नेपालगन्ज १७ भदौ : पश्चिम नेपालका २४ जिल्लाका नागरिकहरु स्वास्थ्य सेवा लिनका लागि नेपालगन्ज आउने गरेका छन् । दुर्घटनामा परेका, सुत्केरी महिला, रक्तअल्पता भएका, सिकलसेल र डायलासिस गराइरहेका विरामीलाई तत्कालै रगतको आवश्यक्ता पर्दछ । त्यो रगत आपूर्ति हुने भनेको एउटा ब्लड बैंक मार्फत हो, अर्को नीजका आफन्त वा चिनेजानेका कसैले दिएर हो ।
केहि व्यक्तिहरु आज पनि रक्तदान गर्न चाहादैनन् । यसबारेमा उनीहरुले विभिन्न अफबाह सुनेका कारण रक्तदान गर्न नचाहेका हुन् । झण्डै ३ दशक अघिदेखी नियमीत रक्तदान गर्दै आएकाहरु यसलाई जीवनकै ठूलो र महत्वपुर्ण सेवाका रुपमा लिने गर्छन् । अन्य सयौँ काम भन्दा एउटा रक्तदानको महत्व बढी हुने र यसले दिने खुशी शव्दमा बयान गर्न नसकिने उनीहरुको भनाई छ ।
बाँकेमा एकै व्यक्तीले १ सय ५६ पटकसम्म रक्तदान गरेको रेकर्ड छ । सबैभन्दा बढी रक्तदान गर्नेमा बाँकेका गोपीनाथ वैश्य, सरीता ज्ञवाली, पवन जैशवाल, हेमकुमार रावत, उदितबाबु रेग्मी र सञ्जय पन्त रहेका छन् । त्यस्तै, बर्दियाका प्रेम लम्साल पनि यो समुहमा पर्छन् ।
बाँकेमा सबैभन्दा बढी रगत दान गर्ने टप ७ रक्तदाताहरु :
१. गोपीनाथ वैश्य
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका अनुसार, बाँके जिल्लामा सबैभन्दा बढी रक्तदान गर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ रामनगर निवासी गोपीनाथ वैश्यको नाम अग्र स्थानमा छ । उनले हालसम्म एक सय ५६ पटकसम्म रक्तदान गरेका छन् । उनको रगत समूह ‘ओ पोजेटिभ’ हो ।
६५ वर्षको उमेरसम्म आइपुग्दा १ सय ५६ पटक रक्तदान गरेका हुन् ।
उनले २६ वर्षको उमेरदेखी रक्तदान गर्न सुरु गरेको बताउँदै भने ‘एक जना डेलीभरी केसलाई रगत चाहिएको थियो । रगत दिनुप¥यो भन्दै भाइलाई खोज्दै सुत्केरीका आफन्तहरु घरमा आइपुगे । तर, घरमा भाइ थिएन । उनीहरुलाई छिटो चाहिएको छ, भनेपछि म रगत दिन तयार भए ।’
त्यस दिन उनले रक्तदान गरेर जीवन बचाउनुको अर्थ थाहा पाए । त्यसपछि उनले नियमित रक्तदान गर्न थाले । उनले आफूले मात्रै रक्तदान गरेनन्, श्रीमती छोराछोरी, भाइ लगायत सम्पुर्ण परिवारलाई समेत रक्तदान गर्न लगाए ।
उमेर पुगेर र सुगर भएर रक्तदान गर्न नमिलेपछि आफू दुःखी भएको बताउदै उनी भन्छन् ‘अझै रगत दिन पाए हुन्थ्यो जस्तो लागेको छ । सुगर लागेर दिन मिलिरहेको छैन । मनका कस्तो नराम्रो लागिरहेको छ ।’
२. पवन जैसवाल
२०४६ साल असोज ४ गते नेपालगन्ज जेसीसले आयोजना गरेको कार्यक्रममा पहिलो पटक सहभागी भएर रक्तदान गरेका जैसवालले त्यसपछि नियमितजसो रक्तदान गरीरहेका छन् । कसैको जीवन बचाउने महत्वपुर्ण सेवा गरिरहेको महसुस गरेका उनले त्यसवर्षदेखी हालसम्म ८८ पटक रगतदान गरिसकेका छन् । उनको रगत समूह ओ पोजेटिभ हो । उनी कृष्णसार एफएम र जनमत साप्ताहीकमा कार्यरत छन् ।
करीब ५० वर्षिय जैसवालले नेपालगन्जको भेरी अस्पतालमा रहेको नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा नियमित रक्तदान गर्छन् । यसका साथै इमरजन्सीमा परेका, विभिन्न संघसंस्थाले आयोजना गरेका कायक्रममै समेत पुगेर नयाँ पुस्तालाई प्रोत्साहित गर्दै आफूले पनि रक्तदान गर्छन् ।
यसैक्रममा उनले बर्दियाको भूरीगाँउ र कैलालीको लम्कीमा पुगेर समेत रक्तदान गरेको बताए । ‘मलाई देखेर धेरै मानिसहरु रक्तदान गर्न प्रेरीत भएको देख्दा खुशी लाग्छ’ उनले भने ‘हप्तादिन अघि ८८ औँ पटकको रक्तदान गर्न बर्दियाको भूरीगाँउ पुग्दा केहि मानिसहरुले म संगै फोटो समेत खिचे ।’ यसले पनि आफूलाई रक्तदान गर्न हौस्याएको उनको भनाई छ । दिन मिल्ने समयसम्म रक्तदान गरिरहने उनको सोँच छ ।
३. हेमकुमार रावत
कोहलपुर नगरपालिकामा कार्यरत ५४ वर्षिय रावतले हालसम्म ८० पटकसम्म रगतदान गरिसके । २०४५ सालतिर शिक्षक सेवामा रहेका उनी २०४८ सालमा कोहरपुरमा आए । विद्यालयमै रहँदा रेडक्रसमा जोडिए । रेडक्रसको सेवाभावको कामले लोभ्याएपछि उनी यतैतिर तानिए ।
जीवन मृत्युको मुखमा परेकालाई बचाएर नयाँ जीवन रगतमार्फत दिन सक्नु जस्तो महान पुण्यको काम उनलाई अरु केही लागेन । अरु सयौँ समाजसेवाको तुलनामा यो एक काम महत्वपुर्ण ठानेर २०५२/०५३ सालदेखी नियमित रुपमा रक्तदान गर्न सुरु गरे ।
उनले पनि ब्लड बैंकका साथै आवश्यक परेको खण्डमा इमरजेन्सी र रक्तदानका कार्यक्रममा समेत रक्तदान गर्दै आएका छन् । उनको रगत समूह ‘वि पोजेटिभ’ हो ।
४. सरीता ज्ञवाली
६८ वर्षिया ज्ञवाली बाँकेमा सबैभन्दा धेरै रगतदान गर्ने महिला हुन् । उनले ७७ पटक रगत दान गरीसकेकी छिन् । उनको रगत समूह ‘ओ पोजेटिभ’ हो । रेडक्रस, महिला उद्यमी संघ लगायतका क्षेत्रमा रहेर सेवा गरिसकेकी उनी रेडक्रस र समाजसेवामा संलग्न छिन् ।
२०४१/०४२ सालमा ज्ञवालीका छोरा बिरामी भए । किनेर समेत बिरामी छोराका लागि रगत नपाएकी उनले रक्तदानको महत्व बुझिन् । सोही वर्षबाट नियमित रक्तदान गर्न सुरु गरिन् । ३/३ महिनाको फरकमा ६५ वर्षको उमेरसम्म आइपुग्दा नियमित रक्तदान गरीन् ।
अझैपनि रक्तदान गर्ने चाहाना भएको भएपनि यो उमेरमा दिन नमिल्ने उनी बताउँछिन् । रक्तदानले शरीर फूर्तिलो महसुस हुने, आनन्द महसुस हुने गरेको उनको भनाई छ ।
५.उदितबाबु रेग्मी
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा इलेक्ट्रीकल ओभरसियर रहेका ४३ वर्षिय रेग्मीले हालसम्म ६९ पटक रक्तदान गरिसकेका छन् । उनको रगत समूह ‘वि पोजेटिभ’ हो ।
२०५७/०५८ सालदेखी रक्तदान गर्न सुरु गरेका उनले पनि नियमित रुपमा रक्तदान गर्दै आएका छन् ।
अस्पतालमा विभिन्न समस्याले डायलासिस गराउन आउनेहरुलाई रगत उपलब्ध गराउँदै आएको उनले बताए ।
रक्तदानले अन्य कामले भन्दा बढी खुशी दिएको उनको भनाई छ । उनको रगत पाएर जीवन पाएकाहरु बेलामौकामा उनलाई सम्झिरहन्छन् । यो खुशी शव्दमा व्यक्त गर्न नसकिने उनले बताए ।
६. प्रेम लम्साल
बर्दियाका ५६ वर्षिय लम्सालले हालसम्म ५७ पटक रक्तदान गरेका छन् । उनलाई लाग्छ ब्लड बैंकको नजिकमा बसोबास भएको भए अझ धेरै रक्तदान गर्थे कि भनेर । बर्दियाको ठाकुरबाबा वडा नम्बर– ३ मानपुर घर भएका उनी ५४ किलोमीटरको दूरी पार गरेर कोहलपुर आएर रक्तदान गर्छन् । कहिलेकाहि नेपालगन्जमै आएर पनि रक्तदान गर्छन् ।
हाल विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा रहेका उनी सहकारी मार्फत गाँउमै रक्तदान गरिरहेका छन् । उनी अरुलाई पनि रक्तदानका लागि उत्प्रेरीत गर्ने गरेको बताउछन् ।
३ वर्ष अघि कामको शिलशिलामा कोहलपुर आएका उनले १२÷१३ दिनको बच्चालाई रगत आवश्यक परेकोबारे सुत्केरी आमाबाट थाहा पाए । कतै पनि रगत नपाइएको उनले बताइन् । ‘वि पोजेटिभ’ ब्लडको आवश्यक्ता परेको थाहा पाएपछि उनी तत्कालै ब्लड दिन तयार भए । उनको रगत समूह पनि ‘वि पोजेटिभ’ हो । उक्त बच्चा हाल स्वस्थ रहेको जानकारी पाएका उनी अहिले दंग छन् । ‘मौका मिले त्यो बच्चालाई भेट्ने ईच्छा छ’ उनले भने ।
यसरी धेरैलाई रगत दिएको र यसले आफूलाई रक्तदान गर्नका लागि थप प्रेरणा दिने गरेको उनले बताए । गाँउमै स्वच्छिक रक्तदाता समुह गठन गर्ने तयारीमा पनि रहेको बताउँदै उनले सहकारीमार्फत वर्षमा २ पटक अनिवार्य रक्तदानको कार्यक्रम गर्ने गरी तयारी गरीरहेको पनि बताए ।
७. सञ्जय पन्त
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा प्रशाशकीय अधिकृत रहेका पन्तले हालसम्म ५० पटक रगतदान गरिसकेका छन् । उनको रगत समूह ‘ए पोजेटिभ’ हो । २०४५ सालदेखी रक्तदान गर्न सुरु गरेको बताउँदै उनले भने ‘बर्दियाको एकजना बालकको हात मेसीनले काटिएको थियो । त्यो समयमा रक्तदान गर्ने मौका पाएको थिए ।’
रेयुकाई लगायत सामाजिक क्षेत्रमा त्यो समयमा क्रियाशिल भएका उनले रक्तदानको महत्व बुझेका थिए । त्यस समयदेखी हालसम्म नियमीत रक्तदान गर्दै आएका उनी देशका विभिन्न ठाँउमा मौका जुरेको बेलामा रक्तदान गर्ने गरेको बताउछन् ।
पश्चिम नेपालको उपचारको केन्द्र भएकाले यस क्षेत्रमा रगतको अभाव रहने गरेकाले लिने र दिनेलाई एउटै ठाँउमा भेटाउनका लागि अनलाइनको विकास गर्न सकिन्छ कि भन्ने उनको सोच छ । सामाजिक सञ्जाल र मिडियाले पनि केहि हदसम्म यसमा सघाउ पु¥याइरहेको उनको भनाई छ । रगतदान गरि जीवन बचाउने यी रक्तदाताहरुको उदाहरणीय कार्यले रक्तदानमा समेत पछिल्लो समय सबैको चासो बढ्दै गएपनि यो नियमित हुन भने सकेको छैन ।