नेपालगन्ज : नेपाल भलिबल संघले वर्ष २०७६ को वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । उक्त वार्षिक क्यालेण्डरमा बाँके जिल्ला भलिबल संघ समेटिएको छैन् । संघको केन्द्रिय तहमा बाँकेका पहुँच र लिडरसीप गर्ने प्रतिनिधीको अभावले गर्दा पनि वार्षिक क्यालेण्डरमा बाँकेलाई समेट्न नसकिएको स्रोतले बताएको छ ।
कार्यतालिकामा अघिल्लो वर्ष जस्तै संघले यसपटक पनि वर्षभरी नै भलिबललाई ब्यस्त बनाउन नयाँ कार्यतालिका ल्याएको छ । तर, भर्खरै आठौं राष्ट्रिय खेलकुद विवाद र व्यापक टिप्पणीकाबिच सम्पन्न गरेको बाँके भलिबलको बार्षिक क्यालेण्डरमा नपर्नुमा बाँके भलिबल संघकै पदाधिकारीको लापरवाही रहेको खेलाडीहरू बताउँछन् ।
बाँके भलिबल संघका अध्यक्ष टिएस ठकुरीले केन्द्रले सिधै आयोजना गर्ने कार्यक्रम भएकोले क्यालेण्डरमा बाँके नसमेटिएको हुन सक्ने बताए । आठौं खेलकुदले डिस्टर्व गरेकोले अब बाँकेमा जेठमा मात्रै पिएम कप गर्ने उनले बताए ।
संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै वर्षभरीको २२ कार्यक्रम सहित वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । संघले यो वर्ष २२ कार्ययोजना ल्याएको छ । संघको कार्यक्रम जेठ १३ गतेबाट शुरु हुनेछ । संघले एफआइभीबी लेभल वान कोचेस कोर्षलाई पहिलो कार्यक्रमको रुपमा शुरु गरेको छ । वर्षभरिको यो कार्यक्रमका लागि करिव ७ करोड ५० लाख खर्च हुने संघको अनुमान छ ।
यस्तो छ भलिबल संघको वार्षिक कार्यक्रम
१. एफआइभीबी लेभल वान कोचेस कोर्स – काठमाडौं
२. राष्ट्रिय टिम प्रशिक्षण (पुरुष) – काठमाडौं
३. भलिबल डे (जेठ ८) सातै प्रदेश
४. छैठौं महिला तथा सातांै पुरुष बिच भलिबल –पोखरा
५. ओलम्पिक डे (असार)
६. राष्ट्रिय बिच भलिबल रेफ्री कोर्स
७. राष्ट्रिय रेफ्री क्षेत्रीय रिफेरिङ कोर्स
८. एसियन रेफ्री क्यान्डिडेट कोर्स
एभीसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप (साउन ३२–भदौ ८)
१०. राष्ट्रिय टिम प्रशिक्षणन (महिला)
११. पाँचौ एनभिए र एनएसटी पुरुष राष्ट्रिय क्लब च्याम्पियनसिप
१२. पाँचौ एनभिए र एनएसटी महिला राष्ट्रिय क्लब च्याम्पियनसिप
१३. यु–१७ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता
१४. एसियन सेन्ट्रल जोन महिला र पुरुष बिच भलिबल
१५. १३औं दक्षिण एसियाली महिला-पुरुष भलिबल च्याम्पियनसिप
१६. २४औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता
१७. तेस्रो एनभिए अवार्ड
१८. ३३औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता
१९. अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल पुरुष-महिला
२०. पाँचौ आरबीबी–एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता
२१. पाँचौ आरबीबी–एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगिता
२२. प्रथम एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिप