नेपालगन्ज : आगामी जेठ ३ र ४ गते नेपालगन्जमा दोस्रो मेयर कप शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको संयोजनमा उक्त प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको तयारीबारे जानकारी दिन आईतबार नेपालगन्जमा पत्रकार सम्मेलन उक्त जानकारी गराइएको हो । आयोजना हुने दोस्रो मेयर कप शारीरिक सुगठन प्रतियोगिता अन्र्तगत ७ वटा तौल समूहका खेलाडीहरु प्रतियोगितामा सहभागि हुनेछन् ।
संघका अध्यक्ष मनोज कुमार श्रेष्ठका अनुसार ५५, ६०, ६५, ७०, ७५, ८० तथा ८० भन्दा माथिका गरी ७ समूहमा विभाजन गरेर खेलाडीहरुको प्रतिस्पर्धा गराईने छ । प्रत्येक समूहबाट प्रि–जजिङ राउण्ड पार गर्ने ५ जनालाई मात्र फाईनल राउण्डमा सहभागि हुने अवसर प्राप्त हुनेछ । प्रि–जजिङ राउण्ड भने जेठ ३ गते नै हुने छ ।
नेपालगन्ज स्थित नगरभवनको हलमा संचालन हुने उक्त प्रतियोगितामा प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित मेडल प्रदान गरिने छ । त्यस्तै सबै समूहका विजेताहरुबीचको प्रतिस्पर्धाबाट एक जना च्याम्पियन छनोट गरिने छ । च्याम्पियन हुनेले १० हजार नगद, ट्रफी ब्यानेटले सुसज्जित गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिकाले प्रतियोगिता आयोजनाका लागि ३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपालगन्जका उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नगरका जनता स्वस्थ्य होउनन्, शारीरिक सुगठन मार्फत युवा/युवतीहरुलाई कुलतबाट बचाउने भएकाले यस किसिमको शारीरिक सुगठन प्रतियोगितामा उपमहानगरपालिकाले सहयोग गरेको बताए ।
मेयर राणाले भने –नगरमा पछिल्ला दिनमा उल्लेख्यमात्रामा फिट्नेश कलबहरु स्थापना भएकाछन् । नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक वाडमा २-३ वटा फिट्नेस क्लब संचालन होउन् र युवायुवतीहरु आफ्नो स्वास्थ्यप्रति सजग भई कुलतमा नफसुन् भन्ने आफ्नो सोच रहेको बताए ।
उक्त प्रतियोगितामा बाँकेका ४५–५० जना खेलाडीले प्रतिस्प्रर्धा गर्ने संघका सचिव लवराज श्रेष्ठले बताए । उनका अनुसार बाँके जिल्लामा १ दर्जन बढी फिट्नेस क्लब संचालनमा रहेकाछन् । जहाँ दिनहुँ करिब २ हजार जनाले जीम गर्ने गरेका छन् ।