एकपटक नेपालगन्जमा काम गर्ने ईच्छा छ: कुवँर
नेपालगन्ज: क्यान्सर रोगबाट पीडित महिला विकास निरीक्षक बिन्दु कुवँरलाई उपचार सहयोगार्थ ५ लाख ५४ हजार ४ सय ३६ रकम सहयोग हस्तान्तरण गरिएको छ ।
बिन्दु कुँवर उपचार सहयोगार्थ समितिले संकलन गरेको सो रकमको चेक आईतबार एक कार्यक्रमको आयोजना गरि सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रमका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले सो रकमको चेक बिन्दु कुँवरलाई प्रदान गरेका हुन् ।
सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले विन्दु कुवँरको उपचारलाई थप सहयोग पुग्ने उद्देश्यका साथ एक महिना बराबरको तलब भत्ता समेत प्रदान गरेकाछन् ।
मेयर डा. राणाले आफ्नो एक महिनाको तलब भत्ता बराबर पचास हजारको चेक विन्दु कुँवरलाई प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले भने–क्यान्सर रोगबाट मैले आफ्नो आमा गुमाए, कति खर्चिलो र जटिल हुन्छ त्यो मैले राम्ररी बुझेकोछु । कर्मठ राष्ट्रसेबकलाई अफ्ठ्यारो पर्दा नेपालगन्जबाट भएको स्वस्फुर्त सहयोग प्रशंसा योग्य छ, सोही सहयोगमा आफूले थपेर एक महिनाको तलब सहयोग गरेको बताए ।
विन्दु कुवँर उपचार सहयोगार्थ समिति र उपमहानगरपालिकाका मेयर डा. राणाले आफ्नो उपचारका लागि प्रदान गरेको सहयोगको उच्च मुल्यांकन गर्दै जिवनभरका लागि ऋणी भएको बताईन् । उनले सवैलाई धन्यबाद दिदै क्यान्सर जस्तो जटिल रोग कसैलाई पनि नलागोस् भन्दै प्राप्त रकमले थप उपचारमा मद्दत पुग्ने बताइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा विन्दु कुवँर उपचार सहयोगार्थ समितिका सहसंयोजक नमस्कार शाह, प्रदेश पाँचका सचिव शुक्रऋषी चौलागाई, बरिष्ठ पत्रकार पूर्णलाल चुके, प्राध्यापक डाक्टर जनार्दन आचार्य, नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ लगाएतले संयुक्त रुपमा कुवँरलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा महिला अधिकारका क्षेत्रमा अनवरत क्रियाशिल कुवँरको सहयोगार्थ सञ्चालन गरेको अभियान मार्फत सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो । थप उपचारका लागि उनी आईतबार नै बेलुका काठमाण्डौ फर्केकी छन् ।
एकपटक नेपालगन्जमा काम गर्ने ईच्छा छ: कुवँर
क्यान्सर रोगबाट ग्रसित महिला विकास निरीक्षक विन्दु कुँवरले एकपटक नेपालगन्जमा आएर काम गर्ने ईच्छा ब्यक्त गरेकी छन् । उनले स्वास्थ्यका कारण धेरै दुःख पाएकाले एकपटक पुनः नेपालगन्जमा आएर काम गर्ने ईच्छा रहेको बताईन् ।
पाठेघरको क्यान्सरबाट थलिएकी महिला विकास निरीक्षक विन्दुको उपचारका लागि सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
कार्यक्रममा सहयोग ग्रहण गरिसके पश्चात बोल्दै महिला बिकास निरीक्षक कुवँरले कसैलाई पनि क्यान्सर रोग नलागोस् भन्ने कामना गरिन् । कुवँरले उपचार गर्दागर्दै आफ्नो सबै सम्पत्ती सकिएको उल्लेख गर्दै अन्तमा आएर सहयोगका लागि सहयोगार्थ समितिको साथ लिनु परेको बताईन् । स्वस्थ रहुञ्जेल समाजका लागि केही गरें—कुवँरले भनिन्—अस्वस्थ रहँदा पनि समाजकै लागि चिन्तित छुँ । फेरी एकपटक नेपालगन्जमा रहेर काम गर्ने ईच्छा छ ।
मैले जिवनमा धनसम्पत्ती त कमाइन तर, सहयोगी हातहरु धेरै कमाए । मेरालागी यही नै ठूलो उपलब्धी हो । बाँकेको महिला तथा बालबालिका कार्यालयमा लामो समय काम गरेकी कुवँर हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यरत छिन् । उनले कार्यक्रममा रोगका बिरुद्ध गरेको संघर्ष सुनाउँदा हल भावबिहल भएको थियो । उनले असह्य पीडा सहन नसकेर पनि उपचार गराईरहेको बाध्यता सुनाईन् ।
सास रहुन्जेल आश रहन्छ भनेझैं नेपालगन्जलाई कर्मथलो बनाएर महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल विन्दु सामाजिक विसंगति र विकृतिका क्षेत्रमा अहोरात्र खटिन् । उनले बाँके तथा अन्य क्षेत्रमा रहदाँ थुप्रै सफलता प्राप्त गरिन् । तर, दैवको अगाडी कसैको केही लाग्दैन भने झै जब उनी क्यान्सरबाट ग्रसित भइन् । उनको सर्वस्व लुटियो । उपचारका लागि भएभरको सम्पत्ति गुमाइन् तर, रोग निको भएन ।
क्यान्सरबाट थलिएकी विन्दुलाई एकपछि अर्कोगरेर थुप्रै पीडाहरुले जकडियो । उनको यस्तो अवस्था देखेर विस्तारै घरपरिवारले पनि साथ दिन छाडे । एक्लिएकी विन्दु क्यान्सरको अन्तिम पलमा पनि उही जोस, जाँगर र जजबाका साथ आफ्नो कार्यक्षेत्रमा खटिरहेकी छन् ।
कुवँर पाठेघर, बोन क्यान्सरबाट पीडित भई उपचार गराईरहेकीछन् । सुरुमा पाठेघरकै क्यान्सर भएकी उनलाई क्यान्सरले ६ ठाँउ असर गरेकोछ । क्यान्सर रोगको अन्तिम (चौथो स्टेज) चरणमा रहेकी विन्दु सकुसल देखिएपनि उनी भित्रभित्रै पलपल तड्पी रहेकी छन् । उनले आफ्नो उपचारको अवस्थाका बारेमा बताउदै भनिन् सास कहिले जाने हो त्यो थाहा भएन तर, उपचारका लागि गरिएको विभिन्न पद्धती धेरै कष्ट र दर्दनाक रहेको बताईन् ।
हाल बर्दिया जिल्लाको ठाकुरद्वारामा उनको सरुवा भएको छ । बाँकेबाट पाएको माया, हौसला तथा साथलाई आत्मसाथ गर्दै एक पटक भएपनि नेपालगन्जलाई कार्यथलो बनाएर काम गर्ने उनको ईच्छा रहेको क्यान्सर पीडित महिला बिकास निरीक्षक विन्दु कुवँरले बताईन् ।