म्याद गुज्रेका औषधी सडकमा छरपस्ट
तस्विर: विशाल रानामगर
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा उदासिनता देखाएकोछ । नगरमा फोहोर गर्ने जोसुकैलाई कारबाही गरि फोहोर व्यवस्थापनमा सक्रिए हुने उद्घोष गरेको उपमहानगरपालिका यसप्रति उदासिन बनेकोहो ।
यसअघि नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले कडा अभियान चलायो । फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले कुनै कसर बाँकी राखेन । तर, गल्ती गर्नेलाई कानूनको दायरामा भने ल्याउन सकेको अवस्था छैन ।
यस्तै शुक्रबार नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड सिग्नेट होटल नजिक मेडिकलले ठूलो लापरबाही गरेकोछ । मेडिकलबाट खेर गएका औषधी तथा मेडिकलजन्य फोहोरहरु आफूखुसी सडकमा छरपस्ट फालिदिदाँ नगरको सौन्दर्य विग्रनुका साथै मानव स्वास्थ्यमा जोखिम बढेकोछ ।
म्याद गुज्रिएका औषधी दादागिरी शैलीमा मेडिकलले सडकमै छरपस्ट फालिदिदाँ समेत उपमहानगरपालिकाले दोषी पत्ता लगाई कारबाही गर्न समेत चासो दिएकोछैन । कसले र किन यसरी सडकमा म्याद गुज्रिएका औषधीजन्य बस्तु फाल्यो त्यो अझै पत्ता लाग्न सकेकोछैन ।
औषधी बेचेर मोटो रकम असुल्ने यस्ता नाफाखोर मेडिकलका कारण सर्वसाधरणले सास्ती समेत खेप्नु परेकोछ । अझ मेडिकलबाट उत्सर्ग हुने जोखिमयुक्त फोहोरहरु पनि सडकमै मनोमानी ढंगबाट फालिदिदाँ सो स्थान भएर हिड्ने मानव तथा पशुलाई समेत यसले असर पार्ने जोखिम बढेकोछ ।
यद्यपी उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई ध्यानमा राख्दै फोहोर व्यवस्थापनमा ध्यायन नदिने नगरबासीलाई कडा कारबाही गर्ने यसअघि नै बताइसकेकोछ । तर, नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा यहाँका नागरिकले देखाएको उदासिनता प्रति उपमहानगरपालिका तैचुप मैचुप छन् ।
घर, ब्यवसाय, पसल, होटल तथा उद्योग लगायतबाट उत्सर्ग हुने फोहोर जन्य पदार्थलाई यत्रतत्र सर्वत्र फालिएको देखिन थालेकोछ । विशेष गरि पछिल्लो समय अस्पताल तथा अस्पतालजन्य फोहोरले नेपालगन्जको सौन्र्दय विगार्नुका साथै विभिन्न रोग र संक्रमणको जोखिम बढाएकोछ ।
नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड होटल सिग्नेट नजिक शिवाज र साई फर्मा अगाडी म्याद गुज्रिएका विभिन्न ब्राण्डका औषधीहरु सडकमै छरपस्ट फालिएका छन् । म्याद गुज्रिएका ट्याबलेट, औषधीका बोतल सडकपेटीसगैं त्यसै फालिदाँ सम्म सम्बन्धित मेडिकल स्टोरलाई पहिचान गरि कारबाही समेत गर्न उपमहानगरपालिकाले चासो दिएको छैन ।
सामाजिक अभियान्ता युवा विशाल रानामगरले सो फोहोरको तस्विर कैद गरि सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेपछि यस्तो कुरा बाहिर आएको हो । उनले तस्विर शेयर गर्दै –हामी जनताले प्रत्यक्ष अप्रत्यक्षरुपमा राज्य (नगरपालिका)लाई कर तिर्छौ । तर, नगर सफा राख्नु पर्ने ठेक्का नगरपालिकाको मात्र हो र ? भन्ने प्रश्न तेर्साएका छन् ।
उनले यसरी अलपत्रअवस्थामा फालिएको फोहोरलाई केन्द्रित गर्दै भनेका छन् ‘यसरी फालिएको औषधिजन्य फोहोरले मानव स्वास्थ्यमा असर पार्ने हुदाँ जथाभावी बाटोमा ल्याएर औषधि मिल्क्याउनेलाई पहिचान गरि कारवाही होस् । यसरी सडकमै फोहोरमैला फ्याक्ने तथा सडकको फोहोर ब्यबस्थापनका लागी उपमहानगरपालिकाको ठोस योजना खै ?
उनले शेर गरेका तस्विरमा नेपालगन्जका थुप्रै ब्यक्तिहरुले आफ्नो तर्क पनि राखेकाछन् । यो त एउटा प्रतिनिधि घटनामात्र हो । तर, दिनहुँ जसो नेपालगन्जबाट उत्सर्ग हुने विभिन्न जोखिमयुक्त फोहोरजन्य पदार्थमा नागरिकको जागरुकता र गल्ती गर्नेलाई कारबाही नगर्दासम्म उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जति नै डम्फू पिटेपनि नगरको फोहोर व्यवस्थापन हुन सक्दैन ।
अझ नेपालगन्ज उप– महानगरपालिका क्षेत्र वरपर उत्पादन हुने अधिकांस फोहोर सडकमै जलाइने गरिन्छ । उप– महानगरपालिका भित्रका मुख्य र सहायक सडकहरुमा विहान र साँझको समयमा फोहोर संकलन गरि जलाइने गरिन्छ । नेपालगन्जमा दिनहुँ ३५ टन फोहोर उत्पादन हुनेमा २० टन मात्र व्यवस्थापन गर्ने गरिएको एक तथ्यांकले यसअघि प्रष्ट्याएकोछ । नगरको फोहोर व्यवस्थापन पुर्ण रुपमा नहुदाँ बाँकि फोहोर सडकमै जलाइने गरेको स्थानीयको भनाईछ ।
जस्तुसुकै फोहोर सडकमा राखी जलाँईदा नगरको वातावरण दिन प्रतिदिन विग्रदै गएको स्थानीयले गुनासो समेत गरेकाछन् । किराना पसल, रेष्टुरेण्ट, मेडिकल लगाएतबाट दिनहुँ निस्कने फोहोरको सहि व्यवस्थापन हुननसक्नु र मनपरी सडकमा फाल्नु, जलाउनुले मानव शरीरमा यसले नकरात्मक असर पार्ने चिकित्सकहरु बताउँछन् ।
यसरी छरपस्ट फालिने र जलाइने फोहोरले स्वासप्रस्वास, दम, एलर्जी तथा घातक रोग समेत लाग्न सक्ने सम्भावना बढ्ने चिकित्सक बताउछन् । सडकमा फ्ँयाकिने र जलाइने यस्ता फोहोरहरु अधिंकास प्लाष्टिक तथा अस्पतालजन्य (मेडिकलबाट) उत्सर्ग भएका फोहोरहरु हुन्छन् ।
विभिन्न अध्ययनहरुले खुला रुपमा मेडिकलजन्य फोहोर तथा प्लाष्टिक फालिदिदाँ र जलाईँदा वातावरणसगैं मानव तथा पशुपक्षिंमा नकारात्मक प्रभाव पार्ने देखाएको छ । त्यसबाट निस्कने धुवाँका कारण दम, मुटुको रोग लाग्ने, टाउको दुख्ने र कलेजो एवं मृगौलालाई नकारात्मक असर गर्ने देखिएको छ ।
प्लाष्टिक जलाउँदा निस्कने डाइअक्सिन र फ्युरान्स नामक विषादीहरु क्यान्सर र स्वासप्रस्वास सम्बन्धी रोगहरुका कारक बन्ने गरेको पनि विभिन्न अध्ययनहरुबाट पत्ता लागेको छ । वातावरणमा दीर्घकालिन असर गर्ने मेडिकलजन्य फाहोर र प्लाष्टिक खुल्ला रुपमा सडकमै छरपस्ट फाल्नु र जलाउनुले नेपालगन्जलाई स्वच्छ बनाउन चुनौती थपिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सरसफाई अभियानलाई नै लत्याएर फोहोर गर्नेलाई उपमहानगरपालिकाले कारबाही गर्ला त ? जनता यस विषयमा चिन्तित बनेकाछन् ।