बर्दिया ११ भदौ : कोभिड– १९ नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी गर्ने निषेधाज्ञा सम्बन्धि सूचना औपचारिकतामा मात्र सिमित भएकोछ । कोभिड– १९ नियन्त्रणका लागी भदौ १० गतेसम्म जारी निषेधाज्ञालाई थप गर्दै आगामी भदौ २५ गते सम्म थप गरिएको छ । तर, गत साउन दोस्रो सातादेखि नै बर्दियामा विद्यालय तथा हाट बजार सञ्चालनमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालयले गत बैशाख १३ गतेदेखि नै निषेधाज्ञा जारी गर्दै आइरहेको छ । निषेधाज्ञाको अवधिमा खानेपानि, विद्यार्थीको पठन पाठन (अनलाइन माध्यमबाट मात्र ) बैंक, वित्तिय तथा सहकारी सेवा, ग्यास तथा पेट्रोलियम पदार्थ, औषधि पसल, एग्रोभेट सेवा, विकास निर्माण कार्यहरु, औषधि पसल, विबाह, ब्रतबन्ध तथा अन्य धार्मिक सामाजिक कार्यहरु (प्रशासनको पुर्व स्वीकृति लिई बढिमा १५ जना ) उपभोग्य वस्तुहरु तथा सेवाहरु (खाद्यान्न, दुग्धजन्य, फलफूल, तरकारी ग्यास तथा अन्य पसल बेलुकी ७ बजे सम्म संचालन गर्ने) होटल तथा रेष्टुरेण्टबाट हुने होम डेलिभरी सेवा मात्र तथा कृषि कार्य, जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयहरु मापदण्ड अनुसार सञ्चालन गर्न पाइने भनिएको छ । साथै सार्वजनिक यातायातका साधन पनि स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालनको अनुमति दिइएको छ ।
यस्तै गोष्ठि सभा सम्मले, जुलुस, समारोह, विद्यालय कलेज, तालिम, सेमिनार, व्युटि पार्लर, सैलुन, जिमखाना, हेल्थ क्लब, पुस्तकालय, होटल रेष्टुरेण्ट, पार्टि प्यालेस, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि, मन्दिर, मस्जिद, गुम्बा, चर्च वा धार्मिक अनुष्ठानमा पुजा भेला जस्ता कार्यहरु सीसीएमसीको निर्देशन अनुसार राष्ट्रिय निर्देशन ऐन २०१८ र सँस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएको सँस्थाहरुको साधारण सभा सम्मेलन भौतिक रुपमा नगर्ने (यदि गर्नै पर्ने भए डिसीएमसीबाट अनुमति लिनुपर्ने ) गर्न नपाइने भनिएतापनि केहि सस्थागत विद्यालय तथा बजार आसपासमा लाग्ने हाट बजार सञ्चालनमा आएका छन ।
संस्थागत विद्यालयहरुले ट्युसनको नाममा विद्यालय नै विद्यार्थीहरु बोलाएर पठन–पाठन गर्ने गरेका छन् भने कोभिड १९ का कारण बन्द रहेका हाट बजार पनि सञ्चालनमा आएका छन् ।
प्रशासनले कोभिड–१९ नियन्त्रणका लागी सूचना प्रकाशित गर्ने र त्यसलाई कार्यान्वयन गर्ने सबैको दायित्व भएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार बताउँछन् ।
बर्दियामा निषेधाज्ञाको कार्यान्वय भएको पाइएको छैन, नियमन अनुगमन गर्ने निकायको पनि लापरबाहि भएको स्थानीयबासीहरुको भनाई रहेको छ । विवाहका लागी १५ जना भनेपनि त्यो कार्यान्वयन नभएको पाइएको हो । पहँुच हुनेले बाटोमै टेन्ट राखेर सयांै मानिसको साथ भोजभतेर गरिरहेकाछन् भने प्रशासन प्रहरी मुकदर्शक बनेको गुलरियाका महेश आर्चायले बताए ।
अहिले केहि संस्थागत विद्यालयले विहानपख कक्षा सञ्चालन गरिरहेका छन् । अभिभाकलाई बाध्यतामा पार्दै विद्यालय सञ्चालकहरुले विद्यालय सञ्चालन गरिरहेतापनि प्रहरी प्रशासन भने आँखा चिम्लिएर बसेको छ ।
केहिले त निषेधाज्ञालाई गिज्याउदै सञ्चालन भैरहेको संस्थागत विद्यालयको विषयमा जगुनासो बढेपछि अनुगमन गर्ने भन्दै प्रहरी प्रशासनले सञ्चालन नगर्न भनेपनि फेरि सञ्चालनमा आइरहेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको चरम लापरबाहिको फाइदा अरुले उठाइरहदा कोभिडको जोखिम थप बढदै गएको छ ।