नेपालगन्ज : दिनहुँ बढिरहेको गर्मीबाट बच्न नेपालगन्जबासी विभिन्न उपाय अपनाउने गरेका छन् । कोही घरेलु उपायमा चिसो सरवत पानीबाट आफ्नो प्यास मेटाउदै गर्मी छलिरहेका छन्, भने कोही विभिन्न प्रकारका चिसो पेय पदार्थ पिएर गर्मी भगाइरहेका छन् ।
देशकै उच्च गर्मी हुने स्थान नेपालगन्जमा पछिल्लो एक हप्तादेखि गर्मी ह्वात्तै बढेको छ । प्रचण्ड गर्मीमा यहाँका स्थानीयबासी गर्मी छल्न सातु खाने गरेका छन् । यसैसगै सातुको ब्यापार पनि ह्वात्तै बढेर आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २१ पुरैनाका सातु ब्यापारी विजयपाल भुजुवाले दिनहुँ ५० देखि ६० केजी सम्म सातु विक्री गर्ने गरेको बताए । उनले भने, ‘स्वास्थ्य तथा धार्मिक परम्पराको दृष्टिकोणले सातु खानु, दान गर्नु राम्रो मानिन्छ ।’
नेपालगन्जको सदरलाईन एकलैनी जानेमोड छेउ ठेलामा सातु बेच्न पसल थापेका भुजुवाले दिनहुँ ४ देखी ७ हजारसम्मको ब्यापार गर्ने गरेको बताए । यस्तो गर्मीको समयमा पनि नेपालगन्जदेखि करिब ४ किमी पूर्व पुरैनाबाट ठेलामा सातु राखेर बेच्दै आउनेगरेको उनले सुनाए ।
यस्तै सोही स्थानका अर्का सातु ब्यापारी रामप्रसाद भुजुवाले दिनहुँ ३ देखी ४ हजार सम्मको सातु बेच्ने गरेको बताए । उनले भने गर्मी बढेसगै सातुको माग ह्वात्तै बढेर आएकोछ । जौं तथा चनाबाट निर्माण गरिने सातुको माग बजारमा रहेको उनले बताए । जौँबाट बनेको सातु प्रतिकिलो एक सय तथा चनाको सातु प्रतिकिलो २ सय रुपैयामा बेच्ने गरेको रामप्रसाद भुजुवाले बताए ।
धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिएको सातुको उपलब्धता भने सहज हुन सकेको छैन् । पहिले सवैले आफ्नो घरमा जौँको सातु बनाउने र त्यसलाई प्रयोग गर्ने गर्दथ्ये, तर समयसगै सवैले आ–आफ्नो घरमा सातु बनाउन नसक्ने भएपछि यसको माग पनि विस्तारै घटेर गएको थियो । तर, पछिल्लो समय यसको ब्यापार हुनथालेपछि माग बढेको हो ।
नेपालगन्ज स्थित त्रिवेणी मोडमा सातु बेचिरहेका अर्का नेपालगन्ज उप–महानगरपालिका–२१ का पप्पु भुजुवाले बैशाख महिनामा हुने अक्षय तृतियाका अवसरमा हरेक वर्ष सातुको पसल थाप्ने गरेको बताए । उनले भने–‘सातुको प्रयोग हाम्रा पुर्खाहरुले गर्दै आएका थिए । हालसम्म ३५ हजारबढिको बिक्री गरेको उनी बताउछन् ।’
उनीसगै विनोद भुजुवा, सीताराम भुजुवा र अर्जुन भुजुवाले पनि सातु बिक्री गर्ने गरेका छन् । कुनैबेला नेपालगन्जको गोसाईगाँउ, धम्बोझी लगायतका क्षेत्रबाट सातु बेच्न आउने गरेका थिए । तर, समयसगैं सातु बनाएर बेच्नेहरुको पनि पेशा बदलिएकोछ । यद्यपी गर्मी बढेसगैं ग्रामीण क्षेत्रमा सातुको उल्लेख्य प्रयोग हुनेगरेकोछ ।
स्वास्थ्यका दृष्टिकोणमा सातु
विशेषगरी बैशाख महिनामा पर्ने अक्षय तृतीयाका अवसरमा बिक्री गरिने सातु स्वास्थ्यका दृष्टिकोणले गुणी छदै छ । यसका साथसाथै धार्मिक मान्यता तथा परम्पराले पनि महत्वपूर्ण मानिन्छ । जौंको सातु खाँदा शितलता प्राप्त हुन्छ । यसले रगतको तापमानलाई नियन्त्रण गर्छ, गर्मी तथा ज्वोरोलाई रोक्छ, पुरानो ज्वोरो, टि.बी तथा खोकीका लागि पनि जौंको प्रयोग गर्नु लाभदायक मानिन्छ ।
जौंको प्रयोग गर्नाले शरीर सुन्निएको कम गर्ने, मोटोपन घटाउने, मुलायम त्वचाका लागि तथा गर्भपतन लगायतमा उपयोगी हुनेगरेको चिकित्सक बताउछन् ।'सातुु जौंलाई भुटी पिसेर बनाइएको पीठो हो जसलाई विभिन्न तरिकाबाट उपभोग गर्ने गरिन्छ । सातुलाई चिनी, मिश्री, गुडको मिश्रणमा पानी मिसाएर खाने चलन छ ।
धर्मका दृष्टिले सातु
हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन् । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।
गर्मी महिनाको यस दिन भगवान विष्णु र लक्ष्मीको संयुक्त पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ । हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् । ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । जो हामीले भर्खरै बैशाख २४ गते मनाएकाछौं । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ ।
बैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिजलाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ ।
यस दिन बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि दान दिइने चलन छ । भनिन्छ, यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो ।
वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार अक्षय तृतियाका दिन दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।
कुनैपनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश, गाई, भूमि, स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण पनि गरिन्छ ।
परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यही तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।