएको बताउँदै सोही समुहमा रहेकी पुजा शाहले भनिन्–‘अब हाम्रो प्रतिक्षाको घडी समाप्त हुँदैछ, एक वर्षपछि सबै बोटमा दाना लाग्छ भन्ने आशा छ ।’ यसअघि रोप्दै आएको अन्नबाली वन्यजन्तुले नष्ट गर्दा आम्दानी लिन नसकेको उनले बताईन् । वर्षैपिच्छे जनावरले वालीनाली नष्ट गर्न थालेपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्दा विकल्पको रुपमा कागती खेती गर्ने योजना बनाएर सुरुवात गरेको शाहले बताईन् ।

कागती गोडमेल गर्ने, वरीपरिको घाँस सफा गर्ने, खडेरीको समयमा पानी चार्ने लगायतका काम सामुहिक रुपमै गर्दै आएकाछौं, उनले थपिन्–विरुवा हुर्र्किएको थाहै भएन । निकुञ्जले पनि वन्यजन्तुले खाने किसिमको वालीनालीको विकल्पमा अन्य खेती लगाउन प्रोत्साहन गगरिरहेको बताएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले वन्यजन्तुको आकर्शण बढीहुने वालीको विकल्पमा जडीबुटी तथा फलफूल खेतीमा प्रोत्साहन गरिरहेको बताए । संरक्षणको क्षेत्रमा काम गरिरहेका राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भूपरिधी कार्यक्रम लगायतका संघसंस्थासँगको समन्वयमा निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दालाई प्रोत्साहानको कार्यक्रममा सघाईरहेको जानकारी दिए ।

बाँकेमा यसअघिदेखि नै कतिपय ठाउँमा किसानले मेन्था, कुरीलो खेती गरिरहेका छन् । उनले भने –‘वन्यजन्तुबाट वालीनाली नष्ट हुने स्थानमा निकुञ्जले प्रत्यक्ष रुपमा तारबार लगाउने र संरक्षणमा लागेका संघ संस्थामार्फत अप्रत्यक्षरुपमा पनि थुप्रै सहयोग गर्दै आएको छ ।’

उनले वन्यजन्तुको संरक्षणमा निकुञ्जका कर्मचारी भन्दा स्थानीय बासीन्दाको ठूलो भूमिका रहेको बताए । वन्यजन्तु संरक्षणका लागि खेती र पशुपालन गर्ने तौरतरिका परिवर्तनदेखि रहनसहनमा पनि परिवर्तन ल्याउन आवश्यक रहेको औंल्याए । संरक्षणसँगै मानिसहरुले आफ्नो जिवनशैली परिवर्तन गर्न सके वन्यजन्तु र मानवबीच सहअस्तित्व कायम गरि वन्यजन्तुबाट पनि लाभ लिन सकिने उनले जोड दिए ।

कागती नगदे वाली भएकाले किसानले यसबाट राम्रो लाभ लिन सक्ने कृषि विज्ञको भनाई छ । बाँकेमा पनि कागती खेतीको सम्भावना राम्रो भएको र केहि स्थानमा पकेट क्षेत्रकै रुपमा विस्तार गरिएको कृषिज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।

‘पुराना कृषकले राम्रै आम्दानी लिईरहेकाछन्’ उनले अगाडी थपे–‘यसको मतलव बाँकेमा ‘सुन कागती’का लागि हावापानी उपयुक्त मान्नुपर्छ, कागतीको नयाँ बगैचा बनाउँने कृषकको संख्या पनि बढ्दै गएको देखिन्छ ।’

कागती खेतीमा लागेका कृषकहरुलाई कृषिज्ञान केन्द्रबाट पनि विभिन्न कृषि औजार उपलब्ध गराउनुका साथै खेति गर्ने तरिकाबारे तालिम पनि दिईरहेको प्रमुख ढकालले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र राप्ती सोनारी गाउँपालिकाको – १, ८, ९ नम्बर वडा तथा बैजनाथ गाउँपालिका वडा नम्बर– १ गाभर भ्यालीका किसान वन्यजन्तुबाट बढी प्रभावित भएको देखिन्छ । वन्यजन्तु कै कारण कतिपय किसानले केही वर्ष पहिलेदेखि नै उक्त क्षेत्रमा ब्यावसायिक रुपमा कागति खेती गर्दै आएकोेढकाल बताउँछन् । कागती उत्पादन सुरु गरिसकेका किसानले आम्दानी पनि राम्रो भईरहेकोे उनले जानकारी दिए ।