बर्दिया ३१ भदौ : हेलो भाई यहाँ एकजना मानिसले पोइजन खाएका रहेका छन्, तत्कालै कोहलपुर लैजानु पर्ने भयो छिटो आउ त... गोजीमा केही रकम, सायद भर्खर तलब बुझेको हुनुपर्दछ, घरमा रहेकी श्रीमती र ६ महिनाको छोरीलाई भेट्न हतारमा थिए सुमन । एक्कासी मोबाइलमा एकहोरो मानिसको आवाज आएपछि उनी बाटैबाट फर्किए ।
मानिसले पोइजन खाएको भनेपछि घरमै नपुगी बाटोबाटै फर्किएका ३२ वर्षिय एम्बुलेन्स चालक सुमन चौधरीले पोइजन खाएका मानिसलाई समयमै कोहलपुर पुर्याएर ज्यान जोगाइ दिए । तर, फर्कदा भएको दुर्घटनामा उनको लागी कालो दिन बन्यो ।
पोइजन खाएर सिकिस्त भएका विरामीलाई मेडिकल कलेज कोहलपुरमा छोडेर बर्दिया फर्कदँै गरेको अवस्थामा कोहलपुर शसस्त्र प्रहरीको चेक पोष्ट नजिकै २०६९ साल मंसिर ३ गते बेलुकी करिब सवा ७ बजे विपरित दिशाबाट आएको माइक्रोबसले एम्बुलेन्सलाई ठक्क दियो ।
पिकनिक खाएर फर्कदैँ गरेको ना ३ ख ५२५८ नम्बरको माइक्रो बसलेले रोकि राखेको सुमनको एम्बुलेन्सलाई ठक्कर दियो । यो दुर्घटना भयानक थियो । रोकीराखेको एम्बुलेन्समाथि माइक्रो बस चढ्यो । एम्बुलेन्स चालक चौधरी गम्भीर घाइते भए तर, माइक्रो बसमा सवार सबै सकुसल रहे ।
माइक्रो बसले च्यापिएका सुमनलाई एम्बुलेन्सबाट निकाल्न घण्टौं लाग्यो । विरामीलाई सधैँ सही समयमै अस्पताल पुर्याउने सुमनको घाइते शरीरलाई २/३ सय मिटर पर अस्पताल पुर्याउन २ घण्टा भन्दा बढि लाग्यो । नजिकै रहेका सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुमनको उद्धार गरियो उनको ज्यान बच्यो तर, दुर्घटनामा परि उनको दाहिने खुट्टा भाँचियो । कम्मरमा गम्भीर चोट लागेका उनको आँखाको माथिल्लो भागमा समेत चोट लाग्यो ।
बस समितिले उनको उपचार गरेपनि विगत ९ वर्षदेखि उनको खुट्टामा राखिएको रड निकालिएको छैन । दुर्घटनापछि घरमै थन्किएका सुमनले आर्थिक अवस्था कमजोर भएकै कारण थुप्र्रैपटक रड निकाल्न बस समितिमा धाए तर, अहिले बस समितीले बेवास्ता गर्दा उनी सधैँका लागि ‘अपाङ्ग’ बने ।
दुर्घटनाको असरले उनको आँखा कमजोर हुदँै गएको छ । लामो समयसम्म खुट्टामा रहेको रड निकाल्न नपाएपछि अपाङ्ग बनेका उनी बैसाखीको सहारामा यताउता गर्छन् ।
बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–८ औरी निवासी ३२ वर्षिय सुमन २०६८ साल चैत्रबाट नेपाल रेडक्रस सोसाइटी उपशाखा मगरागाडीले सञ्चालन गरेको एम्बुलेन्सको चालकमा नियुक्त भए । थुप्रै प्रतिस्पर्धीलाई उछिन्दै नाम निकाल्न सफल भएका चौधरीलाई २०६९ साल मंसिर ३ गतेको सो घटनाले सधैं पिरोलिरहन्छ ।
कुनै समय एम्बुलेन्समा राखेर विरामी तथा घाइतेलाई गुलरिया, कोहलपुर, नेपालगन्ज, चितवन तथा काठमाण्डौँसम्म समयमै पुर्याएका सुमन बैसाखीको साहरा लिनुपर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर भएका सुमनको घटनाप्रति स्थानीय जनप्रतिनिधि जानकार छन् । तर उनीहरुले आश्वासन मात्र दिने गरेको सुमनले दुखेसो पोखे ।
सामान्य लेखपढ गरेका सुमनकी श्रीमति पनि सामान्य लेखपढ गर्न जान्दछिन् । जीविकोपार्जनका लागि श्रीमतिलाई केही रोजगारी मिल्छ भन्दै वडा, नगरपालिकामा भौतारिहँदा समेत काम नपाएको उनले बताए ।
सुमनका श्रीमति र एक १० वर्षिय छोरी छन् । सम्पतिको नाममा १० धुर जमिनमा टायलले छाएको सानो घरमा बैशाखीको साहाराले गुजारा चलाईरहेका छन् सुमन ।
दुर्घटना पछि घरपरिवारको जिम्मेवारी कल्पनाको काँधमा आएकोछ । श्रीमती कल्पनाले दैनिक मजदुरी गरेर ल्याएको पैसाले ३ जनाको परिवार पाल्दै आएकीछिन् । दैनिक मजदुरी नगरे घरमा खान नपाइने भएपछि सन्चो बिसन्चो केही भन्दिनन् कल्पना ।
यता नेपाल रेडक्रस सोसाईटी उपशाखा मगरागाडीले सुमनको उपचारका लागी बस व्यवसायीसंग समन्वय गरि उपचार गरेको तत्कालिन उपशाखा सभापती ओमशर्मा काफलेले बताए ।
उनले भने–‘सुमनको उपचार गरिए पनि लामो समयसम्म उनको खुट्टामा रहेको रड ननिकालिएकोले खुट्टा नै काट्नु पर्ने अवस्था आएकोछ । यसका लागि बस समितिसंग समन्वय गरिनेछ ।’
उपचारको लागी समस्या नभएपनि दुर्घटनापछि सुमन पुनः पुरानै काममा फर्कन नसक्ने अवस्था हुँदा जीवनयापन गर्न रोजगारी वा ब्यवसायको ब्यवस्थापन गरिनुपर्ने काफलेको भनाई छ ।